कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

थानकोटबाट हराएकी बालिकाको भारतको मध्यप्रदेशबाट उद्धार

सुरेशराज न्यौपाने

काठमाडौं — चन्द्रागिरी नगरपालिका बस्ने १६ वर्षीय बालिका गत ९ मंसिरदेखि हराइरहेको भन्दै उनका अभिभावकले त्यसको भोलिपल्ट काठमाडौं महानगरीय प्रहरीको खोजतलास शाखामा निवेदन दिए ।

थानकोटबाट हराएकी तिनै बालिकाको चार दिनपछि काठमाडौंबाट करिब तेह्र सय किलोमिटर टाढा भारतको मध्यप्रदेश राज्यको इन्दौर नजिकको सिहोर भन्ने ठाउँबाट उद्धार गरियो । कसरी पुगिन् त ती बालिका त्यति टाढा ? कसले पुर्‍यायो उनलाई त्यहाँ ?

अभिभावकको निवेदनपछि प्रहरीले ती बालिकाको खोजी सुरु गर्‍यो । प्रहरीले थानकोट नाकादेखि काठमाडौंबाट बाहिरिने सवारीसाधनहरुमा निगरानी बढायो । तर, प्रहरीले ती बालिका कहाँ गइन् भन्ने कुनै सुइँको पाउन सकेन । प्रहरीले त्यसपछि भारततर्फ गएको हुनसक्ने भन्ने आशंकामा केआई नेपालमा भारतका शाखालाई सम्पर्क गरे ।

थानकोट प्रहरीले ती बाालिकाको मोबाइल ट्रेस गर्दा भारततर्फ गएको जानकारी परिवारलाई दियो । त्यसपछि परिवारले प्रहरीलाई बालिकाको सामाजिक सन्जालमार्फत् भारतमा बस्ने दुई वटा केटासँग सम्पर्क भएको जानकारी गरायो । त्यसपछि परिवारले नेपाल र भारतमा महिला तथा बालबालिका बेचबिखन विरुद्ध काम गर्दै आएको के आई नेपालको काठमाडौं मुख्यालयमा सम्पर्क गरे । केआई नेपालले बालिकाको सबै जानकारी आफ्नो भारत प्रतिनिधि नविन जोशीलाई दियो ।

त्यसपछि केआई नेपालका भारत प्रतिनिधि जोशीको आग्रहमा दिल्ली प्रहरीसँग मिलेर बालिकासँग सामाजिक सन्जालमार्फत् सम्पर्कमा रहेका दुई जना केटाको नम्बर पत्ता लगायो । शंकाको सुई मध्यप्रदेशको भोपालमा बस्ने महेश नाम गरेको एउटा युवकतर्फ सोझियो । त्यसपछि दिल्ली प्रहरीले मध्यप्रदेशको बालकल्याण समिति (सीडब्लूसी) सँग सम्पर्क गर्‍यो । सीडब्लूसीले तत्कालै मध्यप्रदेशको आष्टा जिल्ला अन्तर्गतको सिहोर प्रहरीलाई युवकलाई पक्राउ गर्न आवश्यक छानबिन सुरु गर्न भन्यो । त्यसछि सिहोर प्रहरीले त्यसपछि ती युवकलाई केरकार गर्‍यो, पक्राउ गरेपछि । प्रहरीको केराकारपछि महेशले बालिकालाई आफूले बोलाएको र इन्दोरबाट एउटा केटीको साथ लागेर भोपाल आउँदै गरेको बताए । त्यसपछि ती बालिकालाई स्थानीय प्रहरी र सीडब्लूसीका प्रतिनिधिले सिहोर भन्ने स्थानबाट उद्धार गरेको हो ।

बालिकाले प्रहरीलाई दिएको जानकारी अनुसार दुई वर्षअघि टिकटक मार्फत् महेश नामको एक युवकसँग सम्पर्क भएको थियो । त्यसपछि उनीहरु फेसबुकमा साथी बनेछन् । त्यसपछि मेसेन्जेर र ह्वाट्स अपमार्फत् उनीहरुबीच नियमित कुराकानी हुने गरेको थियो । स्थानीय प्रहरीका अनुसार ती युवाले बालिकालाई मायाको जालमा पारेर विवाह गर्ने सम्मको प्रलोभन दिएको खुलेको छ ।

विवाह गर्ने भन्दै युवकले बालिकालाई योजनाबद्ध ढंगले भोपाल बोलाएको प्रहरीको दाबी छ । युवकले केटीसँगसम्पर्क गर्न बेग्लै पिटर नाममा फेसबुक आईडी नै खोलेको पाइएको छ । उसले बालिकालाई आफू भोपालको एउटा ठूलो कलेजको मालिक रहेको समेत दाबी गरेको खुलेको छ । जबकी प्रारम्भिक छानबिनमा युवकका पिताले सामान्य मजदुरी गरेर घरखर्च धान्ने गरेको देखिएको केआई नेपालका प्रतिनिधि जोशीले कान्तिपुरलाई बताए ।

बालिकाले परिवारसँग सम्पर्क हुँदा आफू एउटा महिलासँग इन्दोरसम्म आएको र त्यहाँबाट एक जना केटीको साथ लगाएर पठाएको बताएकी छन् । ती महिला र केटी को हुन् भन्ने अझै सम्म खुलेको छैन । केटाले नै ती केटी र महिलालाई ती बालिकालाई भोपाल पुर्‍याउन खटाएको आशंका प्रहरीले गरेको छ । केआई नेपालका जोशीका अनुसार ती केटी र महिलाका सम्बन्धमा पनि प्रहरीले छानबिन गरिरहेको छ ।

बालिकाले प्रहरीलाई बताए अनुसार उनी बुद्ध एअरको जहाजबाट १० मंसिरको बिहान आठ बजेको उडान सिमरा गएकी थिइन् । सिमराबाट रक्सौल नाका १२/१ बजे भारततर्फ गएको र त्यतिबेला एसएसबी र नेपाल प्रहरीले केही नसोधेको बताएकी छन् । तर, कोरोना महामारीका कारण नाकामा निगरानी बढाइएको अवस्थामा उनले सीमा पार गर्दा कसैले पनि नसोधेको भन्ने भनाइ प्रति प्रहरीले विश्वास नगरेको जोशीले बताए । ‘अहिलेको अवस्थामा काठमाडौंको एउटा बालिका त्यो पनि पहिलो पटक भारत आउँदा एक्लै सीमा काटेर भोपाल जान लागेको भन्ने पत्याउन सकिँदैन,’ जोशीले भने ।

उनका अनुसार ती बालिकालाई कसैले चोरबाटोबाट वा योजनाबद्ध ढंगले सीमा कटाएको प्रहरीको आंशका छ । रक्सौलबाट कानपुरसम्म बसमा त्यसपछि लखनउ र त्यहाँबाट इन्दोरसम्म बालिका कसरी पुगिन् भन्नेमा पनि प्रहरीले छानबिन गरिरहेको छ । बाालिकाले प्रहरीलाई बताएअनुसार रक्सौलबाट इन्दोरसम्म एक जना महिलासाथमा रहेको र त्यसपछि अर्को एक जना केटीले भोपाल पुर्‍याउन लागेको बताइकी छन् । प्रहरीले उनको बयानकै आधारमा ती महिला र केटीका बारेमा पनि अनुसन्धान गरिरहेको छ । त्यतिमात्र होइन प्रहरीले बालिकासँगको भारतको माोबाइलको सिम नभएको हुँदा कसरी लखनऊसम्म पुगिन र त्यहाँबाट इन्दोर जाने बसका लागि चढिन् जस्ता प्रश्नहरुको उत्तर खोज्ने प्रयास पनि जारी राखेको जोशीले बताए ।

जोशीको भनाइ यो घटना सतहमा हेर्दा मायाप्रेमको देखिए पनि प्रष्ट रुपमा मानव बेचबिखनसँग सम्बन्धित छ । विगतमा पनि केटाहरुले बिहे गर्छु भनेर अनेकन प्रलोभन दिएर भारत बोलाउने र पछि यौन शोषण गरेर बेच्ने र शारीरिक र मानसिक यातना दिएका घटनाहरु सार्वजनिक भइसकेको जोशीले बताए । ‘त्यस्ता पीडित बालिका तथा महिलाहरुलाई हामीहरुले नै उद्धार गरेका छौं यसपटक पनि समयमै सूचना प्रवाह भएकाले बालिकाको उद्धार भयो नत्र जे पनि हुनसक्थ्यो,’ उनले भने ।

उद्धार गरिएकी ती बालिकालाई हाल भोपाल बाल कल्याण समितिको संरक्षणमा स्थानीय बालगृहमा राखिएको छ । कानुनी प्रक्रिया पुरा गरेपछि घर फिर्ता गरिने जोशीले बताए ।

प्रकाशित : मंसिर १४, २०७७ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?