घरघरमा तिरंगा झन्डा फहराउन सिक्किमवासीलाई मुख्यमन्त्री तामाङको निर्देशन- प्रवास - कान्तिपुर समाचार

घरघरमा तिरंगा झन्डा फहराउन सिक्किमवासीलाई मुख्यमन्त्री तामाङको निर्देशन

घनश्याम खड्का, पर्वत पोर्तेल

गान्तोक, सिक्किम — झन्डाले राष्ट्रियतालाई कति व्यक्त गर्छ ? सन् १९७५ मा भारतको २२ औं राज्यका रूपमा गाभिएको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ भन्छन्, ‘झन्डा नै देशको पहिचान हो ।’ 

देश विलय हुने बेलामा भएको सम्झौता ‘सिक्किम सब्जेक्ट’मा आफ्नै लोगो चलाउन पाउने सुविधा पाएको सिक्किमका जनतालाई यसपालि भने भारत सरकारले घरघरमा तिरंगा झन्डा (भारतीय झन्डा) फहराउन उर्दी जारी गरेको छ । त्यसलाई अनुसरण गर्दै मुख्यमन्त्री तामाङले सिक्किमवासीलाई घरघरमा झन्डा राख्न भनेका हुन् ।

‘व्यक्ति र पद केही होइन, यदि त्यहाँ झन्डा छैन भने,’ आइतबार सिक्किमेलीलाई सम्बोधन गर्दै एक कार्यक्रममा उनले भने, ‘मलाई प्रहरीले सलाम किन गर्छ भने मेरो गाडीमा देशको झन्डा छ, त्यसैले अब तपाईंहरूले पनि आफ्ना घरमा तिरंगा झन्डा फहराउनुस्, त्यसका लागि झन्डा किन्नु पर्दैन, सरकारले दिन्छ ।’

सरकारले भारत स्वतन्त्रताको ७५ औं वर्षगाँठ अगस्ट १ देखि १५ सम्म मनाउने तयारी गरिरहेको छ । हीरक जयन्तीका लागि तय गरिएको ‘आजादीका अमृत महोत्सव’का समयमा घरघरमा भारतीय झन्डा फहराउन मुख्यमन्त्रीले जनतालाई आग्रह गरेका हुन् ।

‘झन्डा घरमा राख्नु भनेको सिंगो देशप्रतिको श्रद्धा हो,’ सिक्किम प्रेस क्लबले गान्तोकको मनन केन्द्रमा गरेको २० औं स्थापना दिवसका अवसरमा उनले भने, ‘हामीले भारतको अभिन्न अंग भएयता धेरै कुरा पाएका छौं, त्यसैले देशलाई माया गर्नुपर्छ, झन्डालाई श्रद्धा गर्नुपर्छ ।’ उनको पछिल्लो गतिविधिले मुख्यमन्त्री तामाङ सत्ताधारी दल भाजपाप्रति लचिलो देखिन्छन् ।

सन् २०२१ को जनगणनाअनुसार ६ लाख ६३ हजार जनसंख्या रहेको सिक्किम भारतमा विलय भएयता केन्द्र सरकारबाट ठूलो मात्रामा अनुदान पाइरहेको छ । मुख्यमन्त्री तामाङले त्यसलाई सकारात्मकरूपमा लिनुपर्ने भन्दै जनता पनि भारतप्रति बफादार हुनु पर्ने अभिव्यक्ति पनि दिएका छन् ।

‘अनुदानमा हामीले ठूलो रकम पाउँदै आएका छौं, यो सालमात्रै ५ हजार करोडको सडक निर्माण परियोजना केन्द्र सरकारबाट आएको छ, के यो सानो हो ?’ उनले भने, ‘सिक्किमजस्तो ठाउँको गरिबी घटेको छ र हाम्रो जीवन राम्रो भएको छ भने हामीले तिरंगा झन्डा किन नफहराउने ?’

भारतले नेपालसँग जोडिएका सीमावर्ती राज्यमा ठूलो अनुदानमा सडक विस्तार गर्दैछ । त्यसअन्तर्गत सिक्किममा पनि केन्द्रीय सडक परियोजना परेको हो । जसलाई मुख्यमन्त्री तामाङले ‘गौरवको योजना’का रूपमा लिनुपर्ने बताए । ‘घरमा झन्डा राख्दा केही बिग्रँदैन, झन् देश प्रेम झल्कन्छ,’ उनले भने, ‘पार्टीको झन्डा राख्छौं हामी, देशको झन्डा किन नराख्ने ?’

प्रकाशित : श्रावण ४, २०७९ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्

हेरल्ड कलेजका ४८१ विद्यार्थी  दीक्षित 

कान्तिपुर संवाददाता

काठमाडौँ — हेरल्ड कलेज काठमाडौंको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । बुधबार राजधानीमा आयोजित दिक्षान्त समारोहबाट ४८१ विद्यार्थी दीक्षित भएका छन् । सन् २०१९/२० मा  स्नातक तह उत्तिर्ण बिएससी हन्स कम्प्युटर साइन्सका १६०, बिएससी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका २६  र सन्  २०२०/२१  मा  स्नातक तह उत्तिर्ण बिएससी हन्स कम्प्युटर साइन्सका २४९ तथा बिएस्सी हन्स  इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका ४६  गरी कुल ४८१ जना विद्यार्थीहरू दीक्षित भएका हुन् ।

कोभिड महामारीका कारण उक्त समारोह दुई वर्षपछि आयोजना भएको हो । आईएनजी ग्रुपअन्तर्गत पर्ने हेरल्ड कलेज बेलायतको प्रतिष्ठित विश्वविद्यालय युनिभर्सिटी अफ वुल्भरह्याम्पटनबाट सम्बन्धन प्राप्त छ । समारोहमा युनिभर्सिटी अफ वुल्भरह्याम्पटन विश्वविद्यालयका प्रोभाइस चान्सलर टिम स्टिलले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र हस्तान्तरण गरे ।

समारोहलाई सम्बोधन गर्दै प्रोभाइस चान्सलर टिमले नेपालको कलेजसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । यसैगरी समारोहलाई सम्बोधन गर्दै आईएनजी ग्रुपका संस्थापक अध्ययक्ष सुलभ बुढाथोकीले हेरल्ड कलेजले विद्यार्थीहरूलाई नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्दै आएको बताए ।

नेपालमा सन् २०१७ देखि सञ्चालन हुँदै आएको उक्त कलेजमा अहिले स्नातक तहमा ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी, ब्याचलर इन इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र स्नातकोत्तर तहमा इन्टरनेसनल मास्टर्स अफ बिजनेस म्यानेजमेन्ट विषय पढाइ हुँदै आएको छ । कलेजले विद्यार्थीको एटिच्युड, एकेडेमिक्स र एटेन्डेन्स अर्थात् ट्रिपल ए का आधारमा कलेजमा भर्ना भएका १० प्रतिशत विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ । हाल आईएनजी ग्रुपअन्तर्गत काठमाडौंमा इस्लिङ्टन कलेज र हेरल्ड कलेज, पोखरामा इन्फरम्याटिक्स कलेज, विराटनगरमा विराटनगर इन्टरनेसनल कलेज र इटहरीमा इटहरी इन्टरनेसनल कलेज सञ्चालनमा रहेका छन् ।

प्रकाशित : श्रावण ४, २०७९ २०:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×