अस्ट्रेलियामा आफ्नै भवन बनाउँदै नेपाली समुदाय

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा रहेका नेपालीले हरेक राज्यमा नेपाली कलासंस्कृति, पहिचान र परम्परा झल्काउने आफ्नै सामुदायिक भवन निर्माणको काम अघि बढाएका छन् । 

अस्ट्रेलियामा आफ्नै भवन बनाउँदै नेपाली समुदाय

नेपालीको जनसंख्या बढेसँगै आफ्नै पहिचानसहितको भवनको आवश्यकता रहेको भन्दै यहाँका नेपालीले आफ्नै भवन निर्माणका लागि लामो समयदेखि पहल गरिरहेका छन् ।

नेपालीको धेरै जनसंख्या रहेको दोस्रो सहर मेलबर्नमा सामुदायिक भवनका लागि जग्गा र घर खरिद गरिएको छ भने पर्थ, ब्रिसबन लगायत सहरमा जग्गा खोज्ने कार्य जारी रहेको बताइएको छ ।

सिड्नीमा भने स्थानीय काउन्सिलसँग मिलेर नेपाली परम्परा झल्कने फरक किसिमको सामुदायिक भवन सञ्चालन गर्ने तयारी भइरहेको छ । हरेक राज्यमा निर्माण हुने भनिएका सामुदायिक भवनमा मन्दिरहरू, मेडिटेसन सेन्टर, विवाह ब्रतबन्ध लगायत सामाजिक कार्य गर्नका लागि सुविधा हुनेछ भने सबै भवन नेपाली पहिचान झल्कने शैलीमा निर्माण हुनेछन् ।

मेलबर्नमा बन्न लागेको भवनका लागि स्थानीय निकायबाट अनुमति प्राप्त भइसकेको छ । दक्षिण अस्ट्रेलियामा समेत सामुदायिक भवन निर्माणका लागि वर्तमान एनआरएनए राज्य संयोजक रेणुका लामाले यसअघि नै जग्गादान गर्ने घोषणा गरिसकेकी छन् ।

मेलबर्नको सामुदायिक भवन निर्माण समितिका अध्यक्ष राजेश आचार्यले अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरलाई पूजा तथा अन्य सम्बन्धित कार्य गर्नका लागि सरकारबाट अनुमति पाइसकेको जानकारी दिए । उनका अनुसार सेन्टरले १५ लाख डलर करिब १२ करोड रुपैयाँमा १५ एकड जग्गा र चारकोठे घर खरिद गरेको छ जसलाई नेपाली सामुदायिक भवनका रुपमा तत्काललाई केही मर्मतसहित उपयोग गरिनेछ ।

उनले सामुदायिक भवनलाई नेपाली शैलीमा अझ विस्तार गर्नका लागि शनिबार सहयोग संकलनका लागि कार्यक्रमसमेत गर्न लागेको जानकारी दिए । उनका अनुसार सम्पूर्ण रुपमा समुदायबाटै संकलन गरिएको रकमबाट निर्माण गर्न लागिएको सामुदायिक भवनले भिक्टोरियाका साथै सम्पूर्ण अस्ट्रेलियामा नेपालीको पहिचान तथा कलासंस्कृतिको जगेर्नामा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यसैगरी सिड्नीमा हुने सामुदायिक भवन स्थानीय काउन्सिलको सहकार्यमा काउन्सिलकै एक भवनलाई उपयोग गरेर नेपाली शैलीको बनाइने नेप्लिज अस्ट्रेलियन एसोसिएसनका महासचिव क्रषि आचार्यले जनाए । उक्त संस्थालाई तत्कालीन सरकारले १० लाख डलर सहयोग गर्ने प्रतिबद्धता गरे अनुसार उक्त सहयोग रकम हस्तान्तरणको प्रक्रिया चलिरहेको उनले बताए ।

यस्तै ब्रिसबेनमा समेत भवन निर्माणका लागि संकलन गरेको करिब ४ लाख रुपैयाँ संस्थाको खातामा जम्मा भइसकेको र जग्गा खोज्ने काम भइरहेको निर्माण समितिका अध्यक्ष केशव शर्माले जानकारी दिए । उनले क्युन्सल्याण्ड नेप्लिज कम्युनिटी सेन्टर नाम दिएर निर्माण गरिने सामुदायिक भवनका लागि सम्पूर्ण योजना तयार भइसकेको र जग्गा खरिद प्रक्रियाका लागि लागिपरेको जानकारी दिए । ‘हामीले हामी नेपाली समुदायबीच मात्र नभएर स्थानीय काउन्सिल समक्षसमेत सहयोगका लागि सहकार्य गरिरहेका छौं,’ शर्माले भने ।

पश्चिम अस्ट्रेलियामा पेगोडा शैलीको पशुपतिनाथ मन्दिरका साथै बौद्धनाथ मन्दिरसमेत रहने गरि सामुदायिक भवन निर्माणको तयारी गरिएको छ । नेपाली मन्दिर तथा कम्युनिटी सेन्टरकी अध्यक्ष रोशन शेर्पाले भवन निर्माणका लागि जुटाइएको करिब ७ लाख डलर संस्थामा रहेको र जग्गा खोज्ने काम तीव्र रुपमा भइरहेको सुनाइन् ।

‘हामी नेपालीलाई अझै चिनाउने किसिमको आफ्नै सामुदायिक भवन र मन्दिर निर्माणमा लागिपरेका छौं र जग्गा पाएपछि चाँडै भवन निर्माण गर्नेछौं,’ शेर्पाले भनिन् ।

करिब एक दशकदेखि नेपालीले आफ्नै पहिचानसहितको सामुदायिक भवन निर्माण गर्ने प्रयास गरेको भए पनि अहिलेसम्म सफल भएको थिएन् । तर मेलबर्नमा सञ्चालनको अनुमति पाइसकेकाले अन्य सहरमा समेत चाँडै निर्माण सम्पन्न हुने विश्वास लिइएको छ ।

बहुसांस्कृतिक देशका रुपमा ख्याति कमाएको अस्ट्रेलिया अन्य भाषा, कलासंस्कृति तथा परम्परालाई जगेर्ना गर्नका लागि सरकारले सामुदायिक रुपमा सहयोगसमेत दिने गरेको छ ।

प्रकाशित : असार १०, २०७९ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?