९ वर्षीय नेपाली बालक बेलायतको प्रतिष्ठित क्रिकेट क्लबमा छनोट- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९ वर्षीय नेपाली बालक बेलायतको प्रतिष्ठित क्रिकेट क्लबमा छनोट

नवीन पोखरेल

लन्डन — लन्डन बस्ने एक नेपाली बालक बेलायतको एक प्रतिष्ठित क्रिकेट क्लबबाट खेल्नका लागि छनोट भएका छन् । ९ वर्षीय आर्यन ढुंगाना मिडलसेक्स काउन्टी अन्डर टेन (यू-१०) बरो प्लेयरमा अनुबन्धित भएको उनका बुबा सुरेन्द्र ढुंगानाले जनाए ।

आर्यन 'लेफ्ट ह्यान्डेड' ‘पेस बलर’ र आक्रामक ब्याट्स्म्यान हुन् । उनी सानैदेखि खेलप्रेमी र क्रिकेटप्रति रुची राख्ने गरेको बुबाले बताए ।

'यो आर्यनका लागि सानो खुट्किलो होला तर समस्त बेलायती नेपाली डायस्पोराको खेल क्षेत्रमा ठूलो फड्कोका रुपमा मैले लिएको छु', उनका बुबाले भने ।

एक्टन क्रिकेट क्लब लन्डनमा आइतबार पूर्वइंग्ल्यान्ड क्रिकेटर साजिद महम्मुद र इलिङ क्रिकेट बरो चिफ इजाज हुसेनले आर्यनलाई मिडलसेक्स काउन्टी क्याप हस्तान्तरण गरे । साजिदले आर्यनको क्याप र ब्याटमा हस्ताक्षरसमेत गरेका छन् ।

आर्यनले गतवर्ष अन्डर ८ अन्तर्गत प्रतिष्ठित इलिङ क्रिकेट क्लबमा खेलेर 'प्लेयर अफ दी इयर' उपाधि पाएका थिए । आर्यनका बुबा सुरेन्द्र ढुंगाना चार्टर्ड अकाउन्टेन्ट र आमा सुनिता ढुंगााना इलिङ हस्पिटलमा नर्सको रुपमा कार्यरत छिन् । उनीहरू टिकापुर कैलालीका स्थायी बासिन्दा हुन् ।

आर्यन इलिङस्थित होबबेन प्राइमरी स्कुलमा कक्षा ४ मा अध्ययनरत छन् ।

प्रकाशित : वैशाख १९, २०७९ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा नेपाल अध्ययन दिवस मनाइयो

नवीन पोखरेल

लन्डन — बेलायत–नेपाल प्रज्ञा परिषद्को १९ औं वार्षिक नेपाल अध्ययन दिवस सम्पन्न भएको छ । हरेक वर्ष बेलायतका विभिन्न विश्वविद्यालयमा पालैपालो भौतिक रूपमा आयोजना हुने यो प्राज्ञिक सम्मेलन पहिलोपटक हाइब्रिड मोडल (अनलाइन र भौतिक रूपमा सहभागी) मा गरिएको हो ।

अक्सफोर्ड विश्वविद्यालयमा १३ देखि १४ अप्रिलसम्म आयोजित दुई दिने उक्त सम्मेलनमा नेपाल र नेपालबाहिरको नेपाली समाज र संस्कृतिसँग सम्बन्धित ४१ वटा कार्यपत्र प्रस्तुत गरिए भने २ वटा 'प्यानल डिस्कसन' भएको थियो ।

जीवन शर्माको पुस्तक 'पोलिटिकल इकोनोमी अफ सोसल चेन्ज एण्ड डेभलप्मेन्ट इन नेपाल' (नेपालमा विकास र सामाजिक परिवर्तनको अर्थ–राजनीति) र नेपाल संवाद शीर्षक अन्तर्गत विज्ञहरूद्वारा प्रस्तुति र छलफल गरिएको हो । उमा प्रधान, कुमुद राना र निमेश ढुंगानाले सञ्चालन गरेको नेपाल संवादमा डा. जनक राई, डा. सारा पार्कर र सोहन साह सहभागी थिए ।

१०७ जना सहभागी सम्मेलनले परिषद्को नयाँ नेतृत्व चयन गरेको छ । परिषद्का अध्यक्ष डा. कृष्ण अधिकारीको अध्यक्षतामा भएको साधारण सभामा तीन जना पदाधिकारीको निर्वाचन भई लिभरपुल जोन मुर्स विश्वविद्यालयकी डा. सारा पार्कर अध्यक्षतामा डा. जीवनराज शर्मा महासचिव र डा. फ्रेजर सुगडेन कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

परिषदमा हरेक वर्ष चार–चार जना सदस्यको पदावधि सकिने र नयाँ चार जना सदस्यको निर्वाचन र एक वर्ष पदाधिकारीको निर्वाचन हुने व्यवस्था छ । निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्ष हुनेछ । नयाँ व्यक्तिहरूले संस्थामा सेवा गर्न पाउन् र प्रजातान्त्रिक व्यवस्था बलियो रहोस् भनेर परिषदले यस्तो अभ्यास गर्दै आएको छ ।

संस्थाको १५ सदस्यीय कार्यसमितिमा डा. कृष्ण अधिकारी, प्राध्यापक डेभिड गेल्नर, प्राध्यापक माइकल हट, डा. बेन क्याम्पबेल, डा. स्टेफानी लोटर, डा. तेजेन्द्र फेराली, प्राध्यापक पदम सिम्खडा, सपना विष्ट, डा. कुमुद राना, डा. सुष्मा बस्नेत, डा. हेइडी राइली र डा. उमा प्रधान रहेका छन् । सम्मेलनमा डा. कृष्ण अधिकारीले परिषद्को अध्यक्षको चार वर्षे कार्यकाल सम्पन्न गरि नेतृत्व हस्तान्तरण गरे ।

सन् २०१४ मा परिषद्को महासचिवमा निर्वाचित हुनु अगाडि डा. अधिकारीले संस्थाको कार्यकारी समितिमा रहेर केही वर्ष काम गरेका थिए । सन् २०१८–२०२२ सम्म अध्यक्षको हैसियतले एक प्रतिष्ठित संस्थामा नेपाल अध्येता अग्रज तथा मित्रहरूसंग सहकार्य गर्दै संस्थाको सेवा गर्न पाएकोमा गौरव लागेको अधिकारीले जनाएका छन् ।

'आठ वर्षअगाडि २५ अप्रिल २०१४ का दिन यसै कोठा (६४ बानबरी रोड, अक्सफोर्ड विश्वविद्यालय) मा आयोजित परिषद्को साधारण सभाबाट मैले संस्थाको महासचिवको औपचारिक जिम्मेवारी लिएको थिएं । आज संयोगवश यहीं संस्थाको अध्यक्षको हैसियतले आफ्ना जिम्मेवारी विसर्जन गरेको छु’, अधिकारीले मन्तव्यका क्रममा भने । उनले आगामी दिनमा पदेन सदस्यको रूपमा कार्यसमितिमा रही नयां नेतृत्वलाई सहयोग गर्ने पनि बताए ।

यसैबीच, नेपाल अध्ययन दिवसमा दुई जनालाई 'विद्यावारिधि शोधपत्र पुरस्कार २०२२' प्रदान गरिएको छ । सिंगापुरकी हेमा किरुपालिनी र नर्भेका मिकेल भिन्डेकले उक्त पुरस्कार पाएका हुन् । १५ जना विद्यावारिधि शोधकर्ता सहभागी उक्त प्रतिस्पर्धामा अस्ट्रेलिया निवासी अमृता लिम्बु रनरअप भइन् ।

प्रकाशित : वैशाख २, २०७९ १६:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×