२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेपालमा लगानी गर्न एनआरएन अफ्रिका भेन्चर्स स्थापना

अफ्रिका — अफ्रिकामा रहेका गैरआवासीय नेपालीहरुले सामूहिक लगानी गर्न भन्दै एनआरएन अफ्रिका भेन्चर कम्पनी स्थापना गरेका छन् । 

नेपालमा लगानी गर्न एनआरएन अफ्रिका भेन्चर्स स्थापना

नेपालको उर्जा, कृषि, स्वास्थ्य, बैंकिङ, पूर्वाधार र अन्य क्षेत्रमा लगानी गर्न एनआरएन अफ्रिका भेन्चर्स लिमिटेड कम्पनी नेपालमा स्थापना गरेको भेन्चर्सका प्रमुख हिक्मत थापाले कान्तिपुरलाई बताए ।

हाललाई सय करोड पुँजी रहने यो कम्पनी मूलत: अफ्रिकाका गैरआवासीय नेपालीहरुबाट सुरु गरेपनि यसमा अन्य गैरआवासीय नेपाली र नेपाल फर्किसकेका पूर्व एनआरएनहरुलाई पनि संलग्न गराइने छ । कम्पनीले कृषि, उर्जा, पुर्वाधार र आइटी लगायतका योजनाहरुमा लगानीको लागि प्रारम्भिक कार्य सुरु गरिसकेको जनाइएको छ ।

विदेशमा कार्यरत नेपालीहरुलाई नेपालको समृद्धिमा जोड्ने गैरआवासीय नेपालीहरुको क्रमबद्ध प्रयासमा अफ्रिकाका नेपालीबाट संयुक्त रुपमा प्रारम्भ गरिएको यो नयाँ लगानी हो । "यसले अफ्रिका महादेशको विभिन्न मुलुकमा बसेका नेपालीहरु पनि नेपालको समृद्धिमा साझेदारी गर्न चाहन्छन् भन्ने देखाउँछ" कम्पनीका अध्यक्ष थापाले भने ।

यस अघि पनि यहाँका नेपालीहरुले नेपालको पूर्वाधार, उर्जा, स्वास्थ्य, उत्पादनमूलक उद्योग र विविध क्षेत्रमा विभिन्न माध्यमबाट लगानी गरिरहेको थापाले बताए ।

अफ्रिकाका सबै देशमा रहेका लगभग सय जना नेपालीहरु आबद्ध भइसकेको यो कम्पनीले अफ्रिकाबाहेक अन्य महादेशका गैरआवासीय नेपाली र नेपालभित्र रहेका नेपालीहरु समेतलाई समेटेर एक हजार जना लगानीकर्ता बनाउने अभियान चलाएको छ । कम्पनीले आर्थिक लगानीमात्र नहेरी यताको सीप र व्यवस्थापनका ज्ञान पनि नेपालमा लग्ने योजना बनाएको अफ्रिका भेन्चर्सका निर्देशक तथा गैर आवासीय नेपाली संघ अफ्रिकाका संयोजक रोशन थापाले बताए ।

कम नेपाली भएको महादेश र आर्थिक रुपले अपेक्षाकृत रुपमा पछाडि मानिएको अफ्रिका क्षेत्रबाट भएको यो प्रयासले अन्य क्षेत्र र देशमा बसेका नेपालीलाई पनि नेपालमा लगानी गर्न थप उत्प्रेरणा दिने काठमाडौंमा रहेका कम्पनीका अर्का निर्देशक दीपक कर्णले बताए ।

उनको भनाइमा नेपालमा यसअघि छुट्टाछुट्टै रुपमा सुरु भएका अफ्रिकावासी एनआरएनका व्यवसाय र लगानीलाई पनि यसले जोडेर संयुक्त रुपमा अगाडि बढाउन सहजीकरण गर्ने छ ।

प्रकाशित : असार २, २०७८ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?