कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

अमेरिकामा बृहत् अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान सम्पन्न 

नेपालीको मनमा विश्व अटाउन सक्नुपर्छ : पवन चाम्लिङ
‘लीलबहादुर क्षत्रीलाई ६ लाख रुपैयाँको पुरस्कार’
कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाको पेन्सिलभेनिया राज्यको हृयारिसवर्ग सहरमा भुटानी नेपाली सर्जकहरुको आयोजनामा बृहत् अन्तर्राष्टिय सिर्जनात्मक अनुष्ठान सम्पन्न भएको छ । उक्त अवसरमा नेपाल, भारत, नेदरल्यान्ड, बेलायत, न्यूजिल्यान्ड, अस्ट्रेलिया, डेनमार्कबाट गएका ४ सयजति नेपालीभाषीका माझ सिक्किमका पूर्वमुख्यमन्त्री एवं कवि पवन चाम्लिङले अनुष्ठान पाँचौं संस्करणको उद्घाटन गरेका थिए ।

अमेरिकामा बृहत् अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान सम्पन्न 

‘हामीहरुको राष्ट्र, राष्ट्रियता, नागरिकता अलग–अलग भए पनि हामी जहाँ बसे पनि जहाँका भए पनि नेपाली भाषा र संस्कृति कहिल्यै भुल्नु हुँदैन । भाषा–संस्कृति नै नेपालीको पहिचान र अस्तित्व भएकाले यसलाई बचाउनु हामी सबैको कर्तव्य हो,' चाम्लिङले भने, ‘नेपालीको मनमा विश्व अटाउन सक्नुपर्छ ।’

जुनै धर्म, भूगोल र पेसामा रहे पनि नेपाली भाषा, साहित्य, संस्कृति, कला विकासमा सबै नेपालीले लाग्नुपर्नेमा जोड दिँदै चाम्लिङले त्यसो गर्न सके मात्रै नेपालीहरुको साझा पहिचान स्थापित हुने र यसले सबै नेपालीलाई एक ठाउँमा जोड्न सक्ने बताए ।

विश्व भुटानी साहित्य संगठनको आयोजनामा जुलाइ ३१ मा सम्पन्न तीन दिने अनुष्ठानलाई आफ्नो भाषा, साहित्य–संस्कृति र माटोबाट बिमुख बनेर लखेटिएका भुटानीले प्रवासमा बसेर पनि आफ्नो पहिचान खोज्ने प्रयत्नमा गरिएको संगठनका प्रेस सचिव अर्जुन प्रधानले कान्तिपुरलाई बताए ।

‘नेपाली भाषा–साहित्यको ग्लोबल स्वरुप र उत्तरआधुनिकता दृष्टिको फैलावटलाई अब अस्वीकार गर्नै नसकिने स्थिती आएको छ,’ अनुष्ठानमा आमन्त्रित प्राध्यापक गोविन्दराज भट्टराईले भने, ‘आज नेपाली भाषा–साहित्यको सरोकार र प्रवर्द्धनमा जोडिएर नेपाल, भारत र भुटानका नेपालीभाषी एक ठाउँमा उभिएर भाषिक ऐक्यबद्धतामा बहस चलाएको यो क्षण अद्‌भूत छ, ऐतिहासिक छ ।’

समारोहमा ‘बसाइँ’ उपन्यासका भारतको असम निवासी साहित्यकार लीलबहादुर क्षेत्रीलाई ६ लाख रुपैयाँ राशीको ‘स्वीकारोक्ति आजीवन सिद्धि पुरस्कार’ प्रदान गरिएको थियो । वयोवृद्ध लेखकको अनुपस्थिति रहे पनि यो पुरस्कार सम्मान असम, गुवाहटी लगेर दिइने संगठनका अध्यक्ष कर्ण गुरुङले जानकारी दिए । यस्तै, साहित्यकार महेश दाहाललाई २ हजार १ डलर राशीको ‘विभूसास दिनेश चाम्लिङ स्मृति युवा प्रतिभा पुरस्कार’ प्रदान गरिएको थियो ।

समारोहमा भारतको सिक्किम विश्वविद्यालयको भाषा तथा साहित्य विभागका डिन प्राध्यापक कविता लामाले ‘नेपाली साहित्य लेखनको स्थिति र वैश्वीकरणको प्रयासमा भारतीय नेपाली अनि पुनर्वासित भुटानीहरु’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । यसैगरी, लेखक मधुमाधुर्य श्रेष्ठ, विन्ध्या सुब्बा (दार्जीलिङ), वीरेन हितान (लन्डन), गोविन्दराज भट्टराई र कृष्ण धरावासी (काठमाडौं) लगायतले नेपाली भाषा‐साहित्यको बदलिँदो स्वरुपबारेमा कार्यपत्रसहितका मन्तव्य राखेका थिए । कार्यपत्रमाथि विषयगतरुपमा कवि गोविन्द गिरी प्रेरणा, अन्जना भट्टराई, डेन्जोम साम्पाङ, प्रदीप थापा परियारसहितले मन्तव्य राखेका थिए ।

समारोहमा कवि धर्मेन्द्र तिम्सिना ‘क्षितिज’को ‘आवाजहरुको जुलुस’, सविन धिमालको गजलसंग्रह ‘ऐनाअघि उभिएर’, गोपाल पौडेलको बाल उपन्यास ‘माछाहरुको सहर’, ज्ञानबहादुर क्षेत्रीको ‘मेरो न्यूजिल्यान्ड यात्रा’, प्रदीप गुरुङको गजलसंग्रह ‘बोल्ने ढुंगा’ र सोनम तेन्जिङको ‘द मिसजज् (ट्रु लाइफ इभेन्ट्स)’ पुस्तकको विमोचन गरिएको थियो । विमोचन सिक्किमदेखि आएका कवि चाम्लिङ र प्राध्यापक भट्टराईले गरेका थिए ।

समारोहमा भूटानमा रहेका राजनीतिक बन्दी रिहाइको अन्तर्राष्ट्रिय अभियानका संयोजक मानव अधिकारकर्मीी राम कार्कीले भुटानभित्रका जेलहरुमा रहेका राजनीतिक अभियोगमा थुनिएका बन्दीहरुको पक्षमा विश्व समुदायले आवाज उठाउनुपर्ने बताएका थिए । नेदरल्यान्डको हेगमा बसेर भुटानी राजबन्दीको हकअधिकारका बारेमा अन्तर्राष्ट्रिय मन्चमा आवाज उठाउँदै आएका कार्कीले खुसी र सुखी राष्ट्रको हौवा बाढेर हिँडेको भूटानले राजनीतिक बन्दीको यथार्थलाई विश्व समुदायसामु ढाकेर र लुकाएर राखेको धारणा राखेका थिए ।

‘३ दशकयता भुटानी जेलमा रहेका राजनीतिक बन्दीबारेको यथार्थ खोज र अन्वेषणमा काठमाडौंबाट कान्तिपुर दैनिकले दिएको साथ–सहयोग अविष्मरणीय छ,’ कार्कीले भने, ‘यही कारण भुटानभित्र लुकाइएको अमानवीय पाटोका बारेमा आज बाहिरी विश्व जानकार भएको छ ।’

समारोहमा नेपाली भाषा, कला, संस्कृतिका संवर्द्धकका रुपमा विश्व भुटानी साहित्य संगठन (न्युजिल्यान्ड च्याप्टर), ओम अधिकारी (खोर्गाली), ख्याम अधिकारी, लक्ष्मी अधिकारी र भुटानी समुदाय (हेरिसबर्ग)लाई सम्मानित गरिएको थियो ।

यस्तै, भुटानी अमेरिकी समाजअन्तर्गत सन् २०१९ यता हालसम्म विद्यावारिधी गर्ने कुमार गुरुङ, तुलाराम न्यौपाने, हेमन्त घिसिङ, नारद अधिकारी र पुष्पा शर्मालाई पनि सम्मानित गरिएको थियो ।

प्रकाशित : श्रावण २२, २०७९ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?