कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बेलायतको ‘रेड लिस्ट’मा नेपाल पर्दा यात्रुलाई सास्ती 

नवीन पोखरेल

लन्डन — कोभेन्ट्री युनिभर्सिटीमा 'इङ्लिस ल्याङ्वेज टिचिङ एन्ड अप्लाइड लिङ्गुइस्टिक'मा मास्टर्स गर्न पूर्ण शुल्क १६ हजार ६०० पाउन्ड जुटाउन कम सजिलो थिएन ज्ञानेन्द्र थपलियालाई । ऋणधन गरेर युनी फि जुटाए, भिजा पनि लाग्यो । जब बेलायत टेके, थप २२८५ पाउन्ड (करिब चार लाख रुपैयाँ) होटल क्वारेन्टिनबापत तिर्नु पर्‍यो । सरकारी नियम पालना नगरी सुखै थिएन । 

बेलायतको ‘रेड लिस्ट’मा नेपाल पर्दा यात्रुलाई सास्ती 

सेप्टेम्बर इन्टेकमा आउनै पर्ने बाध्यता भएपछि १६ दिनको पहिलो सन्तान छोडेर आए उनी । ११ रात बिताएर ३० अगस्टमा होटल क्वारेनटिनबाट निस्किएका ज्ञानेन्द्र भन्छन्, 'नेपालजस्तो गरिब मुलुकबाट आएका हामीलाई त्यो शुल्क थाम्नै नसकिने हो । नेपाल सरकारले अलिकति लबिइङ गर्ने हो भने केही परिवर्तन हुन सक्थ्यो तर हाम्रो सरकार कमजोर छ ।'

लन्डन हिथ्रो नजिक चार तारे होटेलमा अरु सुविधा राम्रै भए पनि खाना नमिलेको उनी बताउँछन् ।

****

कोभिड महामारीको दोस्रो लहरमा आफ्नो बाबु गुमाउनुको पीडा छँदै थियो, नेपाल पुगेर बेलायत आउँदासम्म बेहोर्नु परेको थप मानसिक तथा आर्थिक क्षति वर्णन गर्न सक्दैनन् अर्जुन बोहोरा । बाबु बितेको खबर पाउनासाथ टर्कीस् एयरलाइन्सको आवतजावत टिकट ११ सय पाउन्ड तिरेर तुरुन्त नेपाल उडे उनी । बाबुको अन्त्येष्टि सकेर ५ हप्तापछि लन्डन फर्कन लाग्दा एयरलाइन्सले उडान रद्द भएको जनाउ दियो । यता काममा तत्काल आउनुपर्ने भएकाले अर्को दिनसम्म कुरिराख्न सम्भव थिएन । काठमाडौंमा एजेन्टलाई दुई लाख रुपैयाँ तिरेर उनी कतार एयरवेजमा लन्डन उत्रिए ।

लन्डन आइसकेपछि ११ रातको खर्चिलो होटल क्वारेन्टिन अनि दुईपटक पीसीआर परीक्षण झन्झट । 'नजिक होटल नभएर गेटवीक पुर्‍यायो । होटल क्वारेन्टिन बस्दा कतै निस्कन नपाइने कारावास जस्तो अनुभव भयो', अर्जुनले सुनाए, 'खाना पनि नमिठो अनि समयमा नआउने । यो वर्ष दशा पनि कम रहेनछ ।'

उनले होटल क्वारेन्टिनबापत १७५० पाउन्ड तिरेका थिए । तर, अहिले त्यो शुल्क बढेर २२८५ पाउन्ड पुगेको छ ।

****

माथि उल्लेखित समस्याले समग्र नेपालीको प्रतिनिधित्व गर्छ । जो बेलायत आउनै पर्ने अवस्थामा छन् वा यहींका बासिन्दा पनि आकस्मिक यात्रा गर्नु पर्दा अहिले ज्याँदै सकस भोगिरहेका छन् । विशेषगरी नेपालबाट बेलायत भित्रने यात्रुहरु बेलायतको कोभिड नियमका कारण प्रताडित बनेका हुन् । सरकारले अन्य देशबाट बेलायत भित्रँदा कोभिडको हानिकारक भेरियन्ट फैलन नपाओस् भनेर रेड, एम्बर र ग्रीन गरी तीन लिस्ट निर्धारण गरेको छ ।

‘रेड लिस्ट’मा रहेका देशबाट आउने यात्रुले १० दिन (११ रात) होटल क्वारेन्टिन बस्दा एक कोठाको प्रतिव्यक्ति २ हजार २८५ पाउन्ड, ११ वर्ष माथिकाले अतिरिक्त प्रतिव्यक्ति १ हजार ४३० पाउन्ड र ५ देखि ११ वर्षका बालबालिकाले अतिरिक्त ३२५ पाउन्ड तिर्नुपर्नेछ । पाँच वर्ष मुनिकालाई नि:शुल्क छ । होटल क्वारेन्टिन नियम उल्लंघन गरे १० हजार पाउन्डसम्म जरिवाना र जेल सजाय छ । यात्रा गर्नु तीन दिनअघि, बेलायत आइसकेपछि दोस्रो र आठौं दिनमा पीसीआर परीक्षण गरि नेगेटिभ रिजल्ट पेस गर्नुपर्नेछ ।

सरकारले निर्धारण गरेको क्वारेन्टिन शुल्क जागिरमात्र गरेर गुजारा गर्नेलाई निकै बढी हो । अहिले घुम्ने प्रयोजन (भिजिट भिजा) मा बेलायत आउन प्रतिबन्ध भए पनि ब्रिटिस राहदानीवाहक, बेलायतको आवासीय भिजा भएका र विद्यार्थी बेलायत आउन पाउँछन् ।

यतिखेर सेप्टेम्बर इन्टेकका लागि बेलायत आएका नेपालीसहित अन्य अन्तर्राष्ट्रिय विद्यार्थीले झन् सास्ती खेपिरहेको कन्सल्टेन्सीका एजेन्ट बताउँछन् । बेलायत आउने अन्तर्राष्ट्रिय विद्यार्थीका लागि होटल क्वारेन्टिन शुल्क सुरुमा अरु कसैले तिरिदिने तर पछि बैंकलाई 'कारोबारबारे म जानकार छैन' भनेर रकम फिर्ता माग्ने क्रम (फ्रेण्डली फ्रड) बढेपछि अहिले होटल बस्ने स्वयंको कार्डबाट तिर्नुपर्ने कडाईले नयाँ नेपाली विद्यार्थी थप प्रताडित बनेका बताइन्छ ।

लन्डनस्थित एक ट्राभल एजेन्सी ट्राभल कन्सोलका निर्देशक बिराज भट्टका भनाइमा ‘रेड लिस्ट’का कारण अहिले नेपाल जाने झण्डै ९० प्रतिशत यात्रु घटेका छन् ।

‘महँगो खर्चमात्र होइन्, समय महत्वपूर्ण भएकाले मानिसहरु अत्यावश्यक यात्राबाहेक झन्झट बेहोर्न चाहँदैनन्’, भट्टले कान्तिपुरसँग भने, 'कोभिड महामारी अगाडिसम्म दसैं तिहार र एनआरएनए अधिवेशनका बेला नेपाल जाने नेपालीले बुकिङ भरिइसकेको हुन्थ्यो, यो पटक सुनसान छ ।'

अहिले एयरलाइन्स पनि समग्रमा करिब ८० प्रतिशत घटेका अनुमान छ । नेपालबाट बेलायत आउन कतार र टर्कीसमात्र सहज उपलब्ध हुने भएकाले यात्रा धेरै कठिनाइ र महँगो भएको बताउँछन् भट्ट । ‘हामीले यात्रुको सुविधाका लागि नेपाल र लन्डन अफिसबाट टिकट, होटल बुकिङ र पीसीआर टेष्टको प्याकेजमा समन्वय गरिरहेका छौं । तर उड्ने धेरै छैनन्’, भट्टले गुनासो गरे ।

नेपाल सरकारले ब्रिटिस सरकारसँग पहल गरेर रेड लिस्टबाट हटाइदिए हुन्थ्यो भन्ने माग बेलायतस्थित नेपाली समुदायको छ । ‘भारत रेडबाट एम्बर लिस्टमा आउने तर नेपाल त्यहाँभन्दा कम संक्रमण भएको देश 'रेड'मै पर्नु विडम्बना हो’, अर्जुनले भने, 'बेलायत भारतबीच व्यापारिकलगायत स्वार्थका कारण भारतमा परिवर्तन भयो । हाम्रो पक्षमा कसले बोलीदिने ?'

एम्बर लिस्टमा रहेको देशबाट बेलायत भित्रिएका यात्रुले होटल नगइ आफ्नै घरमा १० दिन आइसोलेसन बसे हुन्छ ।

प्रकाशित : भाद्र १८, २०७८ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?