सुवेदीलाई अक्सफोर्डको महाविद्यावारिधि प्रदान

लन्डन — विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको छ ।

सुवेदीलाई अक्सफोर्डको महाविद्यावारिधि प्रदान

प्राचीन शेल्दोनिअन थिएटरमा शनिबार आयोजित एक भव्य दीक्षान्त समारोहबीच सुवेदीलाई सो उपाधि प्रदान गरिएको हो ।

अक्सफोर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको क्षेत्रमा असाधारण बौद्धिक योगदान दिएको भन्दै प्राध्यापक सुवेदीलाई तीन वर्षअघि महाविद्यावारिधि प्रदान गर्ने घोषणा गरे पनि कोभिडका कारण हुन नसकेको दीक्षान्त समारोह अहिले भएको थियो । विरलै प्रदान गरिने अक्सफोर्डको यो उपाधि धेरै शताब्दी अघि स्थापना भएको हो।

अक्सफोर्डको कानुन संकायकी डीन प्राध्यापक आन डेभिसले सुवेदीलाई दीक्षान्त समारोहमा प्रस्तुत गरेकी थिइन् भने अक्सफोर्डकी उपकुलपतिले महाविद्यावारिधि उपाधि प्रदान गरेकी थिइन् ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई सन् १९०८ मा उनको बेलायत भ्रमणको समयमा अक्सफोर्डले मानार्थ महाविद्यावारिधि प्रदान गरेको थियो।

झन्डै ११४ वर्ष पछि उक्त उपाधि पाउने प्रा सुवेदी पहिलो नेपाली हुन् । प्रा सुवेदी उक्त विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली पनि हुन् ।

समारोहको अधिकांश भाग प्राचिन ल्याटिन भाषामा सञ्चालन भएको थियो र सुवेदी पनि ल्याटिनमै दीक्षित भएका थिए । दीक्षान्त समारोहपछि प्रा. सुवेदीले अध्ययन गरेको अक्सफोर्डको एकसेटर कलेजका प्राचार्य सर रिक ट्रेनरले सुवेदीको सम्मानमा एक दिवा भोज आयोजना गरेका थिए जसमा सुवेदी, उनको परिवार, बेलायतको कूटनीति, प्राध्यापन र कानुनी क्षेत्रका व्यक्ति र उनका मित्रहरुको उपस्थिति थियो ।

महाविद्यावारिधि उपाधि प्रदान गर्ने घोषणा गरेको दुई वर्षपछि अक्सफोर्डले प्रा सुवेदीको नाममा प्रत्येक वर्ष कानुनमा विद्यावारिधिको उत्कृष्ट शोधग्रन्थ प्रस्तुत गर्ने मेधावी विद्यार्थीलाई प्रदान गरिने वार्षिक पुरस्कार पनि स्थापना गरेको थियो ।

संसारमा जहाँ गएपनि र जे गरेपनि आफ्नो नेपाली पहिचान कायम गरेका प्रा सुवेदीले यो उपाधि लिन मञ्चमा जान लाग्दा नेपाली माटो र आफ्ना स्वर्गीय मातापितालाई सम्झेको र आफू अनुग्रहित भएको बताए ।

अन्तर्राष्ट्रिय स्तरमा १२ वटा ग्रन्थ र पाँच दर्जन बढी अनुसन्धानात्मक प्राज्ञिक लेख संसारका विशिष्ट जर्नलहरुमा प्रकाशित गरेका सुवेदीले आफ्नो योगदानलाई अक्सफोर्डले सम्मान गरेकोमा गौरवान्वित भएको बताए ।

यसैबीच, बेलायतमा ७ दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजावेथ द्वितीयको निधन भएर प्रिन्स चार्ल्स बेलायतको राजा भएपछि महारानीले प्रा सुवेदीलाई सन् २०१७ मा प्रदान गरेको कानुनका शीर्षस्थ विद्वानहरुलाई प्रदान गरिने ’क्विन्स काउन्सेल’ को पदवी ’किंग्स काउन्सेल’ मा परिणत भएको बेलायत सरकारले जनाएको छ ।

प्रकाशित : भाद्र २६, २०७९ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?