२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

'चीनको गरिबी निवारण अनुभव विश्वकै लागि अनुकरणीय'

लक्ष्मी लम्साल

बेइजिङ — चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चीनको गरिबी निवारणको अनुभव विश्वकै लागि अनुकरणीय रहेको बताएका छन् ।

'चीनको गरिबी निवारण अनुभव विश्वकै लागि अनुकरणीय'

बुधबार बेइजिङमा चीनको गरिबी निवारण कोष अन्तर्गत नेपाल कार्यालय स्थापनाको पाचौं वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित कार्यक्रममा पाण्डेले भने, ‘चीनले विगत ४ दशकको अवधिमा ८ सय मिलियन नागरिकलाई गरिबीमुक्त गर्दाको अनुभव सिक्न लायक छ ।’

कोभिड १९ महामारीका बीचमा पनि नेपालमा स्वच्छता तथा स्वास्थ्यका विभिन्न क्षेत्रमा कोषले देखाएको सक्रियताको प्रशंसा गर्दै पाण्डेले नजिकको छिमेकी भएको नाताले नेपालले बीआरआईबाट प्रचुर फाइदा लिनसक्ने बताए । चीनको साझा मानव भाग्य समुदाय निर्माणको अभियानमा नेपालको पनि समर्थन रहेको बताउँदै भिडियो सन्देश मार्फत् राजदूत पाण्डेले हिमालय पार बहुआयामिक सम्पर्क संजाल दुवै मुलुकको हितमा रहेको उल्लेख गरे ।

नेकपाकी नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले भिडियो सन्देश दिँदै समकालीन दुनियाँमा चीन मात्रै गरिबी निवारणमा नमूनायोग्य भएको बताइन् । चीनले जनताको जीवनस्तर उकास्न गरेको योगदान अतुल्य रहेको उनको भनाइ थियो । ‘नेपालमा शिक्षा, स्वास्थ्य र सीप विकास लगायतका क्षेत्रमा चीनको गरिबी निवारण कोष अन्तर्गत नेपाल कार्यालयले जुन ढंगको काम गरेको छ त्यो नेपालीले पनि सिक्नलायक छ,’ उनले भनिन् ।

नेपालमा १८ प्रतिशतभन्दा बढी गरिबीको रेखामुनि रहेको जनसंख्यालाई गरिबीमुक्त पार्न चीनको सहयोग अभूतपूर्व रहेको बताउँदै उनले अझै केही समय चिनियाँ सहयोग जरुरी रहने बताइन् । असल छिमेकी, मित्र र निःस्वार्थभावको सहयोगी भएकोमा उनले चीनप्रति कृतज्ञता प्रकट गरिन् ।

कार्यक्रममा कोषका लागि नेपाल कार्यालयकी प्रमुख चौ च छियाङले नेपाली बालबालिका तथा महिलाहरूका मुहारमा खुशी ल्याउने अभियानमा समर्थन गरेकोमा नेपाल सरकारप्रति आभार प्रकट गरिन् । उनले भनिन्, ‘नेपालीहरूको जीवनस्तर उकास्न र गरिबी निवारण गर्नका लागि कोषले आफ्नो तर्फबाट प्रयास गर्दै जानेछ ।’

कोषको नेपाल कार्यालयका लागि भिडियो सन्देश पठाएका अभिनेता राजेश हमालले गरिबी निवारणका साथै नेपालका विभिन्न ठाउँमा स्वास्थ्य, शिक्षा र स्वच्छताको क्षेत्रमा गरिरहेको चिनियाँ प्रयासको प्रशंसा गरे । भूकम्पपछिको पुनर्निर्माण र कोभिड महामारीका बेलामा स्वच्छताका लागि कोषले गरेको योगदान सम्झनयोग्य भएको उनले बताए ।

चिनियाँ गरिबी निवारण कोषको नेपाल कार्यालयले आपसी मित्रतालाई सबल पार्दै विपत्तिपछिका परियोजना पुनः निर्माणमा सघाइरहेको जनाएको छ । हाल कोषको अगुवाइमा ३ वटा विद्यालयको पुनर्निर्माण कार्य भइरहेको छ भने स्वास्थ्य तथा स्वच्छता सम्बन्धी कार्यक्रमहरू सञ्चालनमा छन् ।

प्रकाशित : मंसिर १७, २०७७ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?