दिल्लीमा भानुभक्तको सम्झना- प्रवास - कान्तिपुर समाचार

दिल्लीमा भानुभक्तको सम्झना

कान्तिपुर संवाददाता

नयाँ दिल्ली — आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्म जयन्तीका अवसरमा दिल्लीमा रहेका नेपालीहरूले नेपाली साहित्य र भाषामा उनको अतुल्य योगदानको सम्झना गरेका छन् । हाम्रो स्वाभिमान ट्रस्ट दिल्ली प्रदेशले आइतबार यहाँ भानु जयन्तीका अवसरमा कविता वाचन कार्यक्रम आयोजना गरेको थियो ।

समारोहमा ३५ जना विद्यार्थीहरूले कविता वाचन गरेका थिए । विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गराइएको थियो ।

दिल्लीका शिक्षालयमा नेपाली भाषाको पढाई हुँदैन । नेपालका बालबालिकाको नेपाली भाषामाथिको पकड नगुमोस् भन्ने उद्देश्यले पनि कविता वाचन राखिएको आयोजक संस्थाका दिल्ली अध्यक्ष अर्जुन भण्डारीले बताए । नेपाली भाषालाई माया गर्न र प्रयोग बढाउन बालबालिकालाई प्रेरित गर्न यस्ता प्रतिस्पर्धाले सहयोग पुर्‍याउने अपेक्षा राखिएको उनले बताए ।

प्रवासमा रहेका नेपालीहरूले आफ्नो परिवारमा नेपाली भाषा संस्कृति जगेर्ना गर्न तथा बोलीचाली र अभ्यासमा नेपालीपनलाई नछाड्न कार्यक्रममा वक्ताहरूको भनाइ थियो । योगगुरूका रूपमा परिचित स्वाभिमान ट्रस्टका अन्तर्राष्ट्रिय संयोजक मोहन कार्कीले आदिकवि आचार्यको स्मरण गर्दै गर्दा आफ्नो भाषा र संस्कृतिलाई जोगाउन हरेक नेपाली प्रयत्नशील हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाली दूतावासका कल्चरल काउन्सिलर यदुनाथ पौडेल, एभरेस्ट चेम्बरका अध्यक्ष युवराज बराललगायत वक्ताले आदिकविको स्मरण गरेका थिए ।



प्रकाशित : असार २६, २०७९ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्

४३ जना स्रष्टा पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विभिन्न विधाका ४३ जना स्रष्टालाई पुरस्कृत गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्त्रालयले आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पुरस्कृत स्रष्टाहरुलाई नगद पुरस्कारसहित सम्मान गरे ।

समारोहमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार वितरण गरिएको थियो ।

राष्ट्रिय प्रतिभा पुरस्कारअन्तर्गत साहित्य, संगीत नाट्य, संस्कृति र ललितकला विधामा पुरस्कार प्रदान गरिएको थियो । राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेहरुमा सोमराज अभय, हरिवंश आचार्य, रमेश ढुंगेल, हेम पौडेल छन् ।

प्रादेशिक प्रतिभा पुरस्कार पाउनेहरुमा यज्ञेश्वर निरौला, अयोध्यानाथ चौधरी, हरिप्रसाद सिलवाल, बालकृष्ण अधिकारी, विष्णुबहादुर सिंह, बखतबहादुर थापा, गणेशराज जोशीलगायत छन् । महाकवि देवकोटा पुरस्कारबाट बेञ्जु शर्मा, राम विनय, पुस्करराज भट्ट, विजय चालिसे, आरडी प्रभास चटौत सम्मानित भए ।

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारबाट अमरराज गिरी सम्मानित भए भने इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कारबाट त्रिरत्न मानन्धर र भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट लालबहादुर विश्वकर्मा र खगेन्द्र संग्रौलालाई सम्मान गरिएको थियो । पुरस्कार छनोटका लागि मन्त्रालयको कार्यविधिअनुसार छनोट मूल समिति गठन गरिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्य विधा देशको सभ्यता र संस्कृतिको धरोहर रहेको बताए । उनले सम्मानबाट स्रष्टाहरुमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

यस्तै मन्त्री श्रेष्ठले भाषा, साहित्य र संस्कृति प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए । भाषा, साहित्य, संस्कृतिलगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमार्फत स्वदेश तथा विदेशमा नेपालको पहिचान विस्तारमा योगदान दिने मूर्धन्य स्रष्टाहरुको मन्त्रालयले सम्मान गरेको श्रेष्ठले बताए ।


प्रकाशित : असार २६, २०७९ १६:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×