एनआरएनएद्वारा अरनिको अन्तर्राष्ट्रिय पुरस्कार स्थापना- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनएद्वारा अरनिको अन्तर्राष्ट्रिय पुरस्कार स्थापना

कान्तिपुर संवाददाता

पेरिस — गैरआवासीय नेपाली संघ (एनआरएनए) को भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले प्रवासी नेपालीको उत्कृष्ट पुस्तकलाई पुरस्कृत गर्न अरनिको पुरस्कार स्थापना गरेको छ । नेपाली भाषामा प्रकाशित कुनै पनि विधाको उत्कृष्ट पुस्तकलाई वार्षिक दुई लाख र प्रमाणपत्र दिने गरी पुरस्कार स्थापना गरिएको हो ।

उक्त पुरस्कारका लागि एनआरएनएका पूर्व केन्द्रीय कोषाध्यक्ष हिकमत थापाको संयोजकत्वमा नयनराज पाण्डे, नीलम कार्की निहारिका, ददि सापकोटा, महेश्वर पन्त रहेको समिति गठन गरिएको छ । समितिको सल्लाहकारमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्त र एनआरएनए पूर्वअध्यक्ष जीवा लामिछाने छन् ।

आइतबार बसेको समितिको बैठकले पहिलो पुरस्कार वर्ष २०७७ मा लेखिएका गैरआवासीय नेपाली लेखकमध्ये नेपाली वाङ्मय क्षेत्रको एक उत्कृष्ट पुस्तकलाई दिने निर्णय गरेको छ ।

पुरस्कार प्रत्येक वर्षको गैरआवासीय नेपाली संघको साधारणसभा वा अक्टोबरमा आयोजना गरिने एनआरएन डेको अवसर पारेर दिइनेछ । समितिले पुरस्कारका लागि उक्त अवधिमा लेखिएका पुस्तक पठाउन लेखक, प्रकाशक, संघसंस्था र लेखकका शुभचिन्तकलाई आह्वान गर्ने निर्णय गरेको छ ।

पुस्तकहरू अमेरिकाको बोस्टन, फ्रान्सको पेरिस र नेपालमा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सचिवालयमध्ये कुनै एक ठाउँमा तलको ठेगानामा सन् २०२१ को जुलाई मसान्तभित्र पठाउनुपर्नेछ ।

प्रकाशित : जेष्ठ २३, २०७८ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनी प्रदेशका ३८ स्थानीय तहका कोभिड कोषमा हेफरद्वारा ५ करोड सहयोग

कान्तिपुर संवाददाता

पाल्पा — लुम्बिनी प्रदेशका ३८ स्थानीय तहका कोभिड कोषमा हेफर इन्टरनेसनल नेपालले ५ करोड ३ लाख रुपैयाँ सहयोग गरेको छ । कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि स्थानीय तहले खर्च गर्न सक्ने गरी शुक्रबार उक्त रकम जम्मा गरिएको हो ।

हेफर इन्टरनेशनल नेपालले कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि पाल्पाको तिनाउ गाउँपालिकाको कोभिड कोषमा जम्मा गर्न शुक्रबार १५ लाखको चेक हस्तान्तरण गर्दै । हेफरले लुम्बिनी प्रदेशका ३८ स्थानीय तहमा ५ करोड ३ लाख सहयोग गरेको छ । तस्बिर : माधव अर्याल/कान्तिपुर

पाल्पाका स्थानीय तहले प्रदेशमै सबैभन्दा धेरै १ करोड ४९ लाख रुपैयाँ पाएका छन् । गुल्मीले ८० लाख, रूपन्देहीले ६६ लाख, बाँकेले ८५ लाख, दाङले ३६ लाख रुपैयाँ पाएका छन् । अर्घाखाँचीले २५ लाख, प्यूठानले १७ लाख ५० हजार, बर्दियाले ३५ लाख, कपिलवस्तुले ९ लाख ५० हजार रुपैयाँ पाए ।

सामाजिक स्रोत विकास केन्द्र नेपालको समन्वयमा कोभिड संक्रमितको उपचार र रोकथामका लागि पाल्पामा सहयोग गरेको हेफर इन्टरनेसनल नेपालका कार्यक्रम प्रबन्धक अनन्त सिलवालले बताए । अन्यत्रका जिल्लामा सहयोगी गैरसरकारी संस्थामार्फत नै रकम जिल्लामा पुग्नेछ । ती संस्थाले सम्बन्धित स्थानीय तहको कोभिड कोषमा रकम जम्मा गर्नेछन् ।

‘हेफरको कार्यक्षेत्रका स्थानीय तहका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर रकम जम्मा गरेको हो,’ कार्यक्रम प्रबन्धक सिलवालले भने, ‘रकमबाट स्थानीय तहले अक्सिजन सिलिन्डर, अक्सिजन रिफिल, भेन्टिलेटर, पीपीई सेट, अक्सिमिटरलगायतमा खर्च गर्न सक्नेछन् ।’

प्रकाशित : जेष्ठ २३, २०७८ १०:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×