कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायतमा नेपाली युवालाई लागूऔषध कारोबारमा ३८ महिना जेल सजाय

नवीन पोखरेल

लन्डन —  बेलायतको अदालतले लन्डन निवासी एक नेपाली युवालाई लागूऔषध (क्लास ए ड्रग्स) कारोबारमा दोषी ठहर गर्दै ३८ महिना जेल सजाय सुनाएको छ ।

बेलायतमा नेपाली युवालाई लागूऔषध कारोबारमा ३८ महिना जेल सजाय

लन्डन ह्यारो निवासी २४ वर्षीय निखिल लामालाई लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा गिल्डफोर्ड क्राउन कोर्टले ४ फेब्रुअरीमा ३८ महिना (तीन वर्ष २ महिना) जेल सजाय सुनाएको सर्रे 
प्रहरीले बिहीबार जनाएको छ ।

प्रहरीले लामालाई गत ७ सेप्टेम्बर २०२० मा गिरफ्तार गरेको थियो । ए ३० र स्टयानवेल न्यू रोड जक्सनमा प्रहरीले रोकेपछि लामाले प्रहरी अधिकृतलाई दिएको बयान अपरिपक्व र शंकास्पद देखिएको थियो ।

त्यसपछि प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । लामा सवार गाडीलाई प्रहरीको कुकुर ल्याएर खानतलासी गर्दा ६५ पोका क्रयाक कोकिन, कोकिन र नगद एक हजार पाउण्ड भेटिएको थियो । लामाले हाँकेको कारको इन्सयोरेन्स गरिएको पनि थिएन ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृत पिसी जोसुवा मुरेले भनेका छन्, 'कार रोकेर लामाको गिरफ्तारीको परिणाम सरे पुलिसले देशमा लागूऔषध अपराध नियन्त्रणमा कसरी काम गरिरहेको छ भन्ने देखिएको छ ।'

उनले सर्वसाधारणलाई शंकास्पद लागूऔषध गतिविधिबारे जानकारी भए दिन आग्रह गर्दै यसबाट संगठित लागूऔषध अपराधको वास्तविक चित्र थाहा हुने बताए ।

लामाको रेकर्ड हेर्दा उनी यसअघि पनि लुटपाट र लागू औषध कारोबारमा संलग्न भएर जेल सजाय पाइसकेको देखिन्छ । पछिल्लो समय बेलायतस्थित नेपालीहरु विभिन्न अपराधमा फस्दै गएका छन् । लागूऔषध, लुटपाट, बालबालिकासंग सेक्स च्याट जस्ता अपराधमा नेपालीको संलग्नता बढेको हो ।

हयाम्पसायर प्रहरीमा आवद्ध एक नेपाली अधिकृतले केही दिनअघिमात्र नेपाली युवा बालबालिकासँग यौनजन्य अपराधमा संलग्न हुने क्रम बढेको जनाउँदै यो चुनौतिका रुपमा देखिएको बताएका थिए । उनले यस्ता गतिविधिप्रति सजग रहन आग्रह गर्दै नेपाली भाषामै एक सन्देशमूलक सामग्री समेत प्रकाशन गरेका थिए ।

प्रकाशित : माघ २८, २०७८ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?