कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

छङ्तुमा महावाणिज्य दूतावासस्थलको खोजी

लक्ष्मी लम्साल

बेइजिङ — बेइजिङस्थित नेपाली दूतावासले चीनको सिचुवानमा रहने नयाँ नेपाली महावाणिज्य दूतावासस्थलको खोजी थालेको छ ।

छङ्तुमा महावाणिज्य दूतावासस्थलको खोजी

बेइजिङबाट राजदूत महेन्द्रबहादुर पाण्डे र काउन्सिलर कौशल किशोर रायसहितको टोलीले सोमबारदेखि ३ दिनसम्म सिचुवान प्रान्तको छङ्तुमा रहने नेपाली महावाणिज्य दूतावासका लागि सम्भावित स्थलहरूको अवलोकन गरेको हो । नेपाल सरकारले छङ्तु महावाणिज्यदूतका लागि सहसचिव दिनेशकुमार घिमिरेको नाम प्रस्ताव गरिसकेको छ भने चीनबाट अग्रिमो स्वीकृत गर्न मात्रै बाँकी छ ।

‘कुन स्थानमा रहँदा उपयुक्त होला भनेर प्रारम्भिक अध्ययन गरियो, तर नेपालबाट महावाणिज्यदूत आउनुअघि फेरि एकपटक छलफल गरेर टुंगो लगाउनुपर्नेछ,’ बेइजिङ फर्किएपछि राजदूत पाण्डेले बिहीबार कान्तिपुरसँग भने ।

पछिल्लो समय आर्थिक केन्द्रको रुपमा विकसित भइरहेको छङ्तुमा विभिन्न डेढ दर्जन मुलुकका कन्सुलेट कार्यालयहरू स्थापना भइसकेका छन् । युरोप, दक्षिण अमेरिका, अफ्रिका लगायत देशतर्फ जाने मालबाहक रेलका लागि लजिस्टिक सेन्टर पनि छङ्तुमा बनेकाले यो क्षेत्र तीव्र गतिले अगाडि बढिरहेको राजदूत पाण्डेले बताए । त्यहाँबाट एयर चाइना, सिचुवान एयर र तिब्बत एयरले काठमाडौंमा उडान भर्दै आएका छन् । करिब ३५ वर्षमा अकल्पनीय परिवर्तन गरेको छङ्तुमा महावाणिज्य दूतावास बसेपछि नेपाललाई धेरै फाइदा पुग्ने पाण्डेले बताए। ‘केही समयअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले सिचुवान-तिब्बत फास्ट रेलको निर्माणलाई तीव्रता दिन निर्देशन दिएपछि त्यो क्षेत्र निकै सक्रिय देखिएको छ,’ रेलवे लजिस्टिक पोर्टको पनि अवलोकन भ्रमण गरेका राजदूत पाण्डेले भने।

यसैबीच चीनको सिचुवान प्रान्तका कार्यवाहक गभर्नर ह्वाङ छियाङले नेपाल चीनका लागि उच्च रणनीतिक प्राथमिकतामा पर्दै गएको बताएका छन् । चीनमा लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेसँग मंगलबार भएको भेटवार्तामा गभर्नर ह्वाङले चीन र नेपालबीचको बढ्दो सम्पर्कप्रति सन्तुष्टि व्यक्त गरे । गभर्नर आफैंले निमन्त्रणा गरेका हुनाले यो भेटघाट अर्थपूर्ण रहेको भेटमा सहभागी काउन्सिलर कौशल रायले बताए।

भेटमा गभर्नर ह्वाङले सिचुवान-तिब्बत फास्ट रेल चीनको १४औं पञ्चवर्षीय योजना (२०२१-२०२५) भित्रै पूरा हुने लक्ष्य राखिएको बताए । तिब्बतदेखि सिचुवानसम्मको दूरी ५ घण्टामा सीमित हुने भएपनि नेपाल र चीनबीचको लगानी, पर्यटन, संस्कृति लगायतको आदान प्रदान अझ गहिरो हुने पनि ह्वाङले बताए । त्यसक्रममा उनले राज्य स्वामित्वका लगानीकर्ताहरू नेपालमा लगानीका लागि उत्सुक रहेको चर्चा गरे।

भ्रमणका क्रममा राजदूत पाण्डेले बुधबार दिउँसो छङ्तुका मेयर वाङ फङछाउसँग भेटवार्ता गरेका थिए । सन् २०१६ मा छङ्तु र काठमाडौबीच भगिनी सम्बन्ध स्थापना भएको थियो ।

प्रकाशित : पुस २३, २०७७ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?