एनआरएनको निर्वाचन समिति गठन- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनको निर्वाचन समिति गठन

कान्तिपुर संवाददाता

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो १० औं महाधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ । संघको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार संघका अध्यक्ष कुमार पन्तले कार्यकारी सचिवालय बैठकको निर्णयअनुसार समिति गठन गरेका हुन् । 

वरिष्ठ अधिवक्ता लिलामणि पौड्याललाई प्रमुख आयुक्त तोकिएको समितिका सदस्यमा संघका संरक्षक रामप्रताप थापा, गणेश गुरुङ, देवकाजी डंगोल, चिरञ्जिवि ढकाल र विष्णुमाया परियार मनोनित भएका छन् । समितिको सदस्यसचिव भुषण घिमिरे तोकिएका छन् । यो समितिले दसौं महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन गराउने संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित : असार १७, २०७८ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्

हेलम्बुका ह्योल्मो

मुख्य रूपमा हेलम्बु गाउँपालिकामा ह्योल्मो समुदायको ऐतिहासिक संस्कार, रहनसहन, मातृभाषा, परम्परागत ज्ञान, उद्यमशीलता, प्रकृतिसँगको अन्तरसम्बन्ध, भौगोलिक निरन्तरता रहेको पाइन्छ ।
गणेश राई

ह्योल्मो जाति र ह्योल्मो भाषा पहिचान भएको दुई दशक मात्र पुगेको छ । यद्यपि, वाग्मती प्रदेशको हिमाली तथा पहाडी भेगमा आदिमकालदेखि ह्योल्मो जातिको बसोबास रहेको छ । ह्योल्मो भाषा तथा बौद्ध परम्परा निरन्तर छ ।

आसन्न १२ औं राष्ट्रिय जनगणनामा ह्योल्मो जातिको पहिचान कस्तो हुने भन्नेबारे समाजका अगुवाहरू यतिखेर चर्चा/परिचर्चा गर्दैछन् । त्यसैले जनगणनाको ८० भन्दा बढी प्रश्नावलीमध्ये पहिचानजन्य पाँचवटा बुँदामा केन्द्रित भएका छन् । जसअन्तर्गत जात/जाति ‘ह्योल्मो’, मातृभाषा ‘ह्योल्मो’, पुर्ख्यौली भाषा ‘ह्योल्मो’, दोस्रो भाषा ‘छिमेकको भाषा’ र धर्म ‘बौद्ध’ लेख्न/लेखाउन जुटेको जनाएका छन् ।

ह्योल्मो जातिको पहिचान, उत्थान र विकासको निम्ति नेपाल ह्योल्मो समाज सेवा संघ रहेको छ । संघका अध्यक्ष पेमा ज्याबा ह्योल्मोका अनुसार ह्योल्मो जातिको आदिम पुख्र्यौली थलो तथा सघन बसोबास रहेका जिल्लाहरू– सिन्धुपाल्चोक, नुवाकोट र रसुवा हुन् । यसबाहेक अन्य जिल्लामा पनि ह्योल्मो समुदायको बसोबास रहेको छ । मुख्यरूपमा हेलम्बु गाउँपालिकामा ह्योल्मो समुदायको ऐतिहासिक संस्कार, रहनसहन, मातृभाषा, परम्परागत ज्ञान, उद्यमशीलता, प्रकृतिसँगको अन्तरसम्बन्ध, भौगोलिक निरन्तरता रहेको पाइन्छ ।

‘हेलम्बुमा शेर्पा छैन तर कतिपयको नागरिकतामा शेर्पा छ,’ नागरिकतामा त्रुटि भएको उल्लेख गर्दै अध्यक्ष ह्योल्मो भन्छन्, ‘कसैको थर तामाङ लेखिएको छ । मेरै काका पर्ने पोखरामा हुनुहुुन्छ । उहाँको थर गुरुङ लेखेको छ । त्यसोभएको हुनाले अब चाहिं नागरिकतामा जे–जे लेखिए पनि जनगणनामा प्रष्ट आफ्नो ह्योल्मो जाति, ह्योल्मो मातृभाषा, बौद्धधर्म भनेर पहिचान खुल्ने हिसाबले उल्लेख हुनुपर्छ भनेर अभियान चलाएका छौं ।’ उनकै अनुसार आफूलाई ह्योल्मो भनेर चिनाउने अगुवाहरूको नागरिकतामा शेर्पा, लामा, तामाङ, गुरुङ, कागते, स्युबाजस्ता थर उल्लेख भएका पाइन्छन् ।

भोटे हुँदै शेर्पासम्म

आम समुदायले हिमाली भेगमा बस्ने मानिसलाई ‘भोटे’ र ‘शेर्पा’ भनेर जान्दछ । विज्ञका मतानुसार हिमाली समुदाय आफैंले ‘भोटे’ वा ‘शेर्पा’ भनेर चिनाएका होइनन् । तत्कालीन राज्य संयन्त्रले नै निर्माण गरेको नीतिले चिनाइएको हो ।

उतिखेर नेपालको पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म हिमाली भेगका बासिन्दा भोटे जाति भनेर चिनिन्थे । सरकारी कागजपत्रदेखि शिलापत्रसम्ममा भोटे नै भनेर उल्लेख पाइन्छन् । भोटे साझा पहिचानको शब्द थियो । राजा महेन्द्रले पञ्चायती शासन सुरु गरेपछि भोटे र शेर्पा बनाइयो ।

चीन स्वशासित तिब्बतमा कम्युनिस्टको अतिक्रमण हुँदा तिब्बेतियनहरू नेपालमा भागेर आउँथे । ती भागेर आउनेले नेपाल, भारत र चीन तीनैतर्फ पिरोल्यो । त्यसपछि नियन्त्रणका निम्ति भारत सरकारले हिमालीक्षेत्रको सीमानामा चेकपोस्ट राख्यो । चेकपोस्ट राखेपछि हिमाली भेगमा तिब्बेतियनहरुको संख्या ह्वात्तै बढ्यो । भोट सीमा वारिपारि व्यापार गर्नेले माओत्सेतुङको लकेट, रेडबुक, फोटो किनेर बोक्न थाले । त्यसले तत्कालीन राजा महेन्द्रलाई चिन्ताको विषय बन्यो ।

सीमा नाकामा कम्युनिस्टको प्रभाव बढ्न नदिन नेपाल सरकारले नागरिकता वितरण गर्न सुरु गर्‍यो । थर भोटे लेख्नेलाई शरणार्थी कार्ड दिने र नजिकको बाहुल्य रहेकालाई शेर्पा थर दिइयो । जब सन् १९५३ मा तेन्जिङ नोर्गेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरे त्यसपछि ‘शेर्पा’ जाति भनेर चिनाउन र चिनिने काम भयो । त्यसयता भोटे शब्द शेर्पामा बदलिन पुग्यो । उतिखेर लोकगायक धर्मराज थापाले ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ गीत गाएपछि सबैले शेर्पा जाति भनेर बुझ्न थाले । उता प्रशासनले शेर्पा थर लेखाउनेलाई तुरुन्तै नागरिकता दिन थाल्यो ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व सदस्यसचिव ताम्ला उक्याबका अनुसार सूचीकृत ५९ आदिवासी जनजातिमध्ये २२ वटाले ल्होसार मनाउँछन् । ‘पुरानो जमानामा तिनलाई सबैले भोटे भन्थे,’ पछिल्ला तीन दशकमा पहिचानको मुद्दा उठेकाले जनजागरण बढेको उल्लेख गर्दै उक्याब भन्छन्, ‘दार्चुलादेखि ताप्लेजुङसम्म भाषिका फरक छ । आपसमा बिहेवारी चल्छ । पढ्ने, लेख्ने, साहित्य, दर्शन सबैको एउटै हो ।’

हिमाली जातिको पहिचान

२०४६ सालमा बहुदलीय प्रजातन्त्र बहालीपछि मुलुकमा पहिचानको मुद्दा पेचिलो बन्यो । त्यही राजनीतिक परिवर्तनयता नेपाल बहुल जाति, बहुभाषा, बहुसंस्कृति र बहुधार्मिक मुलुक भनेर चिनिएको हो । २०४८ सालको जनगणना तथ्यांकमा तराईमा २९ जातजाति, पहाडमा २९ र हिमाली भेगमा २ जाति रहेको उल्लेख छ । जसमा शेर्पा र भोटे मात्र थिए ।

जनगणना २०५८ को प्रतिवेदनमा १०३ जातजाति उल्लेख छ । हिमाली भेगमा बसोबास गर्ने शेर्पा, भोटे, नुराङ, वालुङ, ह्योल्मो रहेका छन् । त्यसमा ह्योल्मो जातिको संख्या ५ सय ७९ जना थियो । तीमध्ये पुरुष २ सय ८१ र महिला २ सय ९८ रहेका थिए । तर, ह्योल्मो भाषा बोल्नेको संख्या भने ३ हजार ९ सय ८६ थियो ।

जनगणना २०६८ को तथ्यांकमा हिमाली भेगमा बसोबास गर्ने शेर्पा, भोटे, नुराङ, वालुङ, ह्योल्मो, ल्होमी, डोल्पो, ल्होपा, तोप्केगोला भनेर उल्लेख छ । यसो त उक्त जनगणनाको तथ्यांकमा सरकारले २०५८ सालमा सूचिकृत गरेका ५९ आदिवासी जनजाति सबै समेटिएका छैनन् । ‘जनगणनामा सूचिकृत आदिवासी जनजाति नै छुटेका छन्,’ आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बराम भन्छन्, ‘कतिपय जातिको संख्या कम र भाषा बोल्नेको संख्या अधिक देखिएको छ ।’

पछिल्लो जनगणनाले ह्योल्मो जातिको जनसंख्या १० हजार ७ सय ५२ देखाएको छ । भौगोलिक बितरणको आधारमा पूर्वी पहाडमा १ हजार ३ सय ५१, मध्ये हिमाल ४ हजार ९ सय ७४, मध्ये पहाड ३ हजार १ सय ९४ रहेका छन् भने अन्यत्र पाँच सयभन्दा कम संख्यामा छन् ।

ह्योल्मो जातिको मूलथलोको निकटमा तामाङ जाति छन् । ह्योल्मोको निकट भाषाहरू शेर्पा, वालुङ, तोप्केगोला, ल्होमी, डोल्पो आदि हुन् । ‘सांस्कृतिक रूपमा टुङ्ना बजाउने ह्योल्मो हुन् भने डम्फु बजाउने तामाङ हुन्,’ जनजाति महासंघका पूर्वमहासचिव आङ्काजी शेर्पा भन्छन्, ‘विगतमा शेर्पा थर लेखे पनि ह्योल्मो शेर्पाभन्दा फरक जाति हो ।’

समाज मनोविज्ञानमा बख्खु लगाउने शेर्पा हुन् भन्ने लाग्छ । ह्योल्मो भाषा तथा संस्कृति अनुसन्धाता किन्जो ओमु ह्योल्मो भन्छिन्, ‘बख्खु लगाउने जति सबै शेर्पा होइनन् ।’ यसैगरी प्रदेश–१ सांसद काजीमान कागते (ह्योल्मो) का अनुसार ह्योल्मो छोरीचेलीको नाक छेडिंदैन । बिहेमा सिन्दुरपोते गरिंदैन । ह्योल्मोहरूको थातथलोमा भाषिक तथा सांस्कृतिक निरन्तरता यथावत रहेको पाइन्छ । थातथलोबाट अन्यत्र बसोबास गरेका ह्योल्मोहरूमा अन्य भाषा र संस्कृतिको प्रभाव रहेको पाइन्छ ।

ह्योल्मो भाषा जोगाउने अभियान

यतिखेर ह्योल्मो भाषा संरक्षण निम्ति समुदायका अगुवाहरू जुटिरहेका छन् । ह्योल्मो कलाकारहरूले मातृभाषामा गीत गाउन जोड दिंदैछन् । ह्योल्मो गीतहरूमा चुलु, बाटा लु, छेर लु, छ्याङ लु, चोम लु, मणिछेपा, छेच्यु लु जस्ता लोकभाकाहरू छन् । ह्योल्मो मातृभाषा र यो भाषासँग सम्बन्धित ज्ञान, सीप, परम्पराहरू छन् । ती ज्ञानका भण्डारलाई पुर्खाले सम्भोटा लिपिमा लिपिबद्ध गरिदिएका छन् ।

ह्योल्मो जातिको मातृभाषा जीवित छ । परिचय दिने खालका केही पुस्तक प्रकाशित छन् । सम्भोटा लिपिमा लेखिएका अधिकांश पुस्तक धार्मिक ग्रन्थ, परम्परागत सीप, स्वास्थ्य तथा आयुर्वेद शिक्षाजस्ता विषयका छन् । सम्भोटा लिपि जथाभावी लेख्न हुँदैन भन्ने धारणाले दैनिक व्यवहारमा लागू हुन सकेको छैन । त्यसैले देवनागरी र रोमन लिपि ह्योल्मो भाषामा लेख्ने गरिएको छ ।

हेलम्बुका युवा टासी ह्योल्मो मातृभाषा संरक्षण अभियानमा छन् । उनी ह्योल्मो सञ्चार समूहमार्फत् काठमाडौंबाट प्रसारण हुने इन्डिजिनियस टेलिभिजन र आइटिभी नेपालमा ह्योल्मो भाषाको ‘भेह्युल ह्योल्मो’ साप्ताहिक कार्यक्रम चलाउँछन् । ‘भर्चुअलको जमाना छ, त्यसैले जमानाअनुसार भाषा जोगाउन पहल नगरे चाँडै लोप हुनेछ,’ टासी भन्छन्, ‘जे–जसरी हुन्छ, टेलिभिजन, एफएमको माध्यमबाट भाषा प्रवद्र्धन गर्ने प्रयास जारी छ । सरकारी निकायको साथ पनि खोज्दैछौं ।’

पुस्तौंदेखि एउटै भूगोलमा ह्योल्मो जातिको सामूहिक बस्ती छ । धार्मिक, सामाजिक तथा सांस्कृतिक संरक्षण (ह्युल्ठिम) को निरन्तरता छ । लामा, गोवा, क्षेटिम्बा, उम्जे, छ्येपेन, ढावाले धार्मिक संस्कार पूरा गर्दै आएका छन् । सामाजिक परम्परामा प्रथाजनित कानुन अहिलेसम्म निरन्तर छ । थाङ्का चित्रकला, मूर्तिकला, काष्ठकला छन् ।

‘हेलम्बु भेगमा प्रत्येक घरमा ह्योल्मो भाषा प्रयोग गर्छन्,’ वाग्मती प्रदेश सांसद निमा लामा ह्योल्मो भन्छन्, ‘स्कुलमा बाहेक घरव्यवहार, चाडवाडमा ह्योल्मो भाषा बोलिन्छ । सम्भोटा लिपि प्रयोग गरिन्छ । ह्योल्मो नै हाम्रो मातृभाषा हो । जबसम्म स्कुलमा मातृभाषाबाट पठनपाठन हुँदैन तबसम्म यसको महत्त्व जगाउन सकिन्न ।’ प्रथाजन्य रीतिथितिहरू कायम रहेको उनले जनाए ।

हेलम्बुबाट पूर्वी इलाम बसाइँ सरेका ह्योल्मोहरू अहिले पनि मातृभाषा बोल्छन् । ‘हाम्रो किपट सिन्धुपाल्चोक हेलम्बु हो,’ प्रदेश–१ सांसद काजीमान कागते (ह्योल्मो) भन्छन्, ‘उहिल्यै धेरै पुस्ताअघिका बाजेपुस्ता दुम्जागढी हुँदै इलामको माइपोखरी आउनु भएछ । माइपोखरी पड्किन्छ भन्ने हल्ला भएछ । त्यसपछि कन्याम आएर बसोबास गर्नुभएछ । पहाडे कागजको काम र पेसा गर्दै आएपछि कागते भयौं । कागते पेसाको थर हो । हामी ह्योल्मो हौं ।’ ह्योल्मो भाषा व्यवहारमा कायम रहेको उनले बताए ।

ह्योल्मो फाउन्डेसनका अध्यक्ष विनोद लामा ह्योल्मोले अहिले मातृभाषा संरक्षणका निम्ति काम भइरहेको जनाए । ‘ह्योल्मो भाषाका वर्ण पहिचान भएको छ,’ ह्योल्मो समाज सेवा संघका पूर्व अध्यक्षसमेत रहेका उनले भने, ‘गाउँगाउँमा गोष्ठी भएको छ । हेलम्बु, काठमाडौं उपत्यकानजिक छ । गाउँबाट सहर पसेर बस्ने क्रम बढेको छ । सहरनजिकै रहेको सानो समुदायको भाषा हराउँदो रहेछ ।’

ह्योल्मो बसोबास क्षेत्रका विद्यालयमा ह्योल्मो भाषामा पठनपाठन गर्ने पहल अघि बढेको जनाइएको छ । साथै ह्योल्मो क्षेत्रमा ह्योल्मो भाषालाई सरकारी कामकाजको भाषा बनाउने माग पनि अघि बढेको छ । भाषा धर्मसँग सम्बन्धित भएकोले धार्मिक कर्मको पक्ष बलियो रहेको उनको दावी छ । ‘हाम्रो समुदायको धर्म स्थिर छ । जथाभावी धर्म परिवर्तन गरेका छैनन्,’ उनको कथन छ ।

ह्योल्मो भाषा खोज्दै भाषा आयोग

भाषा आयोगले आर्थिक वर्ष २०७७/७८ मा ‘ह्योल्मो भाषाको भाषिक इतिहास’ शीर्षकमा अनुसन्धान गराएको छ । अनुन्धान कार्य आयोग र ह्योल्मो सञ्चार समूहको सहकार्यमा भएको हो । प्रमुख अनुसन्धाता डा. डिल्लीराम रिमालका अनुसार ह्योल्मो भाषा बोलीचाली सिन्धुपाल्चोकको सेर्माथाङ, मेलम्चीघ्याङ र तार्केघ्याङ क्षेत्रलाई मध्यविन्दु मानेर हेर्न सकिन्छ । केही रामेछापमा, लमजुङमा पनि छन् ।

‘हेलम्बु क्षेत्रमा स्थानीय मातृभाषा बोल्छन्,’ सरकारका पूर्वसचिव रिमाल भन्छन्, ‘यस क्षेत्रमा सात–आठ हजार जनसंख्यामा ह्योल्मो रहेका छन् । त्यहाँ बाहिरका मान्छेहरू बसाइँं सरेर बस्न नपाउने भएका हुनाले उनीहरूको भाषा जीवित रहेको हो ।’ भोट–तिब्बती भाषा परिवारमा रहेको ह्योल्मो भाषा सम्भोटा लिपिमा लेखिने गरेको उनले बताए ।

रिमालका अनुसार हेलम्बु क्षेत्रमा एकप्रकारको राज्य व्यवस्था कायम छ । ‘त्यहाँ तपाइँ गएर घर, जग्गा किन्न सक्नु हुन्न,’ ह्योल्मो भाषा, संस्कृति, परम्परा कायम रहनुको कारणबारे रिमाल भन्छन्, ‘स्थानीयले मात्र जग्गा किन्न सक्छ । अन्यत्र बसाइँ सरेर जान सक्छन् तर त्यो ठाउँमा बसाइँ सरेर आउन पाइँदैन । नयाँ मान्छे आएर बसोबास गर्न पाउँदैन । उनीहरूको पहिलेदेखिको व्यवस्था यस्तै रहेछ ।’

अर्का अनुसन्धाता राजनलाल जोशीका अनुसार पूर्वी भेग इलाममा बस्नेले आफूलाई योल्मो भन्छन् भने मूलथलोमा रहेकाले ह्योल्मो भन्छन् । ‘ह्योल्मोको मूलथलो हेलम्बु हो,’ यो जातिको संस्कृति मिलारेपासँग सम्बन्धित रहेको उल्लेख गर्दै जोशी भन्छन्, ‘थोरै संंख्यामा भए पनि भाषा राम्रो छ । गुम्बा परम्पराअनुसार गरिएका सांस्कृतिक गतिविधिले भाषा जोगाइरहेका छन् ।’

फोटो सौजन्य : ह्योल्मो सञ्चार समूह र किन्जो ओमु ह्योल्मो

प्रकाशित : असार १७, २०७८ १३:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×