१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

याक्थुङ भाषा लिपिका प्रवर्द्धक मुरिङ्ला रहेनन्

प्रदीप मेन्याङ्बो

सुनसरी — याक्थुङ लिम्बु भाषा र सिरिजङ्गा लिपिको विकास र प्रवर्द्धक रहेका साहित्यकार बीबी मुरिङ्ला सुब्बा (बिर्खबहादुर मुरिङ्ला लिम्बु) को निधन भएको छ । उनको बुधबार सिक्किमको राजधानी गान्तोकस्थित द सर थतोव नाम्ग्याल मेमोरियल हस्पिटल (न्यूएसटिएनएम)मा  निधन भएको हो । उनी ८० वर्षका थिए । मुरिङ्लाको मस्तिष्कमा भएको रक्तस्रावका कारण निधन भएको अस्पतालले जनाएको छ । 

याक्थुङ भाषा लिपिका प्रवर्द्धक मुरिङ्ला रहेनन्

सिक्किममा नेपाली, याक्थुङ लिम्बु भाषा र लिपि विकास र प्रवर्द्धनमा उल्लेखनीय योगदान दिएबापत भारत सरकारले सन् २०१७ मा उनलाई पद्मश्री सम्मानले विभूषित गरेको थियो । उनलाई भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले पद्मश्री सम्मानले विभूषित गरेका थिए । यसअघि आसामको राजधानी गुहाटीमा सन् २०१४ मा विवेकानन्द सेन्ट्रल इन्स्टिच्युट अफ कल्चर पुरस्कारले पनि सम्मान गरिएको थियो । यस्तै लिम्बु गीत संगीत र गायनमा लामो समयदेखि योगदान दिएको भन्दै ०५४ सालमा उदयकला पुरस्कारले काठमाडौंमा सम्मान गरिएको थियो ।

पश्चिम सिक्किमको लिम्चोममा सन् १९४२ मा जन्मिएका मुरिङ्लाले सिक्किममा याक्थुङ भाषा र सिरिजङ्गा लिपिको उच्च तहसम्मको अध्ययनका लागि सन् २०१७ मा विशेष नेतृत्व गरेका थिए । मुरिङ्लाका पुर्खा ताप्लेजुङको मुरिङ्ला खारिङ्ला क्षेत्रबाट सिक्किम बसाइँ सरेका थिए । कवि, लेखक, साहित्यकार मुरिङ्लासम्बन्धी जानकार अमित थेवेकाअनुसार टासी नामग्याल एकेडेमीमा विद्यालय तहको अध्ययन गरेपछि दार्जिलिङ कलेज भर्ना भए । पछि उनी सिक्किम राज्य सरकारमा मानव संशाधन विभागमा कार्यरत रही अतिरिक्त निर्देशक पदमा निवृत्त भएका थिए ।

थेवेले भने, ‘नेपालको लिम्बुवान क्षेत्रमै याक्थुङ मुन्धुमको उत्पति, निर्माण र विस्तार भए पनि भाषा लिपिको शैक्षिक र प्राज्ञिक विकास हुन सकेन तर सिक्किमका मुरिङ्लाले याक्थुङ करिब तीन दशकभन्दा बढी समय मुरिङ्लाले भाषा र लिपिका लागि जीवन अर्पण गरेर त्यहाँका विश्वविद्यालयमा पठानपाठन गराउने वातावरण बनाए । उनले प्राथमिक तहदेखि माध्यमिक तहसम्म हातैले सिरिजङ्गा लिपिमा पुस्तक तयार पारे । उनले व्याकरणसँगै याक्थुङ–नेपाली–अंग्रेजी शब्दकोश निर्माणमा पनि विशेष सक्रियता देखाएका थिए ।’

संगीतकारसमेत रहेका मुरिङ्लाले सन् १९८२ मा लेटर प्रेसका लागि र सन् १९९२ मा कम्प्युटरका लागि याक्थुङ लिपि विकास गरेका थिए । जुन सन् २००० मा याक्थुङ चिन्तक जेआर सुब्बाले समेत प्रयोग गरे । सन् १९५२ मा १० वर्षको उमेर छँदा इतिहास र संस्कृतिविद् इमानसिं चेम्जोङलाई भेटेपछि याक्थुङ भाषा लिपिप्रति आकर्षित र प्रेरित भएका थिए ।

मुरिङ्लाले ‘तुम् याक्थुङ निङ्वाफु साप्ला’ र ‘तुम् याक्थुङ निसिगेक् साप्ला’लाई सिक्किममा भाषा अध्ययनका लागि मूल स्रोत पुस्तकहरूका रूपमा मानिन्छन् । सन् १९७५ मा उनी छोग्याल वंशको शासनपछिको समयमा याक्थुङ भाषाको पाण्डुलिपि लेखकका रूपमा नियुक्त भएका थिए । सिक्किममा युमा माङहिम स्थापनामा पनि उनको महत्वपूर्ण भूमिका रहेको थियो ।

मुरिङ्लाको निधनमा सिक्किम राज्यसँगै नेपाल र विदेशमा रहेका भाषिक अभियन्ताहरूले अपुरणीय क्षति भएको भन्दै दु:ख प्रकट गरेका छन् । याक्थुङ मुन्धुमविद् लेखक अर्जुनबाबु माबुहाङले याक्थुङ भाषा लिपि र युमासाम्यो मुन्धुमलाई पुनर्व्याख्या गर्न सक्ने सीमित विद्धान्‌मध्ये एक मुरिङ्लाको निधनले मुन्धुम र भाषा लिपिप्रेमीका लागि अपुरणीय क्षति भएको प्रतिक्रिया दिए । उनको अन्तिम संस्कार जेठ २७ गते याक्थुङ लिम्बु संस्कारअनुसार गरिने सिक्किमबाट प्रकाशित संचारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित : जेष्ठ २६, २०७९ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?