भेट्रान कपको उपाधि एकेएफसीलाई

नारायण खड्का

अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियामा पहिलोपटक शनिबार आयोजना गरिएको भेट्रान फुटबल कपको उपाधि एडिलेड खुकुरी फुटबल क्लब (एकेएफसी) ले जितेको छ । प्रतिस्पर्धी नेपाली पाठशालाको निलो टीमलाई ७–१ ले हराउँदै उक्त क्लबले उपाधि चुमेको हो ।

भेट्रान कपको उपाधि एकेएफसीलाई

यहाँ रहेको नेपाली तथा नेपालीभाषी ३५ वर्षमाथिकाको ६ वटा क्लब सम्मिलित प्रतियोगिता लिग चरणमा खेलाइएको थियो । प्रतियोगितामा विजयी टीम एकेएफसीका साथै आयोजक नेपाली विद्यालयको दुई टिम, एडिलेड ड्रागन स्पोर्टिङ क्लब, ब्रदर्स युनाइटेड फुटबल क्लब र नेपाली समाजले सहभागिता जनाएका थिए । अन्तिम समयमा समाजले खेलबाट हात झिकेपछि एकेएफसी र नेपाली विद्यालय निलो सोझै सेमिफाइनलमा पुगेका थिए ।

प्रतियोगितामा एकेएफसीका दिनेश ढुंगानाले बेष्ट प्लेयर, हाई स्कोररको उपाधि जितेका थिए । यसका साथै उत्कृष्ट गोलकिपर थिर गुरुङ, उत्कृष्ट मिडफिल्डर राजन लामिछाने र उत्कृष्ट डिफेण्डर शिशिर गौतम बनेका थिए । प्रतियोगितामा बालबालिकाको समेत प्रतियोगिता आयोजना गरिएको थियो जसमा नेपाली विद्यालयलाई हराउँदै नेपाली पाठशालाका बालबालिकाको टिम विजयी बनेको थियो ।

दोस्रो पुस्ताका नेपालीलाई नेपाली भाषा सिकाउँदै आएको नेपाली पाठशालाले पहिलोपटक प्रतियोगिताको आयोजना गरेको थियो । कोरोना भाइरसका कारण नेपाली खेल प्रतियोगिता हुन नपाइरहेको अवस्थामा पाठशालाले सबैलाई एकैस्थानमा ल्याउने र आपसी भाइचारा बढाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको आयोजक संस्थाका प्रमिल दहालले बताए । उक्त प्रतियोगिताका विजयीलाई मेडल र ट्रफी दिइएको थियो भने अन्य विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित : मंसिर ११, २०७८ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?