कोरियाले सन् २०२२ मा नेपालीसहित ६६ हजार कामदार ल्याउने

गोकुल थोकर

सोल — दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तरगत सन् २०२२ मा ६६ हजार विदेशी कामदार भित्र्याउने भएको छ । शुक्रबार बसेको विदेशी कामदार कोटा निर्धारण समितिको बैठकले आगामी वर्षका लागि यो कोटा निर्धारण गरेको हो ।

कोरियाले सन् २०२२ मा नेपालीसहित ६६ हजार कामदार ल्याउने

कोरियाले नेपालसहित पाकिस्तात, श्रीलङ्का, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्बेकस्थान, कम्बोडियासहित १६ वटा देशबाट विदेशी कामदार ल्याउने गर्छ । सन् २०२२ को लागि उत्पादनमूलक क्षेत्रमा ४३ हजार, कृषि तथा पशुपालन क्षेत्रमा ९ हजार ९ सय ३० जना विदेशी कामदार कोरिया आउन पाउने छन् ।

माछापालन क्षेत्रमा ४ हजार ६ सय ४० जना तथा निर्माण क्षेत्रमा ३ हजार ९ सय ७० जना विदेशी कामदार कोरिया आउने छन् । त्यस्तै सेवा क्षेत्रमा २ सय ६० जना विदेशी कामदार भित्र्याउने निर्णय गरेको छ ।

उक्त कोटामध्ये कोरियाली भाषा पास गरेर बसेका नयाँ कामदारको रुपमा ४२ हजार ५ सय ३० जना र २३ हजार ४ सय ७० कमिटेड (प्रतिबद्ध कामदार) कामदारको रुपमा कोरिया आउन पाउने छन् ।

यस्तै एक वर्ष कुनै कम्पनीमा निरन्तर काम गरे कम्पनीले चाहेमा कमिटेड कामदारको रुपमा डाक्नसक्ने नियम रहेको छ । नेपालबाट कोरोना महामरीभन्दा पहिले बर्सेनि ५ हजारभन्दा बढी कामदार कोरिया आउने गरेका थिए ।

कृषि र उत्पादनमुलक क्षेत्रमा मात्रै आउने भए पनि नेपाली कामदारको संख्या उल्लेखनीय रहँदैआएको छ । महामरीका कारण लामो समयदेखि रोकिएको नयाँ तथा कमिटेड कामदार ल्याउने कार्य अहिले सुचारु भइरहे पनि यो वर्ष सिमित मात्र कामदार कोरिया आएका छन् ।

यो वर्ष ५२ हजार कामदार कोरिया ल्याउने योजना भए पनि कोरोना महामरीका कारण सम्भव नभएकोले सन् २०२२ का लागि विदेशी कामदारको कोटा बढाएर ६६ हजार पुर्‍याएको हो । गत वर्ष पनि ५६ हजार कोटा निर्धारण गरिएकोमा ३० हजार कामदार मात्रै कोरिया आएका थिए ।

यस्तै तत्कालको लागि कामदारको अभाव नहोस् भनेर जनवरी १ देखि अप्रिल १२ तारिखसम्म भिसा अवधि सकिन लागेका विदेशी कामदारहरूलाई थप १ वर्ष बस्न दिने निर्णय गरेको कोरियाली श्रम मन्त्रालयले जनाएको छ ।

प्रकाशित : मंसिर २५, २०७८ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?