गोविन्दको कला:लन्डन हुँदै दुबई- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोविन्दको कला:लन्डन हुँदै दुबई

नवीन पोखरेल

लन्डन — कक्षा कोठामा लेखपढ भन्दा चित्र कोरेर समय बिताउन रमाउँथे उनी । न प्रशिक्षण, न पढाइ । भित्तामा जे देख्यो त्यही उतार्न तम्सिने उनको जोश थियो । पढाइमा तेज छोरालाई इन्जिनियर बनाउने बाबुआमाको चाहना उनको चित्रकला लहड अगाडि के लाग्थ्यो र ? 

सप्तरी राजविराजका गोविन्दप्रसाद साह साथीकै उक्साहटमा भागेर दिल्ली पुगे साइनबोर्ड लेख्न । उनको साथी साइनबोर्ड लेख्ने काम गर्दथ्यो । गोविन्दले एसएसलसी पास भएको पनि धेरै पछि दिल्लीमै थाहा पाएका थिए ।

सन् १९९१ देखि ०९४ सम्म दिल्लीमा बस्दा उनले सुरुमा केही महिना साइनबोर्ड र भित्तामा लेख्ने काम गरे, पछि मारुती फ्याक्ट्रीमा रंगरोगनकै काम थाले । जीविकोपार्जनका लागि कमाइ राम्रै भएपनि गोविन्दको चाहना व्यवसायिक कलाकार बनेर विश्व जगतमा छाउने थियो । उनी त्यहाँ धेरै टिकेनन् ।

करिब ५ वर्षपछि सन् १९९५ मा काठमाडौं फिरे । भौतारिँदै जाँदा उनले सामाखुशीमा कलाकार कृष्णगोपाल रन्जितलाई भेटे । गोविन्दले आफ्नो इच्छा कृष्णगोपाललाई बताएपछि उनले आफैं चित्र कोर्न नसिकाउने बरु भोटाहिटी ललितकला क्याम्पस जान सुझाए ।

२०५१ साल तिर उनले कला अध्ययन अगाडि बढाए । अध्ययनका क्रममा उनले विभिन्न सामूहिक प्रदर्शनीमा भाग लिएर सन् १९९९ मा एकल चित्रकला प्रदर्शनी गर्न सफल भए ।

सन् २००३ मा ललितकलाबाट बीएफए उत्तिर्ण गरेपछि गोविन्दले सन् २००६ तिर ढाकाको युनिभर्सिटी अफ डेभलप्मेन्ट अल्टरनेटिभबाट फाइन आर्टमा एमए गर्ने अवसर पाए । लगत्तै सन् २००८ मा लन्डनको वीम्बल्डन कलेज अफ आर्टबाट फेरि एमएफए गरे ।

सन् २००७ मा लन्डन टेकेका गोविन्दप्रसाद साह 'आजाद' अहिले अन्तर्राष्ट्रिय कलाकारको रुपमा स्थापित छन् । उनी सेन्ट्रल लन्डनस्थित प्रख्यात आर्ट ग्यालरी अक्टोबर ग्यालरीसँग आवद्ध छन् ।

अक्टोबर ग्यालरीमा उनको पहिलो चित्रकला प्रदर्शनी सन् २०११ मा भएको थियो । त्यसको वर्षदिनपछि सन् २०१२ मा रोयल एकेडेमी अफ आर्टस् लन्डनमा समर एक्जिविसनमा उनका चित्र सामेल भए ।

सन् २०१३ मा अक्टोबर ग्यालरीमै गोविन्दको दोस्रो र सन् २०१६ मा तेस्रो एकल चित्रकला प्रदर्शनी भयो । गोविन्द अक्टोबर ग्यालरीमा केही साताअघि फेरि उदाए । गत फेब्रुअरी २ देखि मार्च १२ सम्म करिब ५ हप्ता चलेको प्रदर्शनीमा उनका करिब ५० चित्र थिए । एसिया (जापान, चीन, साउथ कोरिया र नेपाल) मुलका अन्तर्राष्ट्रिय कलाकारहरुका चित्र उक्त प्रदर्शनीमा सामेल थिए ।

यतिखेर गोविन्द फाइन आर्ट अध्ययनरत विद्यार्थीसँग अन्तरक्रिया गर्न दुबई पुगेका छन् । २९ मार्चमा टक शो सकेर उनी ३० मार्च मा लन्डन फर्कने कार्यक्रम छ ।

चित्रकला संकलनका सौखिन रमिज मोमिनले आयोजना गरेको 'भ्वाइस अफ आर्ट' 
अन्तरक्रियात्मक सेसनमा पिकासोसँग दाजिने एमएफ हुसेन पनि सहभागी हुँदैछन् ।

यो कार्यक्रम आफ्ना लागि बेग्लै महत्वको भएको साहले बताए । नेपाली राजदूतसमेत सहभागी हुने बताइएको उक्त कार्यक्रममा उनले फाइन आर्ट पढिरहेका किशोरकिशोरीसँग साक्षात्कार 
गर्नेछन् । दुबईको शाही परिवारले सन् २०११ देखि नै आफ्नो चित्र किनेकाले दुबईसँग उनको बेग्लै भावनात्मक सम्बन्ध गाँसिएको छ ।

इङ्ल्याण्डमा उनी पूर्ण रुपमा यही पेशामा व्यस्त छन् । विश्वका कयौं देशमा आफ्नो चित्र पुगेको बताउने उनले आफ्नो एउटा चित्र ३० लाख रुपैयाँसम्म बिक्री भएको बताए ।

उनका चित्र अमूर्त हुन्छन् । पहिला हिमाल, ल्याण्डस्केप, मठ मन्दिर, मानिस आदिको चित्र कोर्थे उनी । तर अहिले अमूर्त पेन्टिङमा रमाइरहेका छन् साह ।

'मेरो अमूर्त पेन्टिङले मनको भाव व्यक्त गर्छ, सबैलाई टच गर्ने भएर मानिसहरु मेरो कला रुचाउँछन्', उनले भने, 'संगीत सुनेर मानिस रोए जस्तै मेरो चित्रले पनि मन पगाल्छ । कतिपय मानिसहरु पेन्टिङको अगाडि रुन्छन् ।'

क्यानभासमा तेल र एक्रेलिक कलर (पानी रंग) प्रयोग गर्ने उनी आर्टमा थ्योरी नहुने बताउँछन् । 'पहिला आर्ट हुन्छ अनि पछि थ्योरी'- उनले प्रष्टयाए-'आर्ट जति सिक्यो उति व्यापकता हुने रहेछ ।'

पश्चिमी देशहरुले समाज निर्माणमा कला, दर्शन र विज्ञानलाई मेरुदण्ड माने पनि नेपालमा यो अभ्यास नभएको उनले सुनाए ।

'हामीले अझै यसको महत्व बुझेका छैनौं', उनले भने, 'अन्तर्राष्ट्रिय बजारमा नेपाली कलाकार कम भएकाले नेपाली आर्टलाई प्रवर्द्धन गर्न सकिएको छैन ।'


प्रकाशित : चैत्र १६, २०७८ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्

प्याडको सट्टा ‘पिरियड प्यान्ट’

अन्तर्राष्ट्रिय बजारमा ख्याति कमाउँदै नेपाली युवती
नवीन पोखरेल

लन्डन — विद्यार्थीका रूपमा एक दशकअघि लन्डन छिर्दा रुबिना राउतसँग संघर्ष र पीडाको बोध थियो । नयाँ परिवेशमा जागिर नपाउँदाको पिरलो र आर्थिक अभावका बाबजुद अध्ययन अघि बढाउनु ठूलो चुनौती पनि थियो । पाँचथरमा जन्मिएकी उनी सन् २०१० मा लन्डन आएकी हुन् ।

पढाइपछि पनि जागिर नपाएर उनी च्यारिटी संस्थामा स्वयंसेवक बन्न बाध्य भइन् । रुबिना अहिले तिनै कहालीलाग्दा दिनलाई सपना जस्तै ठानिरहेकी छन् ।

हाल बेलायती बजारमा महिला उद्यमीका रूपमा उनको सफलता लोभलाग्दो छ । उनी सन् २०१७ मा स्थापित स्टार्ट अप ‘उका’ नामक कम्पनीको सीईओ हुन्, जसले पिरियड प्यान्ट (महिनावारीमा लगाउने कट्टु) बिक्री गर्छ । सुरुमा रुबिनाले क्राउड फन्डिङबाट ८ हजार पाउन्ड जुटाइन्, जसबाट २ हजार पिरियड प्यान्ट बनाउन सकिन्थ्यो ।

अपरिचित १ सय २० जनाले रुबिनाको ‘आइडिया’ मन पराएर आर्थिक सहयोग गरेका थिए । वेबसाइट, ब्रान्डिङ र प्रविधिमा उनका श्रीमान् डेभ स्लोकोम्बले सहयोग गरे । सानो स्केलबाट व्यवसाय सुरु गरेकी उनले अहिले मासिक तीन लाख पिरियड प्यान्ट बिक्री गर्छिन् । बेलायतको तेस्रो ठूलो सुपरमार्केट चेन सेन्सबरीका २ सय १० वटा स्टोरबाहेक निजी पसल, युरोप र साल्भाडोरसम्म उनको उत्पादन पुगेको छ ।

‘पिरियड प्यान्ट प्रयोगले महिनावारी हुँदा सेनेटरी प्याड लगाउने झन्झट नहुने, शारीरिक सहजता हुने, दुई वर्षसम्म पुनः प्रयोग गर्न मिल्ने, रगत सोस्ने र नचुहिने हुँदा युरोपमा धेरै प्रभावकारी मानिएको छ,’ रुबिनाले भनिन्, ‘यो पिरियड वेयरले २ सयवटा प्याड जोगाउने भएकाले नेपालजस्तो अल्पविकसित देशमा सस्तो र बढी उपयोगी हुने मेरो विश्वास छ ।’ बेलायतमा १२ पाउन्ड प्रतिमूल्य परे पनि नेपालमा न्यून आयस्रोत भएका महिलालाई च्यारिटी संस्थामार्फत सुपथ मूल्यमा वितरण गर्न सकिने रुबिना बताउँछिन् । चीनमा यसको कारखाना भएकाले नेपाल आपूर्तिमा सहज हुने उनको भनाइ छ । अहिले उकाले नेपालमा ‘डे फर गर्ल्स’ च्यारिटीलाई निःशुल्क पिरियड प्यान्ट बाँडिरहेको उनले बताइन् ।

आफ्नो उत्पादन वातावरणीय प्रदूषण न्यूनीकरणमा पनि सहयोगी हुने रुबिनाको भनाइ छ । किशोरी अवस्थामा अलग्गै वा छाउगोठमा बस्नुपर्ने नेपाली परिवेशबारे उनी जानकार छिन् । जसले गर्दा पिरियड प्यान्टको परिकल्पनाले मूर्तरूप लियो ।

‘नेपालमा महिनावारी हुँदा गरिने दुर्व्यवहार र सोच परिवर्तन गर्ने अभियानमा छु । वातावरणीय प्रतिकूलता न्यूनीकरण मेरो अर्को उद्देश्य छ,’ उनले सुनाइन् । फिजिसियन तथा जनस्वास्थ्य विज्ञ डा. सागर पौडेल नेपालमा महिनावारी विभेद बढिरहँदा यसलाई ‘बायोलोजिकल फेनोमेना’ का रूपमा लिन आवश्यक रहेको बताउँछन् । ‘नेपालमा लैंगिक हिंसा अन्त्यका लागि पनि मर्यादित महिनावारी जरुरी छ,’ उनले भने, ‘महिलालाई झन् बढी रेखदेख चाहिने बेला घृणा गर्ने परिपाटी अन्त्य हुनुपर्छ ।’

प्रकाशित : चैत्र ९, २०७८ ०९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×