३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

इंग्ल्यान्डको काउन्टी काउन्सिलमा पहिलो पटक नेपाली मूलका उम्मेदवार

नवीन पोखरेल

लन्डन — इंग्ल्यान्डको काउन्टी काउन्सिलमा पहिलो पटक नेपाली मूलका उम्मेदवार छनोट भएका छन् । हाल नर्थ योर्कसायरकै कोलबर्न टाउन काउन्सिलर डा. जगन्नाथ शर्मा नर्थ योर्कसायर काउन्टी काउन्सिलमा काउन्सिलर उम्मेदवार छनोट भएका हुन् ।

इंग्ल्यान्डको काउन्टी काउन्सिलमा पहिलो पटक नेपाली मूलका उम्मेदवार

शर्मा आउँदो मे २०२२ मा हुने निर्वाचनका लागि कन्जरभेटिभ पार्टीबाट उम्मेदवार छनोट भएका हुन् । उनले उम्मेदवार छनोट प्रक्रियामा ९५ प्रतिशत मत पाएका थिए । नर्थ योर्कसायर इंग्ल्यान्डको ठूलो काउन्टी मानिन्छ । शर्मा काउन्टी काउन्सिलरमा उठ्ने नेपालीमू लबाट पहिलो हुन् । अन्य नेपाली काउन्टीभन्दा तल्लो तह बरो काउन्सिलसम्म मात्र पुगेका छन् ।

उम्मेदवार छनोट अघि डा. शर्माले सार्वजनिक यातायात सेवामा सुधार, काउन्सिल ट्याक्स घटाउने, नयां जागिर र व्यवसाय सृजना, स्वास्थ्य सेवा सुधार, भूतपूर्व गोर्खाको समान पेन्सन मुद्दामा सहयोग, बेलायत र नेपाल सरकार तथा जनता जनताबीच सुमधुर सम्वन्ध विस्तार, सुरक्षित सडक, कन्जरभेटिभ पार्टीको नीति तथा विचार प्रवर्धन एवं बहुसांस्कृतिक काउन्टी बनाउने प्रतिवद्धता तथा प्राथमिकता प्रस्तुत गरेपछि ९५ प्रतिशत कन्जरभेटिभ सदस्यहरुले मत दिएका थिए ।

रोयल आर्मी मेडिकल कोर्पस्मा रिजर्भड आर्मी अफिसर समेत रहेका शर्मा सन् २०१२ देखि काउन्सिलर छन् । उनी कोर्लबर्न टाउनको डेपुटी मेयर र मेयर भइसकेका छन् । बेलायती अर्थमन्त्री ऋषि सुनाकको निर्वाचन क्षेत्र रिचमण्डसायरमा उनी कन्जरभेटिभ पार्टीको उपाध्यक्ष हुन् । शर्माले आफूलाई अर्थमन्त्री सुनाकले उम्मेदवार छनोट भएकामा बधाई तथा शुभकामना दिँदै चुनावका लागि प्रचारप्रचारमा सहभागी भएर सहयोग गर्ने वचन पनि दिएको बताए ।

पर्वत बिहादी रानीपानीका शर्मा बेलायती रक्षा मन्त्रालयअन्तर्गत क्याट्रिक ग्यारिसनको डिपार्टमेन्ट प्रमुख सुपरिटेन्डेन्ट पनि हुन् । सन् २००१ मा बेलायत आएका शर्मा सन् २००३ देखि बेलायती रक्षा मन्त्रालयको जागिरमा प्रवेश गरेका थिए  ।

स्पोर्टस् मेडिसिनमा विद्यावारिधि गरेका डा. शर्मा जनस्वास्थ्य तथा संक्रामक रोग विशेषज्ञ पनि हुन् । उनका स्वास्थ्यसम्बन्धी कैयौं जर्नल प्रकाशित छन् । रक्षा मन्त्रालय प्रवेश गर्नुअघि सन् २००१ देखि २००३ सम्म उनी नेशनल हेल्थ सर्भिस् (एनएचएस) मा पनि जागिरे थिए ।

शर्मा बेलायतभित्र तथा बाहिरी मुलुकमा आपतकालीन स्वास्थ्य सम्बन्धि सहायता तथा तालिम प्रदान गर्ने इमर्जेन्सी हयूमेनिटेरियन मेडिकल टिममा पनि सदस्य छन् ।

प्रकाशित : मंसिर २०, २०७८ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?