कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनका नेपालीहरूले पनि मनाए दसैं

लक्ष्मी लम्साल

बेइजिङ — चाइना एकेडेमी अफ साइन्सका सह-प्राध्यापक डिबी कट्टेल अहिले दसैंको जमरा राखेर आफूलाई संस्कृतिको संरक्षक महशुस गरिरहेका छन् ।

चीनका नेपालीहरूले पनि मनाए दसैं

कारण हो, विगत ८/१० वर्षदेखि कामका सिलसिलामा विदेशमा रहेका उनले आफ्ना दुई सन्तानलाई पनि बडादसैं र जमरा संस्कृतिबारे बुझाउन खोजेका छन् । यसअघि पाकिस्तानमा हुँदा पनि दसैंलाई मौलिक संस्कृति अनुसार मनाएको सम्झँदै उनले भने,‘जहाँ भएपनि आफ्नो संस्कृति कहाँ छोड्न सकिन्छ र?’

नेपालमा छँदा स्वतस्फूर्त रुपमै जमरा राखेपनि परको देशमा जमरा रोप्दा दसैंको रसिलो रौनक छाउने अनुभव सुनाउँदै उनले बालबच्चाहरूमा नेपाली संस्कृतिमा के के तत्वहरू समेटिएका हुन्छन् भन्ने ज्ञान दिलाउन जमरा राखेको सुनाए । परिवारका साथ भएकाले पूजापाठ भइरहने र जौ, तिल जस्ता कुराहरू उपलब्ध भइरहने बताउँदै उनले भने, ‘नेपालबाट जौ ल्याइएको थियो, पूजापाठ पनि निरन्तर हुन्छ। एकाग्रता, मनको शान्तिका लागि जमरा राखेरै दसैं मनाइँदैछ।’

बेइजिङमा कार्यरत जनस्वास्थ्यविद् सिद्धि अर्याल भने यसपाली जौको जोहो गर्न नसकेर जमरा राख्नबाट वञ्चित भए । नवरात्रभरि चण्डीपाठ गरेको सुनाउँदै उनले बडादसैंका बेलामा जमरालाई खुबै सम्झिए । सपरिवार बेइजिङमा कार्यरत उनले जमरा राख्न नसक्नुको कारण खुलाए, ‘यसपटक जौ नै पाइएन। अर्को पटक त अग्रिम रुपमा नेपालबाट जमरा ल्याएर जुगाड गर्नेछु।’

विश्वभर फैलिएको कोभिड-१९ महामारीका कारण सारा नेपालीले खुलेर मनाउने बडादसैं तुलनात्मक रुपमा शिथिल भएको छ नै, त्यसमाथि भेटघाटको चाडपर्व भएकाले महामारी अझै विस्फोट होला कि भन्ने चिन्ता सर्वत्र छ । चीनमा महामारी फैलिने बित्तिकै अधिकांश नेपालीहरू चाँजोपाँजो मिलाएर नेपाल फर्किएका थिए । यतिखेर चीनमा महामारी कम भएको छ तर नेपालमा रहेका कतिपय नेपालीहरू चाहेर पनि फर्किन सकिरहेका छैनन्। विगतका वर्षहरूमा जस्तो नेपालीहरू जमघट हुने मेसो बेइजिङमा छैन यसपाली ।

७ वर्षदेखि बेइजिङको फेमिली अस्पतालमा कार्यरत विकास राई बेला बेलामा दसैं मनाउन र परिवारसँगको पुनर्मिलनका लागि नेपाल गइरहन्थे । यसपटक दसैंमा जानका लागि ठिक्क तयारी गरिरहेका बेला नेपालमा कोरोना महामारी झन् झन् बढ्दै गएपछि उनले चित्त बाँध्नुपर्यो। उनले भने, ‘हिजो राती मात्रै सपनामा दिदीले खान पकाएको, परिवारजनहरू हँसीमज्जाक गरेको देखें, मनै कुँडिएर आयो ।’

परदेशिएका नेपालीहरू चाडवाडको बेलामा देश फर्किन नपाउँदा नरमाइलो मान्छन् भन्ने सुनेका उनले भने, ‘विदेशमा भएकाहरूलाई नरमाइलो हुन्छ भन्ने सुनेको त हो, तर अनुभव पनि गरिँदैछ। यसपालि कोरोनाले सबै योजना चौपट भयो ।’

इन्स्टिच्युट अफ जुलोजी, चाइनिज एकेडेमी अफ साइन्समा बाँदर र मानिसबीचको द्वन्दबारे पीएचडी गर्दै गरेकी सबिना कोइरालाले भने छात्रावासमै जमरा राखेर र साथीभाइ बटुलेर दसैं मनाएको बताइन् ।

उनले परदेशमा भएपनि श्रद्धापूर्वक व्रत लिएको पनि सुनाइन् । त्यस्तै बेइजिङमा अध्ययनरत संगीता विश्वकर्मा पनि दसैंको जमरा राखेर आफ्नो तरीकाले रमाइलो मान्ने प्रयत्नमा छिन् । उनले घरदेखि टाढा हुँदाको दसैंलाई जमराद्वारा प्रतिबिम्बित गरेको सुनाइन् ।

प्रकाशित : कार्तिक ११, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?