कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

बेलायतको वेल्समा बन्दै नेपाली गाउँ

कान्तिपुर संवाददाता

लन्डन — बेलायतस्थित वेल्सको ऐतिहासिक सहर ब्रेकन आसपासलाई आधार बनाएर नेपाली गाउँ बनाउन यहाँको समुदाय जुटेको छ ।

बेलायतको वेल्समा बन्दै नेपाली गाउँ

नेपाली भिलेज यूके परियोजना अनुरुप यहाँका नेपालीले ब्रेकन टाउनबाट केही माइल दुरीमा चार बेडरूम घरसहितको १९ एकड (लगभग १५५ रोपनी) को प्लट जग्गा ८ लाख पचास हजार पाउण्डमा किन्न जग्गाधनीसँग सहमति गरेका छन् ।

सो क्षेत्रमा उपयुक्त जग्गा किनेर त्यसमा क्याम्पिङ साइटलगायत होलिडे स्थलका निमित्त आवश्यक संरचनासहित परम्परागत नेपाली घरहरु, वर-पिपलसहितको चौतारी, ढुङ्गेधारा, नेपालका प्रमुख दुई आस्थाका केन्द्र पशुपतिनाथ र स्वयम्भूनाथ साथै ध्यानकेन्द्र बनाउने योजना गोर्खा मेजर खुशीमान गुरुङ एमभिओको नेतृत्वमा अगाडि बढेको हो ।

नेपालका प्रमुख हिमालहरुका प्रतिकृति ((रेप्लिका) बनाएर यो गन्तव्यमा आउने सम्पूर्णलाई नेपालको ग्रामीण जीवनशैलीबारे जानकारी गराउने र त्यसै अनुसारको स्वाद दिलाउने योजना पनि बनाइएको छ ।

उक्त जग्गा व्यवसायिक प्रयोजनका लागि आवश्यक स्विकृति (प्लानिङ पर्मिसन) पाउने सम्भावना राम्रो, जग्गा परियोजनाको उद्देश्य अनुसार चाहिने खालको धरातल भएको, छेउमा सानो खोला, आफ्नै परिसरमा पानीको मुहान पनि रहेको, वरपर क्यानोइङ, हाइकिङ, बोटिङ व्यवसाय सञ्चालन गर्न सकिने भएकाले जग्गा खरिद प्रक्रियाका लागि कानुनी सल्लाहकारमार्फत काम सुरु भइसकेको प्रवक्ता विक्रम भट्टराईले जनाए ।

नेपाली पर्यटन प्रवर्द्धन गर्दै कला संस्कृति अनि परम्परा संरक्षण र संवर्द्धन गर्ने प्रमुख उद्देश्य परियोजनाको छ ।

ब्रेकन टाउन नेपालको कास्कीस्थित धम्पुस गाउँसँग भगिनी सम्बन्ध स्थापना गर्ने पहिलो आधिकारिक सहर पनि हो ।

प्रति सेयर पाँच हजार पाउन्ड रहेको परियोजनामा हालसम्म १६१ संस्थापक सेयरहोल्डरले आफ्नो सेयर रकम जम्मा गरिसकेका र ४२ जनाले अक्टुबर ३१ सम्म जम्मा गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : कार्तिक ३, २०७९ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?