कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बेलायतमा पहिलो भीसी विजेता गोर्खाको सालिक

कलाकार एमी गुडम्यानलाई करिब ७५ हजार पाउन्ड दिएर मूर्ति बनाइएको हो
नवीन पोखरेल

लन्डन — बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भीसी) पाउने पहिलो गोर्खा राइफल म्यान कुलवीर थापाको सालिक अनावरण भएको छ ।

बेलायतमा पहिलो भीसी विजेता गोर्खाको सालिक

अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा निर्मित सालिक शनिबार बौद्ध परम्पराअनुसार लामा र हिन्दु परम्पराअनुसार पण्डितले पूजापाठ गरेपछि अनावरण गरिएको हो । बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणिकुमार राई, बेलायती सेनाका कमान्डर होम कमान्ड एन्ड स्ट्यान्डिङ जोइन्ट कमान्डर लेफ्टिनेन्ट जनरल इयान केभ सीबी, दूतावासकी उपनियोग प्रमुख रोशन खनाललगायतले सालिक अनावरण गरेका हुन् ।

ग्रेटर रसमोर नेपलिज् कम्युनिटीको नेतृत्वमा नेपाली तथा विदेशीबाट चन्दा संकलन गरी सालिक बनाइएको हो । प्रोजेक्ट म्यानेजर क्याप्टेन रिटायर्ड ग्यारी घलेका अनुसार सालिक बनाउन १ लाख ७० हजार पाउन्ड खर्च भएको छ । मूर्ति बनाउन मात्र कलाकार एमी गुडम्यानलाई करिब ७५ हजार पाउन्ड दिइएको हो । रसमोर बरो काउन्सिलले इजाजत दिएपछि सन् २०१९ को फेब्रुअरीमा काम सुरु भएको थियो ।

घलेले गोर्खाहरूको योगदानको स्मरणका लागि सालिक बनाउने योजना बनेको बताए । ‘गोर्खाहरू बेलायत–नेपाल सम्बन्धको मुख्य आधारस्तम्भ हुन् । बेलायती सेनामा गोर्खा भर्तीको इतिहास लगभग २०५ वर्ष लामो छ । गोर्खाहरूको बहादुरी र योगदान स्मरण गर्न पनि सालिक बनाइएको हो,’ म्यानेजर घलेले कान्तिपुरसँग भने । वेलिङटन काउन्सिलर जीव बेल्वासेले आफ्नो टाउनमा सालिक निर्माण हुनु गर्वको विषय भएको बताए । ‘अल्डरसटमा स्थानीय समुदायसँग नेपालीहरूको सुमधुर सम्बन्धको प्रमाण पनि हो यो,’ उनले भने ।

थापा बेलायत सरकारको सम्मानित पदक भिक्टोरिया क्रस (भीसी) पाउने पहिलो नेपाली हुन् । पाल्पामा जन्मिएका थापाले २६ वर्षको उमेरमै भिक्टोरिया क्रस पाए ।

लुको युद्धमा सन् १९१५ अप्रिल २५ मा फ्रान्समा तैनाथ रहेका बेला थापाको सैनिक टोलीमाथि जर्मन सैनिकले गोलाबारी सुरु गरे । लड्दै जाँदा उनी जर्मन नियन्त्रित क्षेत्रमा पुगिसकेका रहेछन् । उनी घाइते पनि थिए ।

उनले बेलायतको लेस्टरसायर रेजिमेन्टको दोस्रो बटालियनका गम्भीर घाइते सैनिकलाई भेट्टाए । ती सैनिकले उनलाई आफ्नो ज्यान जोगाउन सुझाव दिए । तर थापा दुस्मनको क्षेत्रमा उनीसँग एक रात, एक दिन सँगै बसे ।

सेप्टेम्बर २६ का दिन एकाबिहानै उनले जर्मनहरूले लगाएको तारबार नाघेर ती घाइते सैनिकलाई ल्याएर राखे । त्यसपछि फेरि दुस्मनहरूको नियन्त्रणमा रहेको इलाकाभित्र पसेर उनले दुई जना घाइते गोर्खा सैनिकलाई पालैपालो सुरक्षित स्थानमा ल्याए । उनले फेरि गएर घाइते ब्रिटिस सैनिकलाई पनि दिउँसो उज्यालोमै सुरक्षित स्थानसम्म पुर्‍याए । यही बहादुरीका लागि बकिङघम राजदरबारमा आयोजित एक समारोहमा ब्रिटिस नरेश किङ जर्ज पाँचौंले थापालाई भिक्टोरिया क्रस तक्मा प्रदान गरेका थिए ।

प्रकाशित : आश्विन ९, २०७८ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?