कोरियामा तलब बढ्ने- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरियामा तलब बढ्ने

मासिक रुपमा कामदारको न्यूनतम तलब १९ लाख १४ हजार ४ सय ४० (करिब १ लाख ९० हजार रुपैयाँ) हुने
गोकुल थोकर

सोल, दक्षिण कोरिया — दक्षिण कोरियाले सन् २०२२ का लागि कामदारको ज्याला वृद्धि गर्ने भएको छ । सोमबार अबेरसम्म बसेको ज्याला निर्धारण समितिले अहिलेको ज्यालामा ५.१ प्रतिशत बढाएर प्रतिघण्टा ९ हजार १ सय ६० वन (९ सय रुपैयाँ) बनाएको हो ।

मासिक रुपमा कामदारको न्यूनतम तलब १९ लाख १४ हजार ४ सय ४० ( करिब १ लाख ९० हजार रुपैयाँ) वन प्राप्त गर्ने छन् । ओभर टाइम र सार्वजनिक बिदाको समयमा काम गर्दा अतिरिक्त भत्ता पाउनेछन् ।

यो निर्णय गर्दा मजदुर युनियन र उद्योगी दुवै पक्षले विरोध गरिरहेका छन् । ज्याला निर्धारण समितिमा मजदुर युनियन, उद्योगी र सार्वजनिक क्षेत्रका ९/९ जना सदस्य रहने व्यवस्था छ । मजदुर युनियनले प्रतिघन्टा १० हजार वन हुनुपर्ने माग राख्दै आएका छन् भने उद्योगीहरुले कोरोना महामारीका कारण उद्योग धन्दा चल्न नसकेको कारण अहिलेको तलबमा १.५ प्रतिशत मात्रै बढाएर ८ हजार ८ सय ५० वन बनाउन प्रस्ताव राखेका थिए ।

धेरै पटकको बैठकमा पनि निष्कर्ष ननिस्किएपछि हिजो भएको बैठकमा उद्योगी र मजदुर युनियनका प्रतिनिधिले विरोध जनाउँदै बैठक छाडे पनि मतदानका आधारमा निर्णय गरेको हो । सरकारी र सार्वजनिक क्षेत्रका प्रतिनिधिले मात्रै मतदान गरेको थिए । समितिले गरेको ज्याला निर्धारण श्रम र रोजगार मन्त्रालयले आगामी अगस्टसम्म अनुमोदन गरेर जनवरी १ देखि लागू गर्नेछ ।

कोरियाली राष्ट्रपति मुन जे–इनले आफ्नो निर्वाचनका समयमा मजदुरको न्यूनतम ज्याला सन २०२० सम्ममा प्रतिघन्टा १० हजार पुर्‍याउने प्रतिबद्धता जनाएका थिए । तर उनको कार्यकालको अन्तिम वर्ष पनि उनको प्रतिबद्धता अनुसार तलब वृद्धि भने भएन । तलब वृद्धिले रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरिया आएका ३० हजार भन्दा बढी नेपाली कामदार लाभान्वित हुनेछन् ।

प्रकाशित : असार २९, २०७८ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्

ईपीएसमार्फत कोरिया आएका कामदारको कार्य अवधि एक वर्ष थपिने

गोकुल थोकर

सोल — दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नयाँ कामदार ल्याउन नसकेपछि कोरियामै भएका कामदारलाई एक वर्षको थप भिसा दिने भएको छ । मंगलबारदेखि लागू हुने गरी फेरिएको नियम अनुसार भिसा सकिन लागेका सबै कामदारको एक वर्ष कार्यअवधि स्वत: थपिनेछ ।

कोरोनाको महामारी सुरु भएपछि कोरियाले नयाँ कामदार ल्याउन ढिलाइ गरिरहेको छ । कमिटेड कामदारका रुपमा केही देशबाट कामदार आएका भएपनि नयाँ कामदार माग अनुसार ल्याएको छैन । वार्षिक ५० देखि ६० हजार ईपीएस मार्फत विदेशी कामदार कोरिया आउने भएपनि अहिले नगन्य मात्रामा कामदार कोरिया आएका छन् ।

कार्यअवधि सकिएका कामदार स्वदेश जाने क्रम बढ्दै गएपछि यहाँ विदेशी कामदारको अभाव हुँदै आएको छ । केही समयअघि पनि कृषि क्षेत्रमा काम गर्ने कामदारको अभावलाई कम गर्न ईपीएस मार्फत यहाँ आएर भिसा सकिएका कामदारलाई कृषि क्षेत्रमै काम गर्ने गरी मौसमी कामदारको एक वर्षको भिसा दिएको थियो । तर अन्य क्षेत्रमा पनि कामदार अभाव हुँदै गएपछि अप्रिल १३ देखि आउँदो डिसेम्बरको अन्तसम्म कार्यअवधि सकिने कामदारलाई १ वर्षको भिसा थपिने भएको भएको हो । चार वर्ष १० महिनाको भिसा अवधि सकिएपछि विभिन्न कारणले स्वदेश फर्कन नसकेकाहरुलाई ५० दिनको भिसा दिँदै आएको छ । यस्ता भिसामा रहेकाहरुलाई पनि १ वर्षको भिसा थपिने भएको छ ।

ईपीएस मार्फत कोरिया आएका कामदारले पहिले ३ वर्ष र कम्पनीलाई कामदार मन परे थप एक वर्ष १० महिनाको बोनस भिसा पाउँदै आएका छन् । अब भने ३ वर्ष कार्यअवधि सकाएकाको स्वतः एक वर्ष कार्यअवधि थप हुनेछ भने बोनस भिसाको रुपमा एक वर्ष १० महिना पनि काम गर्न पाउनेछन् । त्यसैले अब ईपीएस प्रणाली मार्फत कोरिया आएका कामदारहरुको कार्य अवधि ५ वर्ष १० महिना हुने भएको छ । साथै पाँच पटक मात्रै कम्पनी परिवर्तन गर्न पाउने नियमलाई थप खुकुलो बनाउँदै पाँच पटक कम्पनी परिवर्तन गरिसकेकाले पनि थप एक पटक कम्पनी परिवर्तन गर्न पाउने भएको छ ।

अहिले दक्षिण कोरियामा कोरोना महामारीको चौथो लहरको संक्रमण चलिरहेको छ । यससँगै तत्कालका लागि नयाँ कामदार ल्याउन अप्ठ्यारो रहेको कारण यसरी थप एक वर्ष कार्यअवधि बढाउन थालिएको हो । मंगलबारदेखि सुरु हुने नयाँ नियमबाट नेपाल लगायत १६ देशका कामदार लाभान्वित हुनेछन् ।

प्रकाशित : चैत्र ३०, २०७७ १९:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×