बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा नेपाल अध्ययन दिवस मनाइयो- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा नेपाल अध्ययन दिवस मनाइयो

नवीन पोखरेल

लन्डन — बेलायत–नेपाल प्रज्ञा परिषद्को १९ औं वार्षिक नेपाल अध्ययन दिवस सम्पन्न भएको छ । हरेक वर्ष बेलायतका विभिन्न विश्वविद्यालयमा पालैपालो भौतिक रूपमा आयोजना हुने यो प्राज्ञिक सम्मेलन पहिलोपटक हाइब्रिड मोडल (अनलाइन र भौतिक रूपमा सहभागी) मा गरिएको हो ।

अक्सफोर्ड विश्वविद्यालयमा १३ देखि १४ अप्रिलसम्म आयोजित दुई दिने उक्त सम्मेलनमा नेपाल र नेपालबाहिरको नेपाली समाज र संस्कृतिसँग सम्बन्धित ४१ वटा कार्यपत्र प्रस्तुत गरिए भने २ वटा 'प्यानल डिस्कसन' भएको थियो ।

जीवन शर्माको पुस्तक 'पोलिटिकल इकोनोमी अफ सोसल चेन्ज एण्ड डेभलप्मेन्ट इन नेपाल' (नेपालमा विकास र सामाजिक परिवर्तनको अर्थ–राजनीति) र नेपाल संवाद शीर्षक अन्तर्गत विज्ञहरूद्वारा प्रस्तुति र छलफल गरिएको हो । उमा प्रधान, कुमुद राना र निमेश ढुंगानाले सञ्चालन गरेको नेपाल संवादमा डा. जनक राई, डा. सारा पार्कर र सोहन साह सहभागी थिए ।

१०७ जना सहभागी सम्मेलनले परिषद्को नयाँ नेतृत्व चयन गरेको छ । परिषद्का अध्यक्ष डा. कृष्ण अधिकारीको अध्यक्षतामा भएको साधारण सभामा तीन जना पदाधिकारीको निर्वाचन भई लिभरपुल जोन मुर्स विश्वविद्यालयकी डा. सारा पार्कर अध्यक्षतामा डा. जीवनराज शर्मा महासचिव र डा. फ्रेजर सुगडेन कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

परिषदमा हरेक वर्ष चार–चार जना सदस्यको पदावधि सकिने र नयाँ चार जना सदस्यको निर्वाचन र एक वर्ष पदाधिकारीको निर्वाचन हुने व्यवस्था छ । निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्ष हुनेछ । नयाँ व्यक्तिहरूले संस्थामा सेवा गर्न पाउन् र प्रजातान्त्रिक व्यवस्था बलियो रहोस् भनेर परिषदले यस्तो अभ्यास गर्दै आएको छ ।

संस्थाको १५ सदस्यीय कार्यसमितिमा डा. कृष्ण अधिकारी, प्राध्यापक डेभिड गेल्नर, प्राध्यापक माइकल हट, डा. बेन क्याम्पबेल, डा. स्टेफानी लोटर, डा. तेजेन्द्र फेराली, प्राध्यापक पदम सिम्खडा, सपना विष्ट, डा. कुमुद राना, डा. सुष्मा बस्नेत, डा. हेइडी राइली र डा. उमा प्रधान रहेका छन् । सम्मेलनमा डा. कृष्ण अधिकारीले परिषद्को अध्यक्षको चार वर्षे कार्यकाल सम्पन्न गरि नेतृत्व हस्तान्तरण गरे ।

सन् २०१४ मा परिषद्को महासचिवमा निर्वाचित हुनु अगाडि डा. अधिकारीले संस्थाको कार्यकारी समितिमा रहेर केही वर्ष काम गरेका थिए । सन् २०१८–२०२२ सम्म अध्यक्षको हैसियतले एक प्रतिष्ठित संस्थामा नेपाल अध्येता अग्रज तथा मित्रहरूसंग सहकार्य गर्दै संस्थाको सेवा गर्न पाएकोमा गौरव लागेको अधिकारीले जनाएका छन् ।

'आठ वर्षअगाडि २५ अप्रिल २०१४ का दिन यसै कोठा (६४ बानबरी रोड, अक्सफोर्ड विश्वविद्यालय) मा आयोजित परिषद्को साधारण सभाबाट मैले संस्थाको महासचिवको औपचारिक जिम्मेवारी लिएको थिएं । आज संयोगवश यहीं संस्थाको अध्यक्षको हैसियतले आफ्ना जिम्मेवारी विसर्जन गरेको छु’, अधिकारीले मन्तव्यका क्रममा भने । उनले आगामी दिनमा पदेन सदस्यको रूपमा कार्यसमितिमा रही नयां नेतृत्वलाई सहयोग गर्ने पनि बताए ।

यसैबीच, नेपाल अध्ययन दिवसमा दुई जनालाई 'विद्यावारिधि शोधपत्र पुरस्कार २०२२' प्रदान गरिएको छ । सिंगापुरकी हेमा किरुपालिनी र नर्भेका मिकेल भिन्डेकले उक्त पुरस्कार पाएका हुन् । १५ जना विद्यावारिधि शोधकर्ता सहभागी उक्त प्रतिस्पर्धामा अस्ट्रेलिया निवासी अमृता लिम्बु रनरअप भइन् ।

प्रकाशित : वैशाख २, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्

बेलायतमा रथ तानेर पहिलोपटक बिस्का जात्रा

नवीन पोखरेल

लन्डन — बेलायतमा पहिलोपटक उल्लासका साथ बिस्का जात्रा मनाइएको छ । पासा पुचः गुथी यूकेले आइतबार साउथ इस्ट लन्डनको प्लमस्टिडस्थित एसियन कम्युनिटी सेन्टरमा आयोजना गरेको जात्रामा नेवा तथा गैर नेवा समुदायका ८ सयभन्दा बढी नेपालीको सहभागिता रह्यो । पासा पुचः यूकेले हरेक दुई वर्षमा बेलायतमा गर्दै आएको नेवाः मुनाको अवसरमा यसपटक बिस्का जात्रा पनि गरिएको हो ।

जात्रामा गुथीका स्वयंसेवकहरुद्वारा लन्डनमै निर्माण गरिएका भैरव र भद्रकालीको रथ तानिएको थियो । सुरुमा परम्परागत शैलीमा रथ तानेर लिंगो ठड्याइएको थियो भने पछि फेरि रथ तान्दै लिंगो ढालेर रथ जुधाइएको थियो ।

रथ तानिएपछि कम्युनिटी हलमा आयोजित नेवा मुना, ने सं ११४२ लाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र आचार्यले नेपालबाट यति टाढा आफ्नो देशको, क्षेत्रको, कला संस्कृति, भाषा, भेषभूषाको संरक्षण गर्नु उदाहरणीय भएको भन्दै बधाइ दिए । कार्यक्रमले नेपालको सांस्कृतिक महत्त्व एवं एकताको भावना प्रदर्शन गरेको राजदूतले बताए ।

साउथ इस्ट लन्डन र वेस्ट लन्डनको समूहले एक एकवटा रथ बनाएको थियो । रथ बनाउन तीन हप्ता अवधिमा झण्डै २ सय घण्टा बढी समय र करिब ४ हजार पाउन्ड खर्च भएको आयोजक पासा पुचः गुथी यूकेका अध्यक्ष ओजेश सिंहले बताए ।

'रथ बनाउन निकै चुनौति थियो । भक्तपुरको जस्तो रथ नभए पनि त्यहाँको जस्तै बनाउने प्रयास गर्यौं', सिंहले भने, 'बेलायतमा पनि नेवा कला संस्कृति र परम्पराको जगेर्ना एवं अपनत्वको भावना जगाइराख्न बिस्का जात्रा गरिएको हो ।'

अध्यक्ष सिंहले गुथी बेलायतको च्यारिटी संस्था भएको जनाउंदै यसले धेरै कल्याणकारी काम गरेको र कोभिड महामारीका बेला एकसय वटा कन्सन्ट्रेटर नेपाल पठाएको जानकारी दिए ।

बेलायतमा नेवाः कला संस्कृति, रितिथिति, परम्परा भेषभूषा, बाजागाजा, पर्व र जात्राहरु जगेर्ना गर्ने गुथिको उद्देश्य रहेको बिस्का जात्रा लन्डन व्यवस्थापक एवं पासा पुचः गुथी यूकेका उपाध्यक्ष सुशील प्रजापतिले बताए । प्रजापतिले भक्तपुरमा बिस्का जात्रामा हुलदंगा, ढुंगा हानाहान भए पनि लन्डनमा शान्तिपूर्ण रुपमा जात्रा गरिएको जनाउँदै भक्तपुरले पनि बेलायतबाट सन्देश लिओस् भन्ने कामना गरे । नेवा मुनाको संयोजन पासा पुच गुथी साउथ इष्ट लन्डनका अध्यक्ष माधवलाल श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा भैरव नाच, हुलां प्याखं, महिला तथा बच्चाहरुले समेत परम्परागत धिमे बाजा, ढां बाजा प्रस्तुत गरेका थिए । सो अवसरमा शैक्षिक योग्यता हासिल गरेका विद्यार्थीलाई अवार्ड वितरण गरिएको थियो ।

नयाँ वर्षको आगमनसंगै तान्त्रिक विधिबाट मनाइने परापूर्वकालदेखि चलिआएको भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको लिच्छवीकालीन बिस्का (बिस्केट) जात्रा लन्डनमा पनि निरन्तर गर्ने गुथीको योजना छ ।

बिस्केट अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रा नयां वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुन्छ ।

प्रकाशित : चैत्र २९, २०७८ ०८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×