कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

दुई वर्षपछि खुल्यो बेइजिङको श्वेत चैत्य

लक्ष्मी लम्साल

बेइजिङ — झण्डै २ वर्षको अन्तरालपछि नेपाली कालिगढ अरनिकोले बनाएको बेइजिङको श्वेत चैत्य सर्वसाधारणका लागि खुला गरिएको छ। जीर्णोद्धारका क्रममा सन् २०१९ नोभेम्बरदेखि बन्द रहेको श्वेत चैत्य सन् २०२१ को जुन दोस्रो सातादेखि खोलिएको हो । 

दुई वर्षपछि खुल्यो बेइजिङको श्वेत चैत्य

श्वेत चैत्य मन्दिर व्यवस्थापन कार्यालयले चिनियाँ सामाजिक सञ्जाल ‘वोइपो’ को आफ्नो आधिकारिक अकाउन्टबाट जारी गरेको सूचना अनुसार मर्मत कार्य पूरा भएपछि प्यागोडा घुमघाम गर्न सर्वसाधारण समक्ष खुल्ला गरिएको छ। यसअघि मन्दि सञ्चालकले औपचारिक कार्यक्रमका साथ पुनः खुल्ला गर्ने योजना बनाएपनि कोरोना महामारीलाई मध्यनजर राखेर त्वानवुच्ये अर्थात् ड्रागन बोट फेस्टिभलको अवसर पारेर पर्यटकलाई प्रवेश गराएको थियो । बेइजिङस्थित नेपाली राजदूतावासले पनि कुनै औपचारिक कार्यक्रम नगरिएको र महामारी नियन्त्रणलाई समर्थन गरिएको बतायो ।

जीर्णोद्धार अघि राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१९ को अप्रिलमा श्वेतचैत्यको भ्रमण गरेकी थिइन्। दोस्रो अन्तर्राष्ट्रिय बीआरआई सम्मेलनमा भाग लिने क्रममा बेइजिङ उत्रिएकी भण्डारी नै श्वेतचैत्यको भ्रमण गर्ने पछिल्लो नेपाली उच्च अधिकारी थिइन्। प्यागोडा परिसरभित्र एउटा कक्षमा हालसम्म नेपाली उच्च तहबाट गरिएका भ्रमण गतिविधिका फोटोहरू संग्रह गरिएको छ ।

श्वेत चैत्यको जीर्णोद्धार गरिएको यो पाँचौ पटक हो । सन् १९४९ मा नयाँ चीन स्थापनापछि चीनले श्वेत चैत्यलाई उच्च महत्व दिएका कारण ऐतिहासिक सांस्कृतिक क्रान्तिका क्रममा पनि यो भत्किनबाट जोगिएको थियो । त्यसयता हालसम्ममा पाँच पटक जीर्णोद्धार भइसकेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । यसपटकको मर्मतमा मुख्यतया चार मुख्य हलहरूको छत उठाउँदै छाना चुहावट तथा बीचका बाटोमा विकृत भएका बीम फ्रेमहरू सुधारिएको छ । एक चिनियाँ स्थानीयले भने, ‘म श्वेत चैत्य नजिकै काम गर्छु। प्रत्येक पटक प्यागोडालाई टाढैबाट मात्र देख्नसक्थें। मन्दिर खुलेपछि देखें कि, रातो पर्खाल र सेतो टावरहरू कति सुन्दर रहेछन् ! ’

सांस्कृतिक अवशेष तथा वास्तु मर्मत सम्बन्धी उपलब्धिहरूको प्रदर्शनीपछि बेइजिङको केन्द्र फुछङमनमा रहेको श्वेतचैत्य आसपासका स्थानीयवासीहरू आकर्षित भएको चिनियाँ सामाजिक सञ्जालहरूमा लेखिएको छ । श्वेत चैत्यमा रौनक बढेलगत्तै आसपासको व्यापार व्यवसाय चलमलाउन थालेको स्थानीयले बताए । चिनियाँहरूका अनुसार तिब्बती शैलीको यो प्यागोडा चीनमा बनेको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो सम्पदा हो । चिनियाँहरूले ‘मियाओयिङ वा पाइ था स्’ भन्ने श्वेत चैत्य टावरलाई सन् १९६१ मा राष्ट्रिय प्रमुख सांस्कृतिक अवशेष संरक्षण इकाईहरूको पहिलो समूहमा सूचिबद्ध गरिएको थियो।

सन् १२४४ मा मल्ल राजवंशकालमा नेपालको पाटनमा जन्मिएका कलाकार अरनिकोले चीनमा आएर ३ वटा प्रसिद्ध बौद्ध धार्मिक प्यागोडा निर्माण गरेका थिए। तिब्बती सुनौलो प्यागोडा, बेइजिङको सेतो प्यागोडा र वल्लो शान्सी प्रान्तस्थित उथाइशान प्यागोडा निर्माण गरेका थिए । चिनियाँ युआन राजवंशकालमा सन् १२७९ मा करिब ८ वर्ष लगाएर बनाइएको श्वेत चैत्य तत्कालीन युगको सबैभन्दा अग्लो र भव्य संरचना मानिन्थ्यो ।

श्वेतचैत्यमा प्रवेश गर्न चिनियाँ पर्यटकलाई २० आरएमबी शूल्क लाग्छ भने नेपालीका लागि प्रवेश निःशुल्क छ।

प्रकाशित : असार ८, २०७८ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?