२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेपालमय बन्यो मेलबर्न

नारायण खड्का

अस्ट्रेलिया — मेलबर्नको मुख्य स्थान फेडेरेसन स्क्वायर शनिबार बिहानैदेखि नेपालमय बन्यो । सहरमा फरफराइरहेका नेपाली झन्डासँगै सयौं नेपालीले एकाबिहानै आफ्नो वेशभूषासहित नगर परिक्रमा गर्दा वरपर रहेर फोटो खिच्ने र ताली बजाएर स्वागत गर्नेको संख्या निकै थियो ।

नेपालमय बन्यो मेलबर्न

त्यसका साथै नेपाली बाजागाजा र जातजातीका अलगअलग पहिचानसहितका झाँकीले त मेलबर्न सहर नै ‘सानो नेपाल’ बनेको भान हुन्थ्यो ।

अस्ट्रेलियाको मेलबर्नमा सनिबार सम्पन्न नेपाल महोत्सवले मेलबर्नवासीलाई नेपालको कलासंस्कृती, परम्परा र खानाको प्रत्यक्ष स्वाद मात्र चखाएन्, नेपाल घुम्न जान प्रेरित समेत गर्‍यो । महोत्सवमा सहभागी अन्य देशका अवलोकनकर्ता नेपाल चिनाउनका लागि राखिएका विभिन्न स्टल हेरेर दंग थिए । त्यस्तै, सगरमाथा आरोहणको भर्चुअल अनुभव गराउन स्थापना गरिएको विहार घुमिसकेपछि नेपाल घुम्न जाने सोच बनाएका विदेशी समेत भेटिए ।


नेपालको पहिचानका रूपमा चिनिएका धरहरा, बौद्ध तथा स्वयम्भू स्तूपलगायत सामाग्रीले अवलोकनकर्ताको ध्यान खिचेको थियो भने नेपाली परम्परागत बाजासमेत प्रदर्शनमा राखिएको थियो । त्यसका साथै, नेपाली परम्परागत खानाका परिकारले सबैको मन जितेको थियो । नेपाली कलाकार तथा बालबालिकाको प्रस्तुति र विभिन्न जातजातिका परम्परागत नृत्य तथा झाँकीले अवलोकनर्ताको ध्यान खिचेको थियो । कार्यक्रममा सहभागीता जनाउन आएका मन्त्रीद्वय नाताली हर्टचिन्स, लिली डिएम्ब्रोसियोले नेपालीले अस्ट्रेलियालाई बहुसांस्कृतिक देश बन्नका लागि पुर्‍याएको योगदानका लागि धन्यवाद मात्र दिएनन् कि नेपाल आफैंमा कलासंस्कृतिको धनी देश भएको बताए । महोत्सवमा सहभागिता जनाउन आएका केन्द्र तथा राज्यका एक दर्जनभन्दा बढी सांसदले समेत नेपालीको खुलेरै प्रशंसा गरे ।

अस्ट्रेलियास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले हरेक दुई वर्षमा यहाँका राज्यहरुमा नेपाल महोत्सवको आयोजना गर्दै आएको छ । कोरोना महामारीका कारण ४ वर्षपछि आयोजित महोत्सवका दिन मौसम त्यति सफा नभए पनि अवलोकनकर्ताको सहभागीलाई भने त्यसले खासै असर पारेन । महोत्सव करिब ५० हजारले अवलोकन गरेको आयोजक समितिका संयोजक हरि खड्काको अनुमान छ । ‘महोत्सवको माध्यमबाट हामीले आफ्नो मातृभूमिको पहिचान झल्काउने र पर्यटन प्रवर्द्धन गर्ने काम गरेका छौं,’ उनले भने । महोत्सवको माध्यमबाट बहुसांस्कृतिक समुदायलाई नेपाली कलासंस्कृति, परम्परा र वेशभूषासँग पहिचान गराउन र जोड्न सफल भएको उनको दाबी छ ।

प्रकाशित : भाद्र २५, २०७९ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?