एनआरएनए निष्पक्ष हुनुपर्छ, सबैप्रति समान व्यवहार गरिनुपर्छ : शेष घले

लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले कुनै पनि संस्थामा निष्पक्षता हुनुपर्ने र सबैप्रति समान व्यवहार गरिनुपर्ने बताएका छन्। उक्त संस्थालाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

एनआरएनए निष्पक्ष हुनुपर्छ, सबैप्रति समान व्यवहार गरिनुपर्छ : शेष घले

गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए युके) नयाँ कार्य समितिले १ सय दिन पूरा गरेको अवसरमा अल्डरसटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घलेले संस्था निजी, राजनीतिक वा सामाजिक जस्तोसुकै भए पनि त्यसमा निष्पक्षता हुनुपर्ने र सबै सदस्यप्रति समान व्यवहार गरिनुपर्ने बताए । संस्थामा थिति वा पद्धति बसाल्न पनि त्यत्तिकै महत्वपूर्ण रहेकोमा उनले जोड दिए ।

पूर्वअध्यक्ष घलेले विधानभन्दा माथि कोही पनि नरहेको भन्दै सबैले विधानको पालना गर्नुपर्नेमा जोड दिए। उनले कुनै पनि व्यक्ति उक्त संस्थाको नियम र पद्धतिभन्दा माथि नहुने भन्दै यसलाई सबैले पालना गर्नुपर्ने बताए ।

समारोहलाई सम्बोधन गर्दै एनआरएनएका केन्द्रीय सल्लाहकार कुल आचार्यले संघमा विभिन्न बहानाबाजी बनाएर अक्टोबरमा गर्नुपर्ने अधिवेशन र चुनाव सार्ने काम गरिएको बताए। 'हामी भोलि नै चुनाव गरे पनि तयार छौं, तर कसैलाई जिताउन वा हराउनका लागि गरिएको बहानाबाजीबाट हामी सचेत हुनुपर्छ', उनले भने ।

सन् २०२१–२३ का लागि केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका आचार्यले गैरआवासीय नेपाली नगरिकता, सम्पत्तिको सुरक्षा, सुरक्षित वैदेशिक रोजगार जस्ता सवालहरूमा नेपाल सरकारसंग मिलेर काम गर्नुपर्ने बताए ।

'अहिले परराष्ट्र मन्त्रालयलाई बेवास्ता गर्ने, निहुँ खोज्ने काम भइरहेको छ, त्यो ठीक होइन', आचार्यले भने, 'अहिले पनि छलफल भयो, सहमति भयो भनेर झुक्याउने काम भएको छ। व्यक्तिगत स्वार्थ पूरा गर्न संस्था प्रयोग नहोस् ।'

उनले गैरआवासीय नेपालीहरूका १८ वर्षदेखि थाती रहेका मुद्दालाई तार्किक निष्कर्षमा पुर्‍याउन आफूले उम्मेदवारी दिएको बताए । एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनए युकेका प्रमुख संरक्षक शेर सुनार, यति एसोसियसन युकेका अध्यक्ष ध्रुव केसी, लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपाल, वाटर एड युकेका डा ओम गौतम लगायत वक्ताले शुभकामना दिएका थिए।

यस अवसरमा प्रमुख अतिथि घलेले एनआरएनए युकेका नवनियुक्त प्रमुख सल्लाहकार तथा सल्लाहकारहरूलाई प्रमाणपत्र वितरण पनि गरेका थिए।

प्रकाशित : मंसिर ५, २०७८ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?