३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

दक्षिण कोरियाले सन् २०२१ मा ५२ हजार कामदार लैजाने

गोकुल थोकर

सोल — दक्षिण कोरियाले सन् २०२१ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् आउने कामदारको संख्या निर्धारण गरेको छ ।

दक्षिण कोरियाले सन् २०२१ मा ५२ हजार कामदार लैजाने

बुधबार बसेको प्रवासी श्रमिक संख्या निर्धारण समितिको बैठकले ५२ हजार कामदारलाई कोरियामा ल्याउने भएको हो ।

नेपाल लगायत रोजगार अनुमति प्रणाली मार्फत् कामदार पठाउने १६ वटा देशबाट कामदार कोरिया आउने छन् । कुन देशबाट कति कामदार लैजाने भन्ने निर्णय भने भएको छैन ।

सन् २०२० मा ५६ हजार कामदार ल्याउने कोटा भएपनि कोरोना महामारीका कारण ३० हजार ९ सय ९ जना अझै कोरिया आएका छैनन् । प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईका अनुसार कोरोनाका कारण बाँकी रहेको कोटा कामदार कोरियापछि नयाँ कोटा सुरु हुने जनाएका छन् । ‘हामीले कोटा निर्धारण समितिमा बुझ्दा पहिलो यो वर्षको कोटा सकाउने र आउने वर्षको कोटा अनुसार कामदार ल्याउने जानकारी पाएका छौं । कोटा निर्धारण समितिको बैठक पनि त्यही छलफल भएको हो,’ उनले भने ।

सन् २०२१ मा तोकिएको ५२ हजार मध्ये उत्पादन क्षेत्रमा सबै भन्दा बढि ३७ हजार ७ सय जना, कृषि क्षेत्रमा ६ हजार ४ सय जना, मत्स्यपालन क्षेत्रमा ३ हजार जना, निर्माण क्षेत्रमा १८ सय जना, सेवा क्षेत्रमा (पुरानो समान बटुल्ने छान्नेमा) १ सय जना आउन पाउने छन् ।

यो कोटा मध्ये ४० हजार नयाँ कामदार आउने हुन् भने १२ हजार कमिटेड (प्रतिबद्ध कामदार) कामदार कोरिया आउन पाउनेछन् । कमिटेड कामदारमध्ये १० हजार ३ सय उत्पादन क्षेत्रमा आउनेछन् भने कृषि क्षेत्रमा काम गर्नका लागि १ हजार ३ सय १० जनाको कोटा रहनेछ । कोरियामा ४ वर्ष १० महिना एउटै कम्पनीमा निरन्तर काम गरेमा कमिटेड कामदारका रुपमा फेरि कोरिया आउन पाउने नियम छ ।

आगामी वर्षको अप्रिलसम्म २२ हजार कामदारलाई रोजगार अनुमति दिने र बाँकी कामदार भने रोजगारदाताहरुको माग र कोरियाको अर्थतन्त्रको अवस्था हेरेर अनुमति दिँदै जाने समितिले जनाएको छ ।

प्रकाशित : पुस ९, २०७७ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?