लन्डनमा १२औं संस्करणको नेपाली मेला

लन्डन — कोरोनाका कारण गत वर्ष स्थगित नेपाली मेलाको १२औं संस्करण सोमबार सकिएको छ । 'हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव' भन्‍ने नाराका साथ तमुधिं युकेले मेलाको आयोजना गरेको हो । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा केम्पटन पार्क रेस कोर्समा सम्पन्‍न मेलाका मुख्य आकर्षण झाँकी र नृत्य थिए ।

लन्डनमा १२औं संस्करणको नेपाली मेला

मेलामा परम्परागत रुपमा प्रयोग हुने हलो, जुवा, जाँतो, ढिकी, कुटो कोदालो समेत राखिएको थियो । गुरुङ, मगर, किरात राई, लिम्बू, तामाङ, नेवार लगायत विभिन्न जातीका मौलिकता झल्कने पोशाक र गरगहना पनि मेलाका आकर्षण थिए । मेलामा नेपाली कला, संस्कृति, परम्परा, रहनसहन, भेषभुषा झल्कने विभिन्न झाँकी, नृत्य प्रस्तुत गरिएका थिए । खाना, च्यारिटी, हस्तकलालगायतका विभिन्न व्यापारिक स्टल राखिएको थियो ।

मेला संयोजक वरिष्ठ उपाध्यक्ष हरि गुरुङका अनुसार सर्वोत्कृष्ट प्रस्तुति देखाएर सिक्लेस पार्चे कम्युनिटी यूकेले प्रथम पुरस्कार १ हजार १ सय पाउन्ड, ऐम्बेसडर कप र एनआरएनए यूके कप जित्यो । दोस्रो पुरस्कार चार भन्ज्याङ तमु समाज यूकेले ७ सय पाउन्ड पायो । तेस्रो पुरस्कार किरात राई यायोक्खा यूकेले ५ सय पाउन्ड पायो । उनीहरुको नेपाली मेलामा पहिलो सहभागिता थियो ।


झाँकीतर्फ सिक्लेस पार्चे कम्युनिटी यूके र चार भन्ज्याङ तमु समाज यूके क्रमशः प्रथम, द्वितीय भएर ५ सय र ३ सय पाउन्ड पाए । नृत्यमा पनि सिक्लेस टिमले नै जितेर ५ सय पाउण्ड र दोस्रो भई किरात राई यायोक्खाले ३ सय पाउन्ड प्राप्त गर्‍यो ।

सो अवसरमा बेलायतबासी गीतकार एकेन्द्र गुरुङद्वारा सम्पादित बेलायतमा नेपाली गीत पुस्तक पनि विमोचन गरिएको थियो ।

प्रकाशित : भाद्र १४, २०७८ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?