२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

‘हामी अस्ट्रेलिया आउन पाउने कहिले ?’

नारायण खड्का

अस्ट्रेलिया — कोरोना महामारी फैलनभन्दा केही साताअघि मात्र नेपाल गएका चितवनका मनीष श्रेष्ठले अस्ट्रेलियास्थित नेपाली दूतावासमा इमेल लेखेर आफू कहिले अस्ट्रेलिया फर्कन पाउने हो त्यसको जानकारी गराइदिन आग्रह गरे । उनले आफ्नो अध्ययन रोकिएकाले अस्ट्रेलिया फर्किएर आफू १४ दिन क्वारेन्टाइन बस्न तयार रहेको जानकारीसमेत दिए ।

‘हामी अस्ट्रेलिया आउन पाउने कहिले ?’

त्यस्तै, काठमाडौंबाट मेलबर्नस्थित एक कलेजमा अध्ययन भिसा पाएकी रश्मि महर्जनले समेत क्यानबेरास्थित दूतावासमा दुईपटकसम्म फोन सम्पर्क गरेर अध्ययनका लागि कहिलेसम्म अस्ट्रेलिया आउन पाइने हो जानकारी गराइदिन आग्रह गरिन् । तर दूतावासले दुवैलाई अस्ट्रेलिया आउने बारे कुनै यकिन मिति र यथार्थ जानकारी दिन सक्यो न त आश्वासन नै ।

अस्ट्रेलियास्थित नेपाली राजदूत महेशराज दहालका अनुसार दैनिक रुपमा तीन किसिमका विद्यार्थीले दूतावासमा टेलिफोन, इमेल मार्फत विभिन्न अनुरोध गर्ने गरेका छन् । पहिलो कोरोना महामारीअघि नेपाल गएका र फर्किन नपाएका, अर्को अस्ट्रेलियाको भिसा पाएर उतैबाट अनलाइन अध्ययन गरिरहेका र भिसा पाएर अध्ययनका लागि अस्ट्रेलिया आउने बाटो हेरिरहेका छन् । ‘अहिलेको वर्तमान अवस्थामा हामीले समेत विद्यार्थीको प्रश्न तथा गुनासोको सही जवाफ दिन सकिरहेका छैनौं,’ राजदूत दहालले कान्तिपुरसँग भने । यद्यपि उनी आफूले नेपालमा रहेका विद्यार्थीलाई कसरी अस्ट्रेलियामा अध्ययनका लागि प्रवेश दिन सकिन्छ भनेर कूटनीतिक निकायमा औपचारिक, अनौपचारिक पहल गरिरहेको दाबी गर्छन् । ‘विश्व परिस्थिति नै अहिले यस्तै भएको र अस्ट्रेलियाली नीति समेत यस्तै भएकाले हामीले अहिल्यै यथार्थ सल्लाह र सुझाव दिन सकेका छैनौं,’ उनी भन्छन् ।

विद्यार्थीको गुनासो धेरै आएपछि उनीहरुलाई यथार्थ जानकारी गराउन दूतावासले सरोकारवाला नेपाल तथा अस्ट्रेलियाका व्यवसायिलाई सहभागी गराएर अनलाइन मार्फत एक छलफल नै आयोजना गरेको थियो । विद्यार्थी समेत सहभागी उक्त कार्यक्रममा उनीहरुले आफूले महँगो शुल्क तिरेर अनलाइन अध्ययन गर्न बाध्य भएको गुनासो गर्दै सकेसम्म अस्ट्रेलिया फर्कन पाउने वातावरण मिलाइदिन आग्रह गरेका थिए । उक्त कार्यक्रममा केही विद्यार्थीले नेपालका केही कन्सल्टेन्सीले यथेस्ट र सही जानकारी नदिएको समेत गुनासो गरेका थिए । अस्ट्रेलियास्थित शैक्षिक परामर्शदाताको संगठन एकाका अध्यक्ष भुपाल सिटौला समेत सतहमा यस्ता कुरा आएको स्विकार्छन् । ‘ हामीले आफ्नो व्यवसायभन्दा पनि विद्यार्थीको करियर, भविष्यलाई मध्यनजर गरेर सूचना दिनुपर्छ र यो हाम्रो दायित्व हो तरपनि सतही रुपमा यस्ता गलत सल्लाह सुझाव दिइएको भन्ने सुनेका छौं,’ सिटौलाले भने । उनले आफू समक्ष प्रत्यक्ष रुपमा गुनासो नआएपनि यस्तो भएको पाइए सम्बन्धित संस्थामा उजुरी गर्न सकिने सुनाए ।

सबै नेपाली विद्यार्थी सन् २०२१ मा आउने सम्भावना न्युन

कोरोना महामारी फैलिएसँगै नेपालमा अड्किएर बसेका हजारौं नेपाली विद्यार्थी हरेकदिनजसो अस्ट्रेलियाली सरकारले आफूजस्ता विद्यार्थी प्रवेशका लागि कुनै नीति परिवर्तन गर्ला कि भन्ने आशामा छन् । तर नेपाली विद्यार्थीको त्यो आशा अस्ट्रेलियाली सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको आगमनलाई तत्कालै सहज नबनाउने बताएपछि यो वर्षभित्रैमा पुरा हुने सम्भावना झिनो बन्दै गएको छ । गत शुक्रबारमात्रै अस्ट्रेलियाली शिक्षामन्त्री एलन टजले अहिलेको अवस्थामा अन्तराष्ट्रिय विद्यार्थी सन् २०२१ सम्ममा सबै फर्किसक्न अत्यन्त गाह्रो हुने बताएका छन् । त्यसका साथै नेपालीका लागि दोस्रो ठूलो अध्ययनस्थल मानिएको भिक्टोरियाका प्रिमियरले समेत हजारौं आफ्ना नागरिक विदेशबाट फर्किन नपाएको सन्दर्भमा पहिलेका वर्षको जस्तो हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवेश मुस्किल हुने बताएका छन् ।

यहाँस्थित सरकारी अधिकारीले वर्तमान अवस्थाको नियमित अध्ययन गरिने बताएपनि यस क्षेत्रमा काम गरिरहेकाले अन्य देशबाट केही मात्रामा अन्तराष्ट्रिय विद्यार्थी फर्किन सक्ने अवस्था भएपनि तत्कालै नेपालबाट भिसा पाएका सबै विद्यार्थी आउन सम्भावना नरहेको बताएका छन् । ‘अहिलेको अवस्थालाई हेर्ने हो भने जुलाई सत्रका लागि नेपाली विद्यार्थी आउन पाउने सम्भावना न्यून छ,’ अस्ट्रेलियास्थित कानुन व्यवसायी संजीव पाण्डे भन्छन् । अस्ट्रेलियाको लागि मार्च र जुलाई शैक्षिक सत्र अत्यन्तै महत्वपुर्ण भएकाले त्यसपछि आउने विद्यार्थी नोभेम्बर सत्रका लागि आउने र सो समयमा धेरै विश्वविद्यालयले सबै विषयमा भर्ना नगर्ने उनको भनाइ छ । पाण्डे अहिलेकै अवस्था हेर्ने हो भने भ्याक्सिन व्यापक रुपमा उपलब्द्ध नभएसम्म यसवर्ष अस्ट्रेलिया आउन पाउने नेपाली विद्यार्थीको संख्या धेरै कम हुने बताउँछन् ।

अन्तर्राष्ट्रिय विद्यार्थीले यहाँ ४० अर्ब डलर र २ लाख ५० हजार जनशक्ति बराबर अर्थतन्त्रमा हिस्सा राख्ने गरेको छ । द गार्जिएनका अनुसार यही जनवरी १० सम्मको तथ्यांक अनुसार ३ लाख ५० हजार विद्यार्थी भिसा बाहकमध्ये ३९ प्रतिशत अस्ट्रेलिया बाहिर रहेका छन् । सरकारले केही महिनाअघि ६३ अन्तराष्ट्रिय विद्यार्थीलाई पाइलट कार्यक्रम अन्तरगत डार्बिन ल्याएको भएपनि तत्कालका लागि यस्तो कुनै कार्यक्रम सार्वजनिक गरिएको छैन ।

प्रकाशित : माघ ११, २०७७ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?