कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चीनमा अलपत्र नेपालीको उद्धारमा कठिनाइ 

लक्ष्मी लम्साल

बेइजिङ — विगत ६ महिनादेखि चीनको एउटा हिरासतमा रहेका नेपालीको पर्याप्त प्रमाण अभावका कारण उद्धारमा कठिनाइ भएको छ। हङकङसँग सीमा जोडिएको क्वाङ्तोङ प्रान्तमा अवैध तरीकाले प्रवेश गरेका ती नेपालीको आवश्यक कागजात अभावमा उद्धार गर्न सकस परेको हो। 

चीनमा अलपत्र नेपालीको उद्धारमा कठिनाइ 

आफूलाई नेपाली बताउने र नेपाली भाषामा पनि बोल्नसक्ने करीब ६९ वर्षीय ती व्यक्तिले आफूसँग कुनै कागजात नरहेको बताएका छन्। सन् १९५३ मार्च ३ मा जन्मेका दिङ्री बन्धु श्रेष्ठ नाम बताउने ती व्यक्ति हाल क्वाङ्तोङ प्रान्तकै अर्को सहर तोङ्क्वानस्थित नगर सार्वजनिक सुरक्षा ब्युरोको नियन्त्रणमा छन्।

ब्युरोले क्वाङ्चौस्थित नेपाली महावाणिज्य दूतावास समक्ष पत्राचार गर्दै सम्बन्धित व्यक्ति यदि नेपाली हुन् भने आवश्यक कागजात उपलब्ध गराएर रिहाई प्रक्रियाका लागि पहल गर्न भनेको छ।

काठमाडौंको बूढानीलकण्ठ वडा नं ५ घर बताउने निज अविवाहित श्रेष्ठले नेपालमा कुनै आफन्त र परिवार नरहेको, नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी समेत आफूसँग नभएको, नेपालमा उद्धार प्रक्रियाका लागि कुनै नातेदार पनि नभएको बताएका छन्। पर्याप्त विवरण संकलन हुन नसक्दा निजको उद्धारमा समस्या भएको नेपाली महावाणिज्य दूतावासले जनाएको छ।

यसअघि महावाणिज्य दूतावासका अधिकारीहरूले भेटेका बेला ती व्यक्तिले नेपाली भाषामै कुराकानी गरेका थिए। त्यसक्रममा पनि निजले आफ्नाबारे विस्तृत विवरण दिन नसकेको क्वाङ्चौ महावाणिज्य दूतावासले कान्तिपुरलाई बतायो।

प्रकाशित : फाल्गुन १०, २०७८ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?