कोरियन एयरले आउँदो अगस्ट महिनादेखि नेपालमा नियमित उडान गर्ने

गोकुल थोकर

सोल, दक्षिण कोरिया — कोरियन एयरले अगस्ट महिनादेखि सोल-काठमाडौं नियमित उडान गर्ने भएको छ । प्रत्येक सोमबार र बुधबार उडान गर्ने एयरले जनाएको छ । कोरोना महामारीका कारण रोकिएको उडान दुई वर्ष पछि पुनः सुरु हुन लागेको हो ।

कोरियन एयरले आउँदो अगस्ट महिनादेखि नेपालमा नियमित उडान गर्ने

नियमित उडान भएसँगै लामो समयदेखि कोरिया आउन प्रतिक्षारत युवाहरु सहजै रोजगारका लागि यहाँ आउन पाउने छन् । साथै कोरियामा रहेका नेपालीले पनि अन्य एयर मार्फत नेपाल जान र कोरिया आउन ट्रान्जिटको झन्झटिलो व्यहोरिरहेका थिए । अब ट्रान्जिटको बाध्यता हट्ने छ । साथै उडान रद्द भइरहने समस्या पनि भोग्नु पर्ने छैन ।

चर्को कामदार अभाव खेपिरहेको कोरियाले कोरोना महामारी पछि सबै क्षेत्रको जनजीवनलाई सामान्य बनाउने नीति अपनाएको छ । सोही नीति अन्तर्गत कोरियाली राष्ट्रिय ध्वजावाहक कोरियन एयरले विभिन्न देशसँग रोकिएको उडानहरु नियमित गर्न लागेको हो । यसअघि नै धेरै देशसँग नियमित उडान गरे पनि नेपालमा भने अगस्ट महिनादेखि उडान गर्ने भएको हो ।

महामारी पछि कोरियन एयरले चार्टर उडानको मार्फत काठमाडौ उडान गर्दै आएको थियो । यसरी गरिएको उडानमा यात्रुहरुले एकतर्फी उडान गर्दा सस्तोमा १० लाख ९० हजार वन (१ लाख ९ हजार रुपैयाँ) दुई तर्फी उडान भर्ने यात्रुले १९ लाख वन (१ लाख ९० हजार ) तिर्दै आएका थिए । चर्को शुल्क तिरे पनि कहिले उडान रद्द हुने र कहिले उडान तालिका परिवर्तन भइरहने समस्या भोग्दै आएका थिए ।

कोरोना संक्रमणकाल भन्दा पहिले एकातर्फी उडानका लागि ६ लाख ८० हजार वन (६८ हजार रुपैया) दुई तर्फी उडान गर्ने यात्रुले ८ लाख ६० हजार (८६ हजार रुपैया) मात्रै यात्रुले तिरे पनि इकोनोमी क्लासको टिकट पाइन्थ्यो ।

कोरियन एयरले नियमित उडान गर्ने भए शुल्क केही कम हुने भए पनि पहिलेकै शुल्क भन्दा बढि नै मूल्य तोकिएको छ । अगस्ट महिनाको लागि भनेर कोरियन एयरले एकतर्फी उडानका लागि ईकोनोमी क्सासको टिकट सबै भन्दा सस्तो ९ लाख वन (९० हजार) तोकेको छ भने दुई तर्फी उडानका लागि १६ लाख वन (१ लख ६० हजार) लाग्ने जनाएको छ ।

प्रकाशित : असार ८, २०७९ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?