नेपाली युवा चीनको ‘क’ श्रेणीका प्रतिभा- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली युवा चीनको ‘क’ श्रेणीका प्रतिभा

लक्ष्मी लम्साल

बेइजिङ — चिकित्सा क्षेत्रमा कार्यरत एक नेपाली युवा चीनको ‘क’ श्रेणीको प्रतिभामा छनोट भएका छन् ।

दुई दशकदेखि चीनको पल्लो शान्सीको सिआनस्थित चाइना नेपाल फ्रेण्डसीप मेडिकल रिसर्चमा कार्यरत डा.राजीवकुमार झालाई बुधबार शान्सी प्रान्तीय वैदेशिक विशेषज्ञ मामिला ब्यूरोले यस्तो प्रतिभामा छनोट गरेको हो ।

यसअघि उनलाई सन् २०१५ मा १०० विदेशी प्रतिभा (ट्यालेन्ट) मा छनोट गरिएको थियो । त्यस यता उनले चीनको राष्ट्रिय स्तरको ग्रान्ट (आर्थिक सहायता) पाएर काम गरेका थिए भने क्यान्सर रोग सम्बन्धित रिसर्च पेपरहरू प्रकाशित गरेका थिए । पछिल्लो पटक उनले कोरोना भाइरस सम्बन्धी अनुसन्धान प्रकाशित गरेका थिए । ब्यूरोले कामको मूल्यांकन गरेर यस्ता विदेशीहरूलाई चीनमा सेवा गर्नका लागि सुविधा दिने गरेको छ । डा. झाले कान्तिपुरसँग भने,‘एउटा स्तर निर्धारण भयो। अब नेपालको राजनीतिक प्रणाली, पर्यटन, अर्थव्यवस्था इत्यादि जे जस्ता विषयमा लेक्चरका लागि बोलाइन्छ, यसबाट नेपालको हितमा कुराहरू राख्न सकिन्छ ।’

सिआन सहरले आफ्नो प्रक्रिया पार भएपछि विदेशी प्रतिभालाई यस्तो खालको सूचीमा राखेर आवश्यक सहुलियत सुविधा दिने गर्दछ । विश्वको दोस्रो अर्थतन्त्र बनेको चीनले विदेशी विद्वानहरूलाई स्वेदशको उत्थानमा टेवा पुर्याउन विदेशी प्रतिभाहरू भित्र्याउँदै गएको छ । यस्ता प्रतिभाहरूलाई चीनको पीआर मानिने १० वर्षे भिसा सुविधा उपलब्ध गराउनुका साथै चाइनिज एकेडेमी अफ साइन्स वा युनिभर्सिटीका नामी विशेषज्ञ बराबरको महत्व र सुविधा दिने गर्दछ ।

यसैबीच बुधबार नै शान्सी प्रान्तीय उपगभर्नर फाङ् क्वाङ ह्वाले डा. झाको रिसर्च सेन्टरको अवलोकन गरेका छन् । भ्रमणका क्रममा उनले रिसर्च सेन्टरलाई बेल्ट एण्ड रोड इनिसियटिभका माध्यमबाट उपयोग गर्न सकिने प्रस्ताव राखेका छन् । नेपालको अवस्थाप्रति जानकार उनले शान्सीमा महामारी नियन्त्रणमा जे जस्ता कदमहरू चालिएका थिए, त्यसै प्रकारले नेपालको महामारी रोकथाममा पाइला चाल्नुपर्ने सुझाव दिए। उनले भने, ‘नियन्त्रणको कदम नचाल्ने हो भने स्थिति झन् झन् भयावह हुनसक्छ ।’

सन् २०१३ र २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सिआनस्थित सो रिसर्च सेन्टरको भ्रमण गरेका थिए । त्यसक्रममा उनले नेपालका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पनि चासो राखे ।

प्रकाशित : कार्तिक ५, २०७७ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्

घाँस काट्न गएकी युवतीको बाघको आक्रमणमा परी मृत्यु

कमल पन्थी

बर्दीया — बर्दियाको मधुवन नगरपालिका ३ भगरैयामा बाघको आक्रमणमा परी २६ वर्षीया गंगा खत्रीको मृत्यु भएको । घाँस काटिरहेको अवस्थामा बाघले झम्टेर उनलाई मारेको प्रहरी उपरिक्षक केदार रजौरेले बताए । 

सशस्त्रको बिओपी नजिक २५ मिटरको दूरीमा, पिल्लर नम्बर ८४ नजिकै घटना भएको प्रहरीले बताएको छ । यो क्षेत्र नेपाल-भारत सीमाको खाता जैविक मार्ग हुँदै सीमासँग नजिक भारतको कतरनिया घाट वन्यजन्तु आरक्षसँग जोडिएको घना जंगल पर्दछ । यो क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रबाट जंगली जनावर ओहोरदोहोर गर्ने ठाउँ हो ।

प्रकाशित : कार्तिक ५, २०७७ १७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×