रक्तदाता मैनालीद्वारा २ लाख सहयोग - प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रक्तदाता मैनालीद्वारा २ लाख सहयोग 

कान्तिपुर संवाददाता

काठमाडौँ — सबै बिरामीले सजिलै रगत पाउन भन्ने उद्देश्यले रक्तदाता अर्जुनप्रसाद मैनालीले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । हाल अमेरिकामा रहेका मैनालीले ब्लड बैंक निर्माणका लागि बनेपामा रहेको नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखालाई १ लाख र त्रिवि लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्र कीर्तिपुरलाई १ लाख रुपैयाँ नगद सहयोग प्रदान गरेका हुन् ।

सन् १९८७ अगस्टदेखि नेपालबाट रक्तदान अभियानलाई विश्वभर फैलाउने उद्देश्यले अघि बढेका रक्तदाता मैनालीले २०० पटक रक्तदान गरिसकेका छन् । मैनालीले सेप्टेम्बर ४ सम्ममा करिब १०० लिटर रगत दान गरिसकेका छन् । उनले दान गरेको रगतबाट झन्डै ६ सय बिरामी बचाउन मद्दत पुगिसकेको छ ।

‘विश्व रक्तदाता’ नामको ११ भाषामा अनुवाद गरिएको पुस्तकका लेखकसमेत रहेका मैनालीले नेपालमात्र नभई अमेरिका हुँदै ६ वटा महादेशका १७ वटा देशमा पुगेर रक्तदान गरिसकेका छन् ।


प्रकाशित : आश्विन १३, २०७८ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ देखि सञ्‍चालनको तयारीमा

वैशाख १ बाट अन्तर्राष्ट्रिय उडान सुरु गरिने
दीपक परियार

पोखरा — निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २०२२ जनवरी १ (पुस १७ गते) बाट आन्तरिक उडान सुरु गर्ने तयारी भएको बताइएको छ ।विमानस्थल स्थानान्तरण तथा सञ्चालन तयारी कार्यदलले अंग्रजी नयाँ वर्षदेखि विमानस्थलबाट उडान सुरु गर्न नागरिक उड्डयन प्राधिकरणलाई सिफारिस गरेको हो । अन्तर्राष्ट्रिय उडान भने नेपाली नयाँ वर्ष २०७९ वैशाख १ बाट सुरु गर्न सकिने समितिको सिफारिस छ ।

नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमको संयोजकत्वमा गत वर्ष कार्यदल बनेको थियो । सञ्चालनमा आउनुपूर्व विमानस्थल र यात्रुको सुरक्षा र सुविधाको व्यवस्थापनका लागि कार्यदल बनेको हो । विमानस्थल प्रवेश गर्ने हवाई मार्ग (एयर रुट), अध्यागमन, भन्सार, पार्किङ, काउन्टर, आइसोलेटेड पार्किङ, अग्नि नियन्त्रण, एयर ट्राफिक कन्ट्रोल रुट, हवाई सुरक्षा, यात्रुको सेवा सुविधा लगायत कार्यको अनुगमन कार्यदलले गर्छ । यी सबै कुरा उपयुक्त छ भन्ने कार्यदलको निष्कर्षपछि मात्रै उडान भर्न मिल्छ ।

बुधबार निर्माणाधीन विमानस्थलको अवलोकनमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री एवं मन्त्रीहरूको टोलीलाई गौतमले जनवरी १ देखि नै क्षेत्रीय उडान सुरु गर्न सकिने महत्त्वाकांक्षी योजना सुनाए । कार्यदलले अबको ३ महिनाभित्र आफ्ना सबै जिम्मेवारी पूरा गरिसक्ने र निर्माण कम्पनीलाई पनि सोहीबमोजिम तयारी गर्न सुझाव दिएको उनले सुनाए । उनका अनुसार कार्यदलले सिफारिस गरेर पठाए पनि अन्तिम टुंगो प्राधिरणले लगाउँछ ।

'प्राधिकरणले निर्णय गरे हालको पोखरा विमानस्थलकै सरह वा त्योभन्दा बढी सेवा सुविधा दिने गरी नयाँ विमानस्थल सञ्चालनमा ल्याउन सकिन्छ । हाल सञ्चालनमा रहेको विमानस्थलमा भिजुअल फ्लाइट रुट (भीएफआर) अर्थात् देखेर उड्ने नियमबाट उडान भइरहेको छ,’ उनले भने, ‘त्यही चिज यहाँ सञ्चालन गर्दा प्रवेश, पार्किङ, उडान सुरक्षा, हवाई सुरक्षा लगायत कुरा ३ महिनासम्म सेट भइसकेको अवस्था हुन्छ ।’ त्यतिञ्जेलसम्म निर्माणको समयावधी बाँकी नै रहने भएकोले प्राधिकरणले ठेकेदार कम्पनीसँग संयोजन गरिदिनुपर्ने र नीतिगत निर्णय गर्नुपर्ने उनी सुझाउँछन् । भन्छन्, ‘प्राधिकरणले संयोजन गरेर अगाडि बढ्नुस् भन्यो भने हामी सक्षम छौं । कुनै व्यवधान रहन्न ।’

सन् २०१७ नोभेम्बर बाट निर्माण सुरु भएको विमानस्थल यही वर्षको जुनभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा थियो । कोरोना महामारीले चिनियाँ कामदार र आवश्यक उपकरण नआएकोले एक वर्ष म्याद थपिएको छ । विमानस्थल आयोजनाले भने वैशाख १ (अप्रिल १४) बाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने गरी तयारी गरिरहेको जनाएको छ । आयोजना प्रमुख विदेश मुनकर्मीले हालसम्म ८४ प्रतिशत भौतिक प्रगति र ६८.७ प्रतिशत आर्थिक प्रगति भएको बताए । त्यसअघि विमानस्थलको दक्षिणपूर्वपट्टी बाढी र कटान नियन्त्रण गर्ने, रिठ्ठेपानीको डाँडा काट्ने र ल्यान्डफिल साइट सार्ने चुनौति रहेको बताए । यी समस्या समाधानका लागि सहजीकरण र आवश्यक समन्वय गरिदिन प्रदेश सरकारको टोलीलाई उनले आग्रह गरे ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड अनुसार 'फोर डी मोडल'मा विमानस्थल बनिरहेको छ । निर्माण पूरा भएपछि १ सय ५० देखि १ सय ८० सिट संख्या भएका एयरबस ए ३२० र बोइङ ७५७ वा सोसरहका जहाज आउजाउ गर्नसक्ने बताइएको छ । कार्यदल संयोजक गौतमले मध्यम दूरीबाट आउने ‘न्यारो बडी’ जहाज मात्रै पोखरामा अवतरण गर्नसक्ने बताए । आईकाओको मापदण्डभित्र रहँदा त्यसभन्दा ठूला जहाज नआउने भए पनि नयाँ प्रविधि विकास भइरहेकाले त्यसभन्दा ठूला जहाज आउनसक्ने सम्भावना भने अझै रहेको उनले बताए । उनका अनुसार सुरुआतमा पोखराबाट हङकङ, दिल्ली, दोहा र थाइल्यान्डमा सीधा उडान गर्ने प्राधिकरणको तयारी छ । यी सहरलाई ट्रान्जिट बनाएर भने अन्य मुलुकबाट पनि जहाज आउन सक्छन् ।

नेपालीको सम्पर्क भएको, धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण भएकोले यी स्थान छानिएको उनले बताए । ‘कोरोना महामारीले थलिएको पर्यटनलाई यसले तत्काल राहत दिन्छ,’ उनले भने । विमानस्थलका लागि हवाई प्रवेश मार्गका रुपमा सिमरा प्रयोग गर्न सकिने भए पनि भैरहवा प्रयोग गर्नसके उडान समय र लागत घटने उनी बताउँछन् ।

अन्तर्राष्ट्रिय उडानका लागि चाहिने सुरक्षा र सुविधा निर्माणाधीन विमानस्थलबाट दिनुपर्ने भएकोले यहीँ बसेर व्यवस्थान गर्दा अझै सहज रुपमा प्रवाह गर्न सकिने उनको तर्क छ । पहिलो दिन नै अन्तर्राष्ट्रिय उडान निर्वाध सञ्चालनमा ल्याउन केही महिनाअघि आन्तरिक उडान सुरु गर्नुपर्ने आवश्यकता रहेको उनी बताउँछन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विमानस्थल निर्माण समयमै सक्न प्रदेश सरकारबाट आवश्यक समन्वय र सहजीकरण हुने बताए । उनले त्यसका लागि प्रदेश सरकार समेतको सहभागितामा समन्वय समिति बनाउनुपर्ने आवश्यकता औंल्याए ।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिंगल अप्रोच’ बाट हुनेछ । पूर्वपट्टीबाट मात्रै अन्तर्राष्ट्रिय जहाजले उडान र अवतरण गर्नेछन् । आन्तरिकतर्फ रन–वेको दुबै तर्फबाट उडान तथा अवतरण गर्न मिल्छ । विमानस्थलमा ११ जहाज पार्किङ गर्न सकिने छ । तीनवटा अन्तर्राष्ट्रिय, चारवटा एटीआर र चारवटा ट्वीनअटर जहाज पार्किङ गर्न सकिन्छ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गर्ने प्राधिकरणको तयारी छ । विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने बताइएको छ ।

सन् २०१४ को मे ३१ मा नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच विमानस्थल निर्माणको ठेक्का सम्झौता भएको थियो । २०१६ मार्च २१ मा नेपाल र चीनको एक्जिम बैंकबीच ऋण सम्झौता भयो । नेपाल सरकार र प्राधिकरणबीच २०१९ जुन ५ मा अनुदान ऋण सम्झौता भयो । एक्जिम बैंकले २०१७ मे ३१ बाट ऋण प्रवाह गर्‍यो । झण्डै २२ अर्ब रुपैयाँ लागतमा सन् २०१७ नोभेम्बरदेखि विमानस्थल निर्माण भइरहेको छ । २०२१ जुन १० मा सक्नुपर्ने भए पनि एक वर्ष म्याद थपिएको छ ।

प्रकाशित : आश्विन १३, २०७८ २१:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×