पेरिसमा देउसीभैलो

कान्तिपुर संवाददाता

पेरिस — हिन्दु नेपालीहरूको प्रमुख पर्व तिहारको अवसरमा फ्रान्सको राजधानी पेरिसमा नेपालीहरूले देउसीभैलो खेलेका छन् । गोरखाली समाज फ्रान्सले शनिबार आयोजना गरेको देउसीभैलो नेपाली परम्परा अनुसार सामूहिक रुपमा खेलिएको हो ।

पेरिसमा देउसीभैलो

फ्रान्सको कानुन अनुसार राति अवेरसम्म हल्लाखल्ला, नाचगान गर्न नपाइने र स्थानीय नेपालीको घरघरमा पुगेर देउसीभैलो कार्यक्रम गर्न नसकिने हुँदा सामूहिक रुपमा एकै ठाउँमा भेला भएर मनाइएको गोरखाली समाजले जनाएको छ ।

नेपालीको आँगनमा ‘शुभ-दीपावली’ लेखिएका अक्षरहरू र देउसीभैलो भाकाले शनिबार दिउँसोदेखि नै धेरै नेपालीको ध्यान तानेको थियो । देउसीभैलोमा दोस्रो पुस्ताका नेपाली, बालबालिका, विभिन्न संघ संस्थाका प्रतिनिधि र अभिभावकहरूको सहभागिता थियो ।

आफ्ना सन्तती र यहीँ जन्मिएर हुर्केबढेका बालबालिकालाई नेपाली संस्कृति, पर्व र परम्परा सिकाउन पनि यस्तो देउसीभैलो कार्यक्रम गर्नुपर्ने गोरखाली समाजका अध्यक्ष रामेश्वर श्रेष्ठले बताए । 'नेपाली भन्नु नै हाम्रो चाडपर्व, संस्कृति, चाडवाड र परम्परा हो । आफू पनि रमाउनुपर्‍यो, हाम्रा केटाकेटीलाई पनि सिकाउनुपर्‍यो । त्यही नभए त के नेपाली भैइयो र ?' उनले भने ।

देउसीभैलो मार्फत् संकलित रकम छुट्टै बैंक खातामा राख्ने र आपतविपद्‍मा परेका नेपालीहरूको सहयोग र उद्धारमा खर्च गर्ने समाजका अध्यक्ष रामेश्वर श्रेष्ठले बताएका छन् । अन्य दिन नेपाली पर्वमा छुट्टी नपाइने हुनाले यहाँका नेपालीहरूले शनिबार र आइतबार आफ्ना पर्व मनाउने गरेका छन् ।

प्रकाशित : कार्तिक ६, २०७९ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?