प्राध्यापक सुवेदीले निजी पुस्तकालय ल क्याम्पसलाई दिने- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्राध्यापक सुवेदीले निजी पुस्तकालय ल क्याम्पसलाई दिने

कान्तिपुर संवाददाता

लन्डन — बेलायतमा तीन दशकदेखि प्राध्यापन गर्दै आएका सूर्यप्रसाद सुवेदीले आफूले प्रकाशन र संग्रह गरेका अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारसम्बन्धी बहुमूल्य पुस्तकहरू नेपाल ल क्याम्पसलाई दिने घोषणा गरेका छन् । पुस्तकसँगै क्याम्पसलाई १० लाख रुपैयाँ पनि उपलब्ध गराउने उनले बताएका छन् ।

अन्तर्राष्ट्रिय कानुन र मानवअधिकार विषयका प्राध्यापक सुवेदीले बेलायतको हल विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा प्रथम भई स्नातकोत्तर गरेका छन् । त्यस्तै अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि तथा महाविद्यावारिधिजस्ता उपाधि हासिल गरेका छन् ।

त्यस क्रममा अध्ययन गरेका र प्राध्यापनका लागि किनेका ग्रन्थहरू आफूले कानुनमा स्नातक गरेको संस्थालाई दिने सुवेदीले निधो गरेका हुन् । ती सबै पुस्तक आफ्नै खर्चमा नेपाल पठाउने उनले बताए ।

बेलायतको लिड्स, लन्डन र अक्सफोर्डसहित विश्वका लब्धप्रतिष्ठ सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेका सुवेदीले ती ग्रन्थहरू नेपालका वर्तमान र भावी पुस्ताका लागि लाभदायी हुने आशा व्यक्त गरेका छन् । उनका अनुसार उक्त दस लाख रुपैयाँ क्याम्पसको मुद्दती खातामा जम्मा गरी त्यसको वार्षिक आयबाट पुस्तकालयमा नयाँ ग्रन्थ थप्दै जाने व्यवस्था मिलाइनेछ ।

प्रकाशित : श्रावण ८, २०७८ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्

बन्धकीमा जग्गा लिई सामूहिक खेती

सम्झना रसाइली

तनहुँ — सामुदायिक वनमा आवद्ध विपन्न उपभोक्तालाई बन्धकीमा खेत खरिद गरी सामूहिक खेती गर्न दिइएको छ । म्याग्दे गाउँपालिका–१ गुणादीस्थित बाराही सामुदायिक वनले विपन्न उपभोक्ताको आयआर्जन वृद्धि गर्ने उद्देश्यसाथ गाउँमा बाँझो रहेको खेत बन्धकीमा खरिद गरी सामूहिक खेती कार्यक्रम सञ्चालन गरेको हो ।

तनहुँको म्याग्दे गाउँपालिका–१ बाराही सामुदायिक वनद्वारा बन्धकीमा लिएको खेतमा धान रोप्दै समितिका सदस्य । तस्बिर सौजन्य : डिभिजन वन कार्यालय, तनहुँ

सेवा सुविधाको खोजीमा युवा सहर(/बजार केन्द्रित हुन थालेका छन् । गाउँघर छोड्न नसकेका विपन्न समुदाय आफ्नो खेतबारी नहुँदा ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका छन् । गाउँमा बाँझै बसेका खेतीयोग्य जमिनलाई उपयोगमा ल्याई विपन्न समुदायको जीवनस्तरमा परिवर्तन ल्याउने लक्ष्यसाथ सामुदायिक वनले सामूहिक खेती प्रणालीमा जोड्दै लगिएको अध्यक्ष मुक्तिनाथ थापाले बताए ।

‘बाँझो खेत बन्धकीमा लिएर गरिब तथा विपन्न समुदायलाई आयआर्जनसँग जोड्ने काम गरेका छौं,’ थापाले भने, ‘वनले ३६ रोपनी खेत ५ वर्षका लागि ८ लाख २५ हजार रुपैयाँ बन्धकीमा खरिद गरी विपन्न समुदायका उपभोक्तालाई सामूहिक खेती गर्न लगाएको हो ।’ व्यक्तिको जग्गा बन्धकीमा खरिद गरी २५ उपभोक्तालाई सामूहिक धान खेती गर्ने जिम्मा दिएको छ । ३ वर्षअघिदेखि नै व्यक्तिको जग्गा बन्धकीमा खरिद गरी समूहको नियम र कार्ययोजनाअनुसार उपभोक्तालाई सामूहिक खेती गर्न दिइरहेको थापाले बताए ।

वनमा आश्रित सबै उपभोक्तालाई सहभागी गराइएको र विपन्न वर्गको उत्थानका लागि पनि समूहले काम गरिरहेको अध्यक्ष थापाले बताए । उनले भने, ‘उपभोक्ता समितिमा आवद्ध विपन्न वर्गका समुदायको पहिचान गरी उनीहरूलाई खेतीमार्फत आयआर्जनसँग जोड्न सामूहिक खेती प्रणाली अगाडि बढाएका हौं ।’ यसअघि ८४ मुरी ६ पाथी धान र करिब ६० हजार रुपैयाँभन्दा बढीको पराल बिक्री वितरण गरिएको समूहले जनाएको छ । कृषकले खेतमा चैते धान, बर्खे धान तथा हिउँदको समयमा गहुँ, मुसुरो, केराउ, आलुजस्ता खेती गर्छन् ।

वनमा आवद्ध रहेर सामूहिक रूपमा खेती गर्न पाउँदा खुसी लागेको स्थानीय उमा सुनारले बताइन् । ‘खेती गरौं भने आफ्नो खेतबारी छैन,’ उनले भनिन्, ‘वनले बन्धकीमा खेत लिएर खेती गर्ने अवसर दिएको छ । यसले बजारबाट चामल किन्नुपरेको छैन ।’ आफूजस्ता दिदीबहिनी, दाजुभाइ पनि सहभागी भएको भन्दै उनले बाँझो खेत वनले बन्धकमा लिएर हामीलाई आयआर्जनसँग जोडिदिँदा धेरै सहज भएको छ । सामुदायिक वनको उपभोक्ता हुँदा वनबाट घाँस/दाउरा साथै सामूहिक खेती प्रणालीमा जोडिँदा खाद्यान्न समस्या पनि टरेको उनले बताइन् ।

समूहमा खेती गर्दा जीविकोपार्जनमा सहयोग पुर्‍याएको स्थानीय ५० वर्षीय टेकबहादुर कामीले बताए । ‘खेती गरेर एक जनाले वार्षिक करिब १० मुरी धान उत्पादन गर्छौं’, उनले भने, ‘उत्पादन भएका कृषि उपजहरू बराबर सबैमा बाँड्ने गर्छौं ।’ उमेर छँदा पसिना बगाएर सुन फलाएको खेतबारी बाँझो देख्दा मन खिन्न हुने गरेकामा अहिले हराभरा हुँदा व्यास–६ लोधका ६७ वर्षीय रत्नबहादुर थापा खुसी छन् । ‘छोराबुहारी सेवा सुविधाको खोजीमा बजार बसाइँ सरी गए । गाउँमै रहेका हामी बुढाबुढी अब खेतमा गएर कुटो, कोदालो गर्न सक्ने अवस्थामा छैनौं । वनले गरेको यो कार्य उदाहरणीय छ,’ उनले भने ।

रोजगारी, शिक्षा, स्वास्थ्यलगायत सेवासुविधाको खोजीमा स्थानीय सहर/बजारकेन्द्रित हुँदा गाउँघरका खेतबारी बाँझिंदै गएका छन् । ‘ऊबेला रोपाइँ गर्न कुनै खेत बाँकी रहन्थेन, सिँचाइ नपुगेका ठाउँमा कसरी हुन्छ पानी ल्याएर रोपाइँ गरियो,’ उनले भने, ‘अहिले मुस्किलले एकादुई खेतमा धान रोपिएको देखिन्छ ।’

सामुदायिक वनले सञ्चालन गरेको यो अभियान गरिबी न्यूनीकरणका लागि उदाहरणीय कार्य भएको सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले बताए । उनले भने, ‘सामुदायिक वन उपभोक्ता समितिले उठाएको यो कदमले विपन्न समुदायलाई आर्थिकसँग जोड्नुका साथै बाँझो खेतलाई उर्वर बनाउन मद्दत पुगेको छ ।’ जिल्लामा १२ हजार २ सय ३० हेक्टर क्षेत्रफलमा बर्खे धान खेती गरिन्छ । जिल्लाका चुँदीफाँट, साँगेफाँट, आँबुखैरेनीको बरादीलगायतका एक दर्जन बढी क्षेत्र धान खेतीको पकेट क्षेत्र मानिन्छ ।

प्रकाशित : श्रावण ८, २०७८ १२:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×