कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिक्किममा पत्रकारलाई पेन्सन

गान्तोक, सिक्किम — सिक्किम सरकारले पत्रकारका लागि पेन्सनको व्यवस्था गर्ने भएको छ । प्रेस क्लब अफ सिक्किमको २०औं स्थापना दिवसका अवसरमा आइतबार गान्तोकमा आयोजित एक समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले)ले सिक्किममा कार्यरत पत्रकारका पेन्सन उपलब्ध गराउने घोषणा गरेका  हुन् । ‘पत्रकारका लागि पेन्सनका जरुरी महसुस गरेका छौ,’ मुख्यमन्त्रीले भने, ‘कार्यविधि बनाएर चाँडै लागू गर्ने छौं ।’

सिक्किममा पत्रकारलाई पेन्सन

सिक्किम सरकारले पत्रकारितामार्फत अध्ययनका लागि १० जना पत्रकारलाई जनही २ लाखका दरले वार्षिक रुपमा फेलोसिप समेत प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । ‘यो वर्षदेखि गम्भीर र रोचक विषयमा अध्ययन गर्न चाहने पत्रकारहरुलाई फेलोसिप उपलब्ध गराउने छौं,’ मुख्यमन्त्रीले भने, ‘अब सिक्किमेली पत्रकारिता पहिलाजस्तो लरतरो हुँदैन, त्यसका लागि हामी सक्दो सहयोग गर्नेछौं ।’ मुख्यमन्त्री तामाङले पत्रकारका लागि स्वास्थ्य बिमा पनि गर्ने घोषणा गरेका छन् ।

भाडाको कोठाबाट कार्य सम्पादन गर्दै आएको सिक्किम प्रेस क्लबलाई सरकारले गत वर्ष अनुदानका रुपमा चारतले भवन उपलब्ध गराएको थियो । ‘हामीले थोरै जमिन मागेका थियौं, सरकारले निर्मित भवन नै उपलब्ध गराएर पत्रकारका लागि ठूलो गुन लगाएको छ’, प्रेस क्लब अफ सिक्किमका अध्यक्ष शेखर खवासले भने ।

प्रेस क्लब अफ सिक्किमले वार्षिक रुपमा प्रदान गर्दै आएको कञ्चनजंघा कलम पुरस्कार, लगनशील युवा पत्रकार पुरस्कार र वरिष्ठ पत्रकारिता पुरस्कारको राशी यो वर्षदेखि सरकारले वृद्धि गरेर ५१ हजार बनाइदएको छ । पुरस्कार वितरणको जिम्मा पनि सरकार आफैंले लिएको छ ।

यो वर्ष कञ्चनजंघा कलम पुरस्कारबाट अग्रज पत्रकार भीम रावत, लगनशील युवा पत्रकार पुरस्कारबाट सुजल प्रधान र वरिष्ठ पत्रकारिता पुरस्कारबाट पुराना पत्रकार तथा प्रेस क्लब अफ सिक्किमका संस्थापक शुकवीर तामाङ (एसबिब्लोन) पुरस्कृत भएका छन् । सरकारले आगामी वर्षदेखि वितरण गर्ने गरी अर्को प्रतिष्ठित पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । ‘टिस्टा–रंगीत अविरल कलम पुरस्कार’ को राशी १ लाख १ हजार रहने छ ।

मुख्यमन्त्री तामाङले आफ्नो सरकार अघिल्लो सरकारजस्तो पत्रकारका लागि अनुदार नभएको र प्रेस स्वतन्त्रताका पक्षमा रहेको पनि दाबी गरेका थिए । ‘अघिल्लो सरकारको ज्यादतीबाट पत्रकार अब मुक्त छन्,’ उनले भने, ‘हामी प्रेस स्वतन्त्रताका पक्षमा छौं, तपाईंहरु ढुक्कले कलम चलाउनुस् ।’

प्रकाशित : श्रावण २, २०७९ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?