कतारका नेपाली व्यवसायीले एक करोडको स्वास्थ्य सामग्री पठाउँदै - प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतारका नेपाली व्यवसायीले एक करोडको स्वास्थ्य सामग्री पठाउँदै 

कान्तिपुर संवाददाता

काठमाडौँ — कतारस्थित नेपाली व्यवसायीहरुले एक करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पठाउने भएका छन् । नेपाल बिजेनस एसोसिएसन कतारले भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र पल्स अक्सिमिटर पठाउन लागेको हो । 

एसोसिएनका अध्यक्ष महेन्द्रप्रसाद चौलागाईंका अनुसार १४ वटा भेन्टिलेटर, ५० वटा अक्सिजन कन्सन्ट्रेटर, तीन हजार वटा पल्स अक्सिमिटर र ५० वटा नसल क्याननुल पठाउन लागिएको हो । यी सामग्री १० दिनभित्र काठमाडौं पुग्नेछ ।

अध्यक्ष चौलागाईंले सामग्री स्वास्थ्य मन्त्रालयमार्फत आवश्यकताअनुसार सातै प्रदेशमा पठाइने बताए । ‘अक्सिजनको अभाव भएर एक मुठी स्वास फेर्न पनि मुस्किल परेको र स्वास्थ्य सामग्रीको अभावमा उचित स्वास्थ्य उपचार पाउन नसकेर अकालमा ज्यान गइरहेकोले कारुणीक दृश्यले हामी विदेशमा शान्तिसँग बस्न सकिरहेको छैन । मातृभूमिमा विपद परेको अवस्थामा कतारका व्यवसायीहरु एकजुट भएका छौं’, उनले भने ।

कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्धजको संरक्षकत्वमा एसोसिएसनले रकम संकलन गरेको हो । एसोसिएसनका महासचिव रमेश भट्टले ६८ जना व्यवसायीले १ लाखदेखि ८ लाख रुपैयाँसम्म सहयोग गरेका छन् । व्यवसायीहरुले यसअघि पनि ओमानबाट ५६० वटा अक्सिजन पठाउँदा पनि सहयोग गरेका थिए ।

कतारमा क्रियाशील नेपाली संस्थामध्ये नेपाल बिजनेस एसोसिएसनले मात्रै कानुनी मान्यता पाएको छ । कतारमा नेपालीको लगानीमा रेस्टुरेन्ट, मेडिकल, निर्माण कन्ट्रक्सन, ग्यारेज, किराना पसल, श्रमिक आपूर्ति कम्पनीहरु संचालित छन् । कतारमा करिब तीन लाख ५० हजार नेपाली कार्यरत छन् ।

प्रकाशित : जेष्ठ १२, २०७८ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्

सरकार टिकाउन नागरिकता अध्यादेश ल्याएको भन्दै वैज्ञानिक समाजवादी पार्टीद्वारा विरोध

कान्तिपुर संवाददाता

काठमाडौँ — वैज्ञानिक समाजवादी पार्टीले सरकार टिकाउन नागरिकताजस्तो विषयलाई समेत राजनीतिक दाउपेचको विषय बनाएर छेडछाड गर्ने सरकारको हर्कतको भर्त्सना गरेको छ । संसद्‌मा नागरिकतासम्बन्धी विधेयक अल्झाएर अध्यादेश ल्याइएकोमा सरकारको नियत र रवैया षड्यन्त्रकारी भएको भन्दै उक्त पार्टीले विरोध जनाएको हो ।

वैज्ञानिक समाजवादी पार्टीका संयोजक आहुतिले बुधबार विज्ञप्ति निकाल्दै सरकार टिकाउन नागरिकता जस्तो विषयलाई राजनीतिक दाउपेजको विषय बनाएर छेडछाड गर्ने सरकारको कार्यप्रति पनि विरोध जनाएका छन् ।

'आफ्नोसमेत सहमति भएको विधेयक संसद्‌मा वर्षौं पारित हुन रोक्ने अनि नागरिकताको सम्बन्धमा उठेका न्यायपूर्ण आवाजहरूलाई कुल्चिरहने,' विज्ञप्तिमा भनिएको छ, 'तर आज सरकार टिकाउन नागरिकताजस्तो विषयलाई समेत राजनीतिक दाउपेचको विषय बनाएर छेडछाड गर्ने सरकारको हर्कतको भने हामी भर्त्सना गर्दछौं ।'

जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गर्ने विषय कुनै कोणबाट पनि राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषय नभएको भन्दै संयोजक आहुतिले नागरिकका सम्बन्धमा वास्तविक समस्या र विवाद समाधनमा हस्तक्षेप बढाउन सबैलाई अपील गरेका छन् । तर वैज्ञानिक समाजवादी पार्टीले अहिले जारी भएको अध्यादेशले जन्मसिद्ध नागरिकता प्राप्त गरेका १ लाख ९० हजार ७२६ जनाका सन्तानलाई नागरिकता प्रदान गर्ने बाटो खुल्ने अध्यादेशको यो व्यवस्था स्वाभाविक र अनिवार्य भएको उल्लेख गरेको छ । साथै उनले मुलुकमा नागरिकतामाथि छेडछाड भएका र हुन सक्ने कुनै पनि प्रकारका नकारात्मक गतिविधि निरन्तर अनुगमनका निम्ति शक्तिशाली केन्द्रीय स्थायी आयोग खडा गर्न पनि विज्ञप्तिमार्फत माग गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता अध्यादेश जारी गरेकी थिइन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारको समर्थन गरिरहने बनाउनका निम्ति उक्त अध्यादेश ल्याएको भन्दै सरकारको आलोचना भइरहेको छ ।

प्रकाशित : जेष्ठ १२, २०७८ २१:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×