‘सकर क्लिनिक’ मा दोस्रो पुस्ताका नेपाली

नारायण खड्का

अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियाका नौ वर्षीय रोनव पाण्डे, आदि अधिकारी र आर्नब लामिछाने हरेक साता ‘सकर क्लिनिक’ मा व्यस्त भेटिन्छन् । फरक फरक स्थानीय फुटबल क्लबबाट खेल्ने उनीहरुलाई यस क्लिनिकले सीप र ज्ञान मात्रै दिएको छैन, फुटबलमै भविष्य खोज्ने आधार समेत तयार गरिदिँदैछ ।

‘सकर क्लिनिक’ मा दोस्रो पुस्ताका नेपाली

रोनव, आदि र आर्नबजस्ता ४० बालबालिका अहिले हरेक साता दक्षिण अस्ट्रेलियामा आयोजना हुने फुटबल प्रशिक्षण (सकर क्लिनिक) मा नियमित सहभागी हुन्छन् । जसमध्ये १३ जना मिनिरुज अर्थात् १२ वर्षमुनिका बालबालिकाको टिमबाट राज्यस्तरीय फुटबल प्रतियोगितामा सहभागिता जनाइरहेका छन् भने अन्य उक्त टिममा छनोट हुने लक्ष्यका साथ आएका छन् । केही बालबालिका त भर्खर फुटबललाई लात हान्न सक्ने मात्र पनि छन् । उनीहरुलाई दक्ष र तालिमप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण दिलाउने व्यवस्था मिलाइएको छ ।

अस्ट्रेलियामा नेपालीको दोस्रो पुस्ता हुर्किएसँगै उनीहरुलाई फुटबलको क्षेत्रमा स्थापित गर्ने उद्देश्यले यो प्रशिक्षण सञ्चालन हुँदै आएको छ । यहाँस्थित एडिलेड खुकुरी फुटबल क्लब (एकेएफसी)ले विगत ४ वर्षदेखि हरेक वर्ष दोस्रो पुस्ताका नेपालीलाई फुटबलको माध्यमबाट अघि बढाउने उद्देश्यका साथ यस फुटबल क्लिनिकको आयोजना गर्दै आएको छ । ५ देखि १० वर्षसम्मका बालबालिका सहभागी यस प्रशिक्षणमा दक्षिण अस्ट्रेलियाका विभिन्न स्थानमा रहेका नेपाली बालबालिकाले सहभागिता जनाइरहेका छन् । ८ सातासम्म हुने यस तालिमको मुख्य उद्देश्य नेपाली समुदाय विशेष गरि दोस्रो पुस्तालाई अस्ट्रेलियाली फुटबलमा हुने अवसरका लागि तयार गर्नु र सामाजिक क्रियाकलापमा सक्रिय बनाउनृुु रहेको क्लबले जनाएको छ ।

एकेएफसीद्वारा १० वर्षसम्मका बालबालिका लागि सञ्चालित ‘सकर क्लिनिक’ मा सहभागी नेपाली बालबालिका । तस्बिर : नारायण खड्का

प्रशिक्षणको आयोजना गरिरहेको एकेएफसीका महासचिव राजन लामिछानेले ४० बालबालिकामध्ये १३ जना बालबालिकाले राज्यस्तरीय मिनिरुज फुटबल प्रतियोगितामा सहभागिता जनाइरहेको र आउने वर्षमा अर्काे नेपाली मिनिरुज टिम बनाउने लक्ष्य राखेको जानकारी दिए । ‘हाम्रा दोस्रो पुस्ताका बालबालिकाले यहाँको फुटबलमा राम्रो अवसर पाउने देखेरै हामीले उनीहरुलाई अझ अवसर र प्रेरणा दिन यो क्लिनिकको सुरुवात गरेका हौं,’ उनले भने । एकेएफसी आफैं पनि यहाँको राज्यस्तरीय लिग प्रतियोगिता खेलिरहेको क्लब भएकाले समेत बालबालिकालाई प्रोत्साहित गर्न सहज भएको उनको भनाइ छ । उनले आफ्ना बालबालिकाको प्रशिक्षणमा अभिभावकले समेत खुलेर सहयोग गरिरहेको जानकारी दिए ।

अस्ट्रेलियामा पछिल्लो समयमा बालबालिकाले फुटबलमा राम्रो स्थान बनाउँदै गएका छन् । सिड्नी, मेलबर्न लगायतका स्थानमा रहेका दोस्रो पुस्ताका नेपाली किशोरहरु राम्रा फुटबल क्बलमा आबद्ध भएर राज्यस्तरको प्रतियोगिता खेलिरहेका छन् । अध्ययनका साथै फुटबलको माध्यमबाट राज्यस्तरबाट प्रतिनिधित्व गर्दै विदेशसम्म प्रतियोगिता खेल्न जाने गरेका छन् । त्यसका साथै राज्यस्तरमा हुने फुटबल प्रतियोगितामा आफ्नै टिम बनाएर समेत नेपाली युवाले प्रतिस्पर्धा गर्दै आएका छन् ।

फुटबल प्रशिक्षण र प्रतियोगिताको माध्यमबाट खेलका लागि अवसर मात्र सृजना नभएर नेपाली मूलका बालबालिकाबीच भेट तथा छलफल हुने गरेको छ । यसले उनीहरुलाई नेपाली भाषा तथा संस्कृतिका बारेमा जान्ने अवसर सृजना भएको र सामाजिक सद्भावका बारेमा अझ जानकारी हुने भएकाले समेत यो प्रशिक्षण सफल बन्दै गएको हो । नेपाली बालबालिका मात्र सहभागी यस प्रशिक्षणमा अन्य देशका अभिभावकले समेत चासो र इच्छा व्यक्त गरिरहेको लामिछानेले बताए । तर नेपाली बाहेक अन्य मूलका बालबालिकालाई प्रशिक्षणमा समेट्ने तत्काल कुनै लक्ष्य नरहेको उनले सुनाए ।

प्रकाशित : श्रावण २४, २०७९ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?