अरनिको अन्तर्राष्ट्रिय पुरस्कार अधिकारीलाई- प्रवास - कान्तिपुर समाचार

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार अधिकारीलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले यस वर्षको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार लेखक तथा साहित्यकार हरि अधिकारीको 'संकलित गद्य रचना' लाई दिने निर्णय गरेको छ ।

समितिले ग‌ैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका वाङमयका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगद राशी र सम्मानपत्र सहितको 'अरनिको अन्तर्राष्ट्रिय पुरस्कार' प्रदान गर्दैआएको छ ।

पहिलोपटक २०७७ सालभरमा प्रकाशित भएका कृतिहरूमध्ये अमेरिकामा स्थायी बसोवास गर्ने अधिकारीद्वारा लिखित कृतिलाई प्रदान गर्ने घोषणा गरेको हो । निबन्ध, संस्मरण र व्यक्तिचित्र मार्फत् समकालीन प्रवासी र नेपाली समाज, राजनीति, साहित्य लगायत समाजका विविध पात्रहरूबारे निजात्मक शैली, सुन्तुलित भाषा, सरल शिल्पविधान र निर्भिक प्रस्तुतिसहित गहन वैचारिक विमर्शको आग्रह राखिएकोले हरि अधिकारीको 'संकलित गद्य रचना' लाई पुरस्कारका निम्ति चयन गरिएको पुरस्कार निर्णायक समितिले बताएको छ ।

वरिष्ठ आख्यानकार डा ध्रुवचन्द्र गौतमको संयोजकत्वमा डा हरिराज भट्टराई, डा ज्ञानु पाण्डे र नयनराज पाण्डे सम्मिलित निर्णायक समितिले 'अरनिको अन्तर्राष्ट्रिय पुरस्का' का लागि यस कृतिको चयन गरेको हो । पुरस्कृत कृतिका लेखक अधिकारीलाई गैरआवासीय नेपाली संघको यही अक्टोबरमा काठमाडौँमा सम्पन्न हुने दसौँ महाधिवेशनका अवसरमा पुरस्कार हस्तान्तरण गरिनेछ ।

प्रकाशित : आश्विन ९, २०७८ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस अधिवेशन : मनाङको पालिकामा सभापतिसहित सबै सर्वसम्मत

आश गुरुङ

लमजुङ — कांग्रेसको १४ औं महाधिवेशनका लागि हिमाली जिल्ला मनाङमा ४ वटै स्थानीय तहको निर्वाचनमा सर्वसम्मत पालिका कार्यसमिति गठन गरिएको छ । सभापतिदेखि सदस्यसम्म सबै कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको कांग्रेस मनाङका सभापति समेत रहेका पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले बताए । उनका अनुसार ४ वटा गाउँपालिका रहेको मनाङको ४ वटै स्थानीय तहको सभापतिदेखि कार्यसमिति शनिबार सर्वसम्मत चयन भएको छ ।

नासों गाउँपालिकाको सभापतिमा ८ का अध्यक्ष रहेका हुपजंग गुरुङ निर्वाचित भएका छन् । उनको सभापतित्वमा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् । चामे गाउँपालिका सभापतिमा पेम्बा दोर्जे लामासहितको कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् । उनी जिल्ला कार्यसमितिका सदस्य हुन् ।

नार्पाभूमि गाउँपालिकामा हाल नार्पाभूमि गाउँपालिका अध्यक्ष रहेका मिङ्मा छिरिङ लामा सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । उनको सभापतित्वमा २३ सदस्यीय कार्यसमिति चयन भएका छन् ।

मनाङ ङिस्याङ गाउँपालिका सभापतिमा कान्छा गुरुङ चयन भएका छन् । जिल्ला कार्यसमितिका सदस्यसमेत रहेका उनको सभापतित्वमा ३५ सदस्यीय कार्यसमिति चयन भएको कांग्रेस सचिव सुरेन्द्र गुरुङले जानकारी दिए ।

प्रकाशित : आश्विन ९, २०७८ १९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×