तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन : २८ बुँदे लन्डन घोषणापत्र जारी- प्रवास - कान्तिपुर समाचार

तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन : २८ बुँदे लन्डन घोषणापत्र जारी

कान्तिपुर संवाददाता

लन्डन — २८ बुँदे लन्डन घोषणापत्र जारी गर्दै तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आइतबार  सम्पन्न भएको छ।  'महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरस महामारीका कारण उत्पन्न  विषम परिस्थितिमा देखाएको धैर्य र साहसका लागि सबै नेपाली नागरिक र स्वास्थ्यकर्मीको सराहना गरेको छ।

‘हामी, स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरन्तरताका लागि अमूल्य निधि भएको र हरेक राष्ट्रको सामाजिक जीवनस्तर वृद्धिका लागि प्राथमिक तत्व भएको कुरामा विश्वस्त छौं I नेपालीहरूलाई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न हामी हरेकको अद्वितीय भूमिका रहेको र यस क्षेत्रमा योगदान दिनुहुने सम्पूर्ण व्यक्ति, संस्था र साझेदारहरूको योगदानको कदर गर्दै उहाँहरूलाई सहयोगको प्रतिबद्धता जाहेर गर्दछौं,’ घोषणापत्रमा भनिएको छ।

सम्मेलनले संसारभर रहेका नेपाली विशेषज्ञ तथा विज्ञ जनशक्तिहरूको सीप, अनुभव एवं सम्पर्क सञ्जाल नेपालको विकास र उन्नयनमा उपयोग गर्नका लागि नीतिगत व्यवस्था गरी संयन्त्र स्थापना गर्न नेपाल सरकारलाई आह्वान पनि गरेको छ।

समापन समारोहमा एनआरएनएका केन्द्रीय उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मा, दक्षिण कोरियाका देवी बस्नेतलगायतले सम्मेलन कोभिड महामारीका बेला जनचेतना जगाउन उपयोगी भएको बताए। पत्रकार भगीरथ योगी तथा दिनेश ज्ञवालीले अंग्रेजी तथा नेपाली भाषामा घोषणापत्र पढेर सुनाएका थिए।

शुक्रबारदेखि विभिन्न सत्र सञ्चालन गरी शनिबार लन्डनस्थित नेपाली दूतावासमा औपचारिक रूपमा सुरु गरिएको सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिएका थिए । ५० भन्दा बढी कार्यशाला सञ्चालन गरिएका थिए।

यस्तो छ घोषणापत्र

१.​ हामीले कोभिड-१९ महामारीले निम्त्याएको अभूतपूर्व चुनौतीहरूको सामना गर्दै सशक्त रूपमा अगाडि बढी रहनुभएका सम्पूर्ण नेपाली जनसमुदाय र परिवारहरूको मनोबल उच्च रहिरहोस् भन्ने यस सम्मेलनको नारा नै 'महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ राखेका छौं।

२. ​कोरोना भाइरस महामारीबाट हामी कोही पनि अछूतो छैनौ I यद्यपि यो महामारीले स्वास्थ्यको निदान, उपचार र रोकथामका क्षेत्रमा कार्यरत तमाम विज्ञहरू एकताबद्ध हुने एउटा अवसर प्रदान गरेको छ I स्वास्थ्य प्रयोगशालाहरूको स्तरवृद्धि, चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मीहरूको सुरक्षा, सुरक्षा उपकरणको उपलब्धता, अत्यावश्यक औषधि र खोपको व्यवस्था, केही यस्ता समस्याहरू हाम्रा माझ छन् जसलाई यो महामारी र भविष्यका लागि पनि हामीले काम गर्नु पर्ने छ I हामी यस विषम परिस्थितिमा देखाउनु भएको धैर्य र साहसको लागी सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गर्दछौं I

३.​ हामी, स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरन्ततरताको लागि अमूल्य निधि भएको र हरेक राष्ट्रको सामाजिक जीवनस्तर वृद्धिका लागि प्राथमिक तत्व भएको कुरामा विश्वस्त छौं I

४. नेपालीहरूलाई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न हामी हरेकको अद्वितीय भूमिका रहेको र यस क्षेत्रमा योगदान दिनु हुने सम्पूर्ण व्यक्ति, संस्था र साझेदारहरूको योगदानको कदर गर्दै उहाँहरूलाई सहयोगको प्रतिवद्धता जाहेर गर्दछौं I

५.​ हामी, नेपाल भित्र वा बाहिर रहनु भएका, स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै चिकित्सक, नर्स, जनस्वास्थ्य विज्ञ, र स्वास्थ्यका विविध पाटाहरुमा सेवा गर्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई संगठित भई हातेमालो गरी, नेपालीहरूको स्वास्थ्यका विषयमा सूचना आदानप्रदान, सरसल्लाह, सिप विकास र अनुभव साटासाट गर्ने साझा संजालको विकास गर्न आव्हान गर्दछौ I यसैगरी संसारभरि रहेका नेपाली विशेषज्ञ तथा विज्ञ जनशक्तिहरुको सिप, अनुभव एवं सम्पर्क संजाल नेपालको विकास र उन्नयनमा उपयोग गर्नका लागि नीतिगत व्यवस्था गरी एक संयन्त्र स्थापना गर्न यो सम्मेलन नेपाल सरकारलाई आह्वान गर्दछ ।

६.​ हामी महामारी जस्तो प्रतिकूल परिस्थितिमा पनि तमाम चुनौती, बाधाहरू र स्रोत र साधनको अभावका बीच धैर्य र साहसकासाथ नेपाली समुदायलाई सुरक्षित महसूस गराउन भरपूर प्रयास गर्नु हुने सम्पूर्ण जनस्वास्थ्य विशेषज्ञहरूको कदर गर्दछौं I साथै यस्ता कार्यमा अग्रसर रहनु हुने सबै जनस्वास्थ्यकर्मी, संक्रामक रोग विशेषज्ञहरु, सामाजिक कार्यकर्ता, नीति निर्माताहरू लगायत प्रत्यक्ष- अप्रत्यक्ष रूपमा संलग्न सबैको कार्यमा सहमति जनाऊँछौं I

७.​ हामी, नेपाली मूलका चिकित्सकहरू जो यूरोप, अस्ट्रेलिया, अमेरिका, अफ्रिका, मध्यपूर्वमा रही, विभिन्न संस्थाहरूमा रहेर वा नरहेर काम गरी रहेका छौं, यो कुरामा सहमत छौं कि यसै सम्मेलन मार्फ़त नेपाली चिकित्सकहरूको विश्वव्यापी संजालमा आवद्ध रही हामी नेपाली समुदायको स्वास्थ्य सेवामा पहुँच र गुणस्तर वृद्धिको लागी संवाद र सहकार्य गर्ने छौं I

८.​ हामी, नेपाली मूलका नर्सहरू जो यूरोप, अस्ट्रेलिया, अमेरिका, अफ्रिका, मध्यपूर्वमा रही, विभिन्न संस्थाहरूमा रहेर वा नरहेर काम गरी रहेका छौं, यो कुरामा सहमत छौं कि यसै सम्मेलन मार्फ़त नेपाली नर्सहरूको विश्वव्यापी संजालमा आवद्ध रही, हामी नेपाली समुदायको स्वास्थ्य सेवामा पहुँच र गुणस्तर वृद्धिको लागी सम्बाद र सहकार्य गर्ने छौं I हामी यो सम्मलेन मार्फ़त नेपाली नर्सहरूको विश्व संजाल निर्माण गर्न पाउँदा गौरवान्वित छौं I

९.​ मानसिक स्वास्थ्य विना सम्पूर्ण स्वास्थ्य सम्भव छैन I मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्नु भएका नेपाली मूलका मनोरोग विशेषज्ञ, मनोविद, मानसिक सल्लाहकार, व्यवहारजनित रोग र कुलतका क्षेत्रमा काम गर्नु हुने सम्पूर्ण महानुभावहरूलाई यसै सम्मेलन मार्फत निर्माण गरिएको मानसिक स्वास्थ्यको विश्वव्यापि संजालमा आवद्ध हुन आव्हान गर्दछौ I

१०.​ हामी नेपाल सरकारको राष्ट्रिय रोग रोकथाम केन्द्र स्थापना गर्ने राष्ट्रिय स्वास्थ्य नीतिको समर्थन र स्वागत गर्दछौं I

११.​ स्वास्थ्यमा वैकल्पिक चिकित्सा, योग, आयुर्वेद, होमियोपेथि, अकुपंचरको अद्वितीय योगदान, प्रभावकारिता, र महत्व परापूर्व कालदेखि आधुनिक विज्ञान सम्मले स्वीकार गरेको सर्वविदित छ I स्वास्थ्यको रक्षा र विविध जटिल समस्याहरूको निराकरणमा प्रभावकारी हुने भएपनि यो क्षेत्रले पाउनु पर्ने जति महत्व नपाएको तीतो यथार्थ हामी सामु छ I हामी, आयुर्वेद र वैकल्पिक चिकित्साद्वारा नेपाल भित्र र बाहिर रहेका नेपालीहरूलाई फाइदा हुने गरी यिनको प्रचारप्रसार, अनुसंधान, जडिबूटीजन्य औषधिहरूको उत्पादन र सर्वसुलभता होस भन्ने कुरामा ऐक्यवद्ध छौं I

१२.​ स्वास्थ्यमा अनुसन्धानको ठूलो महत्त्व छ I यद्यपि नेपाली शोधकर्ताहरूले आफ्नो क्षमताले गर्न सक्ने अनुसन्धान अनुरूप पर्याप्त श्रोत र साधन नपाएको कुरा सर्वविदित छ I हामी ती चुनौतीहरू बारे अवगत छौं र तिनको निराकरणका लागी सक्दो प्रयास गर्ने छौं भन्ने कुरामा विश्वास दिलाउन चाहन्छौं I साथै नेपालीहरूको स्वास्थ्यका विषयमा एक अन्तरराष्ट्रियस्तरको रिसर्च जर्नल प्रकाशन पनि हाम्रो प्राथमिकताको विषय भएको जानकारी गराउन चाहन्छौं I

१३.​ रोग रोकथाम तथा उपचार, महिलाको स्वास्थ्य तथा आमा तथा शिशुको स्वास्थ्यले परिवार, समाज र सम्पूर्ण राष्ट्रको दशा बताउने भएपनि विश्वभरिका महिला, आमा तथा नवजात शिशुहरूले सामना गर्ने समस्याहरू साझा छन् I यो सम्मेलन महिला, आमा तथा नवजात शिशुहरूको स्वास्थ्यका क्षेत्रमा ज़िम्मेवार सबैलाई उनीहरुको स्वास्थ्यमा पहुँच र गुणस्तर वृद्धिका लागि ध्यानआकर्षण गराउँछ I

१४.​ बालबालिका, किशोर किशोरी, तथा युवाहरूको स्वास्थ्यले भोलिको पुस्ताको चित्रण गर्छ I विद्यालय स्वास्थ्य कार्यक्रम, किशोर किशोरी एवं युवाहरूको स्वास्थ्य प्रवर्धन र स्वस्थ व्यवहारलाई प्रोत्साहित गर्ने कुरामा हामी सबैको एकमत भई विश्वभरका नेपाली मूलका बालबालिका, किशोर किशोरी र युवा वर्गलाई नेपालमा रहेका आफ्ना समकक्षीहरूलाई सहयोग गर्न प्रोत्साहित गर्छौं I

१५.​ महामारी, प्राकृतिक प्रकोप जस्ता विपदका बेलामा सकेसम्म तुरंत सेवा पूर्याउन सक्ने एक द्रुत चिकित्सा कार्यदलको व्यवस्था अहिलेको आवश्यकता हो I उक्त संरचना निश्चित संख्याका विज्ञ चिकित्सक, नर्स, लगायतका अन्य स्वास्थ्यकर्मी समावेश गरी २४ घंटा भित्र चाहेको स्थानमा पूर्याउन सक्ने खालको हुन आवश्यक छ I सो कार्यका लागी चाहिने प्राविधिक वा भौतिक सहयोग गर्नुहुन सम्पूर्णमा आव्हान गर्दछौं I

१६.​ हामी मधुमेह, हृदयरोग जस्ता दीर्घ रोगहरूले नेपाली समुदायलाई आक्रान्त पारेको तथ्यबारे विदितै छौं I यस्ता दीर्घ रोगको रोकथाम, व्यवस्थापन र स्वास्थ्य संवर्धनका लागि गरिएका कार्यहरू अपुग छन् I सम्पूर्ण स्वास्थ्यको अवधारणालाई मूर्तरूप दिन कूलत र धूमपानको रोकथाम, पोषण, स्वस्थ जीवनशैली र तनाव व्यवस्थापन जस्ता कुराहरू अहिलेका आवश्यकता हुन् I यसो भन्दा यो दीर्घ रोगहरूमा चिकित्साको महत्वलाई अवमूल्यन गरेको नभइ यी विविध तत्वहरूको उपादेयतालाई उजागर गरिएको हो भनी बुझनु पर्ने हुन्छ I

१७.​ छारे रोग, डिप्रेसन, आत्महत्या लगायतका सामाजिक जनचेतनाको अभाव भाएका कतिपय समस्याहरूले गर्दा हीनताबोध, डर, लाज, र धकका कारण व्यक्तिको स्वास्थ्यमा पहुँच कम हुने हुनाले त्यस विरुद्ध जनचेतनाको विकास गर्ने हरेक पहलमा हाम्रो समर्थन छ I

१८.​ हामी नेपालीहरूको स्वास्थ्यमा पहुँच पूर्याउन मद्दत गर्ने घुम्ती क्लिनिक, घुम्ती मेमोग्राम, घुम्ती रक्त दान बस, घुम्ती अस्पतालका लागि सहयोग जुटाउने कार्यमा अग्रसर छौ I यसका साथै विभिन्न प्रकारका स्वास्थ्य शिविरहरूको संचालन गरी तथा स्थानीय स्वास्थ्य संस्थालाई प्राविधिक वा भौतिक सहयोग गरी दूर दराजका नेपालीहरूलाई सहयोग गर्नु हुन सम्पूर्णमा आव्हान गर्दछौं I

१९.​ हामी संयुक्त राष्ट्र संघको सहश्राब्दी विकास लक्ष्य अन्तर्गत स्वास्थ्यमा लगानी, पहुँच र सबै विभेदहरूका विरुद्ध लाग्ने प्रस्तावको समर्थन गर्दछौं I

२०.​ स्वास्थ्यको पहुँचबाट कोही पनि नेपाली विमुख हुन नपरोस भन्ने कुरामा हाम्रो विश्वास व्यक्त गर्न चाहन्छौँ I साथै सीमान्तकृत, भौगोलिक र अन्य कारणले पिछडिएका सबै नेपाली जनताले स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने कुरा दोहोरयाउन चाहन्छौँ I

२१.​ सबैजना आफ्नो क्षेत्रमा काम गर्दा गर्दै पनि एकजुट हुने हो भने के सम्भव छैन र भन्ने कुरा त सन २०१५ को भूकम्पले देखाइ सक्यो I उक्त पृष्ठभूमिमा सबैले आफ्नो मेहनत, कौशल र सिपलाइ प्रयोग गरी बढी प्रभावकारी योगदान दिन सकिन्छ I साथै विश्वभरका डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरू एकजुट भएर काम गर्नु पर्छ भन्ने हाम्रो मान्यता छ I

२२.​हाम्रो सहकार्य र समन्वयले राष्ट्रिय र अन्तरराष्ट्रिय, सरकारी तथा गैर सरकारी संस्थाहरूमा एक बलियो आवाज़को प्रतिनिधित्व गर्छ भन्ने कुरामा हामी विश्वस्त छौं I हामी निजी-सरकारी-साझेदारीको अवधारणा, गैर आवासीय नेपाली संघभित्रकै समितिहरूको समन्वय र नेपाल सरकारका संघीय र स्थानीय निकायहरूसंगको समन्वय र सहकार्य महत्वपूर्ण छ भन्ने कुरामा सहमत छौं I

२३.​ हामी जाति, लिंग, उमेर, धर्म, पेशा आदि विवधताहरूका आधारमा नेपालीहरूका स्वास्थ्य सम्बन्धी आवश्यकताहरू पनि भिन्न भिन्न छन् भन्ने तथ्यबारे अवगत छौं। मध्यपूर्वमा रहने श्रमिक नेपाली र नाइजेरिया वा अमेरिकामा रहेका नेपालीको अवस्था फ़रक हुनसक्छ I त्यसैगरी विकट हुम्ला जिल्लाकी एक गर्भवती महिला वा सप्तरीका वृद्ध पुरुषको अवस्था एक नहुन सक्छ I हामी हाम्रा स्वास्थ्य सेवाहरू आर्थिक, भौगोलिक, सामाजिक, सांस्कृतिक रूपमा समावेशी र निपुण होउन् भन्ने कुराको वकालत गर्दछौं I

२४. ​हामी विश्व स्वास्थ्य संगठन, यूनिसेफ, अन्तरराष्ट्रिय श्रम संगठन, शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायुक्त तथा संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालयको नेपाल भित्र वा बाहिर रहेका श्रमिक नेपालीहरूको स्वास्थ्य सम्बन्धी हक अधिकार सुनिश्चीत गर्न महत्वपूर्ण भूमिका छ भन्ने कुरा मान्दछौं I

२५.​ हामीलाई ज्ञात छ कि नेपालमा स्वास्थ्यकर्मीहरूको पेशालाई सुरक्षित राख्ने व्यावसायिक बिमाको व्यवस्था छैन् I नेपाल भित्र वा बाहिर, विशेषत: अमेरिकामा रहेका चिकित्सकहरूले कसरी त्यस्तो बिमा कार्यक्रम नेपालमा पनि लागू गर्न सकिन्छ भन्ने कुरामा आफ्नो अनुभव र सहयोग प्रदान गर्नुहुन हामी आव्हान गर्दछौं I

२६.​ स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग, अहिलेको आवश्यकता हो I अन्तरराष्ट्रिय मापदण्ड अनुरूप बिरामीका अभिलेखहरू राख्ने, स्वास्थ्य निर्देशिका अनुरूप काम गर्ने लगायत नेपालको भौगोलिक विविधतालाई मध्यनज़र गरी टेली-मेडिसिनको विकास गर्न अत्यन्त जरुरी छ I हामी सबै दाता, व्यक्ति तथा संस्थालाई प्राविधिक वा भौतिक सहयोग गरी दूरदराजका नेपालीहरूलाई सहयोग गर्नुहुन आव्हान गर्दछौं I

२७.​ हामी स्वास्थ्य विधा एक निरपेक्ष क्षेत्र नभई अन्य विविध विषय र विधाहरूसँग पनि जोडिएकाले अन्य क्षेत्रका विज्ञ र संघसंस्थाको सहयोग विना नेपालीहरूको स्वास्थ्यको विकास असम्भव प्रायः रहेको मान्दछौं I तसर्थ हामी सबै स्वास्थ्यसँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्ध राख्ने निकायहरूलाई स्वास्थ्यलाई एकल तत्वको रूपमा नलिई अन्तर विधागत विकास नीति निर्माण र अवलम्बनको एक अभिन्न पाटोको रूपमा लिनु हुन आग्रह गर्दछौं I

२८.​ विश्व स्तरमा नेपालीहरूको स्वास्थ्य सम्बन्धी उपरोक्त अवधारणा र लक्ष्यहरूलाई जीवितै राख्न हामी आगामी वर्षहरू सन २०२२, २०२३, २०२४ लगायत भविष्यमा यो सम्मेलनलाई निरन्तरता दिने प्रण गर्छौं I

प्रकाशित : आश्विन ४, २०७८ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्

खाडीमा कामदार : न कार्यस्थल सुरक्षित, न बासस्थान

पेसागत सुरक्षा र स्वास्थ्योपचार अभावमा खाडी र मलेसियामा मात्रै प्रत्येक वर्ष कम्तीमा एक हजार नेपाली श्रमिकले ज्यान गुमाइरहेका छन्
होम कार्की

काठमाडौँ — यमबहादुर कटुवाल र सुकलाल राजवंशी भदौ २३ मा कुवेतको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–२ को १० मिटरमुनि भूमिगत पाइप मर्मत गर्दै थिए । एक्कासि बालुवाको थुप्रो खस्दा उनीहरू खाल्डोमा पुरिए । आपत्कालीन अवस्थामा कसरी बाहिर निस्कने भनेर त्यहाँ बन्दोबस्तीका साधन राखिएको थिएन ।

तुरुन्तै उद्धार हुन नसक्दा झापाका कटुवाल र राजवंशीको कार्यस्थलमै ज्यान गयो । पुरिएका रोल्पाका सर्वजित महरालाई भने जसोतसो उद्धार गरियो ।

कुवेतमा २०७६ माघ २९ मा पनि यस्तै घटना भएको थियो । मुत्ला हाउजिङ कम्पनीका तर्फबाट भूमिगत पाइप राख्ने क्रममा बालुवामा पुरिँदा ६ जना नेपालीले ज्यान गुमाए । कुवेतले औपचारिक रूपमै घटना सम्बन्धमा उच्चस्तरीय छानबिन समिति बनाउने प्रतिबद्धता नेपालसामु राखेको थियो तर समितिले केकस्तो प्रतिवेदन तयार पार्‍यो वा पारेन सार्वजनिक गरिएन ।

‘जोखिमयुक्त ठाउँमा पर्याप्त सुरक्षा प्रबन्धबिना काममा लगाउँदा पटकपटक यस्ता घटना दोहोरिइरहेका छन्,’ कुवेतस्थित नेपाली दूतावासका एक अधिकारीले कान्तिपुरसँग भने, ‘विशेषगरी निर्माण क्षेत्रमा सुरक्षालाई प्राथमिकता दिन दूतावासका तर्फबाट सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका छौं ।’

कार्यस्थलमा मात्रै होइन श्रमिकका बासस्थान पनि सुरक्षित छैनन् । एक वर्षअघि कुवेतको महाबुल्लामा भएको दुर्घटनाले यसलाई पुष्टि गर्छ । त्यहाँस्थित श्रमिक राखिएको एउटा भवनमा आगलागी हुँदा सर्लाहीका विजय बैठा, अप्सरा कामी र गौरी दर्जीको जलेर ज्यान गयो । बैठा क्लिनर थिए भने अप्सरा र गौरी घरेलु श्रमिक ।

यस्ता घटनाले नेपाली श्रमिकको सुरक्षित कार्यस्थल, बासस्थान र पेसागत स्वास्थ्य सुरक्षाका सम्बन्धमा गम्भीर प्रश्न उठ्ने गरे पनि तिनको सम्बोधन हुन सकेको छैन । वैदेशिक रोजगार बोर्डका अनुसार पेसागत सुरक्षा र स्वास्थ्योपचारको अभाव हुँदा प्रत्येक वर्ष कम्तीमा एक हजार नेपाली श्रमिक खाडी र मलेसियामा मात्रै ज्यान गुमाइरहेका छन् । तर, के–कति कारण श्रमिकको ज्यान गइरहेको छ भन्ने यकिन तथ्यांक नेपालसँग छैन ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार संसारभर प्रत्येक वर्ष २० लाख श्रमिकको कामका क्रममा उत्पन्न रोग र दुर्घटनाबाट ज्यान गइरहेको छ । डब्लूएचओ र आईएलओले सन् २००० देखि २०१६ सम्म संसारभर निगरानी गरी कामजन्य रोग र चोटपटकबाट मृत्यु हुनेको संख्या सार्वजनिक गरेको हो । सबैभन्दा बढी मृत्यु श्वासप्रश्वास र मुटु रोगबाट भइरहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै झन्डै ८१ प्रतिशत मृत्यु नसर्ने रोगबाट भइरहेको प्रतिवेदनले देखाएको छ । त्यसमध्ये श्वासप्रश्वाससम्बन्धी रोगबाट ४ लाख ५० हजार, पक्षघातबाट चार लाख, मुटुसम्बन्धी रोगबाट ३ लाख ५० हजार र पेसागत दुर्घटनाबाट ३ लाख ६० हजार जनाको मृत्यु भएको छ ।

बर्सेनि यति धेरै श्रमिकको मृत्यु हुने गरेकोमा गम्भीर चिन्ता प्रकट गर्दै डब्लूएचओले श्रमिकलाई ‘आफ्नै कामले मारिरहेको’ जनाएको छ । ‘धेरैभन्दा धेरै श्रमिकलाई आफ्नै कामले मारिरहेको देख्दा हामी निराश छौं,’ डब्लूएचओका महानिर्देशक डा. टेड्रोस

एड्हानोमले विज्ञप्तिमार्फत भनेका छन्, ‘हाम्रो रिपोर्टले देश र व्यापारीहरूलाई पेसागत स्वास्थ्य तथा सुरक्षा सेवाको विश्वव्यापी मान्यताअनुसार आफ्ना श्रमिकलाई स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गर्न झकझक्याएको छ ।’

नेपाली दूतावासहरूका अनुसार खाडी तथा मलेसियामा झन्डै ४० प्रतिशत नेपाली श्रमिकको श्वासप्रश्वास र मुटुजन्य रोगबाट मात्रै ज्यान जाने गरेको छ । त्यसबाहेक आत्महत्याबाट २० प्रतिशत, सडक दुर्घटनाबाट २० प्रतिशत, पेसागत दुर्घटनाबाट १० र अन्यबाट १० प्रतिशत नेपालीले मृत्युवरण गरिरहेका छन् । ११ वर्षसम्म कतारमा रहेका नेपाली चिकित्सक डा. नरेन्द्र शाक्यका अनुसार अधिकांश नेपाली श्रमिक उच्च रक्तचापबाट पीडित छन् ।

‘रक्तचाप २३०/१३० सम्म भेटिन्छ । मृत्युको मुख्य कारण नै उच्च रक्तचाप हो । त्यसपछि सुगर, अल्सर, मिर्गौला फेल, श्वासप्रश्वाससम्बन्धी रोग, रुघाखोकी, नाकघाट र निमोनियाबाट ग्रसित कामदारहरू आउँछन्,’ उनले भने, ‘यी रोगहरू कामको प्रकृति, खानापान र बसोबाससँग सम्बन्धित हुन् ।’

शाक्यसँग २००९–२०२० सम्म कतारको अल्खोरस्थित एउटा स्वास्थ्य क्लिनिकमा काम गरेको अनुभव छ । उनले क्लिनिकमा दैनिक ४० जना नेपाली श्रमिकको स्वास्थ्य परीक्षण गर्ने गरेको बताए । ‘खाडीमा श्रमिकले एकै दिन दुईखालको वातावरणको सामना गरिरहेका हुन्छन् । बाहिरको प्राकृतिक वातावरण तातो छ भने भित्र निकै चिसो (एसी) हुन्छ । ‘एसीको सुविधा भएकाले कोठाभित्र १६ देखि २२ डिग्रीको चिसोमा बस्ने गर्छन्,’ उनले भने, ‘जब उनीहरू बाहिरी कार्यस्थलमा पुग्छन्, त्यहाँ ४० देखि ४९ डिग्रीको तापक्रममा काम गर्नुपर्छ । धेरै पसिना बग्यो भने शरीरभित्र रहेको पोटासियम, क्याल्सियम, गुल्कोजको नास हुन्छ । अनि मुटुको धड्कन बढ्छ । र, मानिस तत्काल बेहोस हुन सक्छ ।’

शुक्रबार सार्वजनिक प्रतिवेदनअनुसार लामो समयसम्म बाहिरी क्षेत्रमा काममा लगाउँदा झन्डै ७ लाख ५० हजार जनाको मृत्यु भएको छ । कार्यक्षेत्रमा वायु र ध्वनि प्रदूषणका कारण ४ लाख ५० हजारको ज्यान गएको छ ।

२०७६ चैत १९ मा उदयपुरका २३ वर्षीय अनिल श्रेष्ठलाई सहकर्मीहरूले कतारको सनैयास्थित एउटा क्याम्पको ओछ्यानमा मृत अवस्थामा फेला पारेका थिए । उनी इलेक्ट्रोनिक उपकरणसम्बन्धी काम गर्थे । ‘दिनभर उभिएर मोटर सेट र जेटका क्वायल बनाउँथे । दैनिक १०–१२ घण्टा काम गर्नुपर्थ्यो । काम गर्ने ठाउँमा तातो हावा आउँथ्यो,’ अनिलका दाजु पदमले भने, ‘काम सकेपछि नुवाइधुवाइ गरे । खाना खाए । सुत्न बेडमा गए । भोलिपल्ट बिहान ड्युटी जाने बेला साथीहरूले उठाउन जाँदा ज्यान गइसकेको रहेछ ।’ शव प्राप्त गर्ने बेला आफूहरूलाई पोस्टमार्टमको रिपोर्ट नदिइएको उनको भनाइ छ । ‘यस्तो मृत्युको केसमाथि छानबिन हुनुपर्छ,’ उनले भने ।

डा. शाक्य कम्पनीहरूले कार्यस्थलको वातावरण मात्र नभएर कामदारको खानपान र स्वस्थकर बसाइलाई समेत ध्यान नदिएको बताउँछन् । ‘कुन प्रकृतिको काम गर्दा कामदार कस्तो रोगबाट पीडित हुनुपर्छ भन्ने जानकारी नै रहेको देख्दिनँ । कामका सिलसिलामा आइलाग्ने रोगबाट कसरी बच्ने भनेर पनि कम्पनीले सचेत बनाएको छैन,’ उनले भने ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको स्वास्थ्य विशेषज्ञ समितिका सदस्य डा. विश्वराज दवाडीका अनुसार मिर्गौला रोगी भएर फर्किनेहरूको अवस्था थप चिन्ताजनक छ । ‘खाडीको बाहिरी क्षेत्रमा कार्यरत कामदारको किन मिर्गौला फेल भइरहेको छ, यसमाथि अध्ययन जरुरी छ,’ उनले भने, ‘आउटडोरमा लगातार काम गर्नुपर्ने कामदारले आवश्यकताअनुसार पानी खान्छन् कि खाँदैनन्, कार्यस्थलमा पानीको सुविधा छ/छैन, कामदारलाई लामो समय काम गर्न कति बाध्यात्मक बनाइएको छ भनेर कसैको ध्यान पुगेको छैन ।’

प्रतिवेदनले काम गर्दा उत्पन्न रोग र दुर्घटनाले स्वास्थ्य प्रणालीलाई कमजोर बनाउने, उत्पादनमा कमी आउनुका साथै घरपरिवारको आम्दानी घट्दै जाने चेतावनीसमेत दिएको छ । ‘यो महत्त्वपूर्ण सूचनाले नीतिलाई एउटा आकारमा ल्याउन मद्दत गर्छ । स्वस्थकर र सुरक्षित कार्यक्षेत्रको अभ्यास गर्न प्रेरित गर्छ,’ आईएलओका महानिर्देशक गाय रायडरले विज्ञप्तिमा भनेका छन्, ‘सरकार, रोजगारदाता र श्रमिकले कार्यक्षेत्रमा देखिएका जोखिमलाई न्यूनीकरण गर्न प्रभाकारी कदम चाल्नुपर्छ ।

काम गर्ने तरिका र प्रणालीलाई मात्रै परिवर्तन गर्दा पनि जोखिमका तत्त्वहरू न्यूनीकरण गर्न सकिन्छ । अन्तिम उपायका रूपमा व्यक्तिगत सुरक्षाका उपकरण प्रयोगबाट श्रमिकलाई सुरक्षाको प्रत्याभूति गर्नुपर्छ ।’

प्रकाशित : आश्विन ४, २०७८ १०:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×