पूर्वगोर्खालाई बेलायतको प्रतिष्ठित पदक- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वगोर्खालाई बेलायतको प्रतिष्ठित पदक

कान्तिपुर संवाददाता

लन्डन — परोपकारी कार्यमा क्रियाशील भूतपूर्व ब्रिटिस गोर्खाले बेलायती महारानीबाट दिइने प्रतिष्ठित पदक पाउने भएका छन् । सहारा यूकेका पूर्वअध्यक्ष दिलीप गुरुङलाई बेलायती महारानीबाट प्रदान गरिने प्रतिष्ठित ‘मेम्बर अफ द मोस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर’ पदक दिइने घोषणा गरिएको हो ।

बेलायती राजदरबार बकिङहम प्यालेसमा आयोजना हुने विशेष समारोहमा महारानीले गुरुङलाई पदक प्रदान गर्नेछिन् । परोपकारी कार्यमा विशिष्ट योगदान गरेबापत दिइने पदक शुक्रबार घोषणा गरिएको थियो । पुरस्कार पाउने खबरबाट आफू निकै उत्साहित भएको गुरुङले बताए । ‘साथीहरू र सोसल मिडियाबाट पो छनोट भएको खबर थाहा पाएँ,’ उनले कान्तिपुरसँग भने, ‘यसले परोपकारी कार्यमा लाग्न अझ प्रेरित गरेको छ ।’ २० वर्ष ब्रिटिस आर्मीमा सेवा गरेर विगत १५ वर्षदेखि बेलायतको ब्ल्याकपुलमा ‘द गोर्खा’ नामक होटल, रेस्टुरेन्ट तथा पब सञ्चालन गर्दै आएका गुरुङ आफूलाई मानिसहरूले ‘किङ अफ दि च्यारिटी वर्कर’ भन्दा गर्व लागेको बताउँछन् ।

उनले बेलायत तथा नेपालमा कैयौं उदाहरणीय परोपकारी कार्य गरेका छन् । २६ रोपनी जग्गा किनेर सन् २०१३ मा पोखरामा सहारा एकेडेमी निर्माण गर्दा उनी आर्थिक संयोजक थिए ।

एकेडेमीमा अहिले २४ जना विपन्न बालबालिकालाई गाँस, बास, स्वास्थ्य, खेलजस्ता सुविधा प्रदान भइरहेको छ । महाभूकम्पका बेला सिन्धुपाल्चोकको हाइबुङ उच्च माध्यमिक विद्यालय र गोरखाको गणेश प्राविमा करिब ६० लाख रुपैयाँ खर्च गरी पुनर्निर्माण गर्न पनि उनको प्रमुख भूमिका थियो ।

स्याङ्जाको ओरस्टे मड्किनामा करिब १२ रोपनी जग्गामा करिब ५ करोडको लगानीमा निर्माणाधीन स्वास्थ्य केन्द्रको उनी मुख्य संयोजक हुन् । उनले ओरस्टेस्थित आफ्नो घरमा करिब डेढ करोड रुपैयाँ लगानी गरेर नेपाली ढाँचासहित पहिलो सांस्कृतिक संग्रहालय बनाएका छन् । संग्रहालयमा विद्यार्थीलाई नि:शुल्क प्रवेश छ । गाउँमा फुटसल निर्माणदेखि कोल्मा हाइस्कुलमा सन् २००९ मै वायरलेस इन्टरनेट जोड्ने श्रेय उनैलाई जान्छ ।

कोल्मा बहाकोट समाज यूकेका संस्थापक अध्यक्ष उनले बेलायतको स्थानीय काउन्सिलसँग निकट रहेर यहाँ पनि कैयौं परोपकारी कार्य गर्दै आएका छन् ।

प्रकाशित : आश्विन २४, २०७७ २२:२९
प्रतिक्रिया
पठाउनुहोस्

चंगा संस्कृति

गणेश राई

काठमाडौँ — दसैं नजिकिँदै गर्दा राजधानी खुल्ला आकाशमा चंगा उडाउनेहरूको जमात बढेको छ । उपत्यका सहरका हरेक पसलमा चंगा सजाइएका छन् । यो परम्पराको निरन्तरता हो । वर्षात् सकिनैलाग्दा काठमाडौं उपत्यकामा चंगा उडाउने चलन रहेको छ । नेवारी जनजीवनको शरदकालीन संस्कृति हो । 

इन्द्रलाई सहकालका देउता मानिन्छ । उनै देउतालाई हामीलाई यसपालि वर्षात्‌ले पुग्यो है भनेर सन्देश पठाउन चंगा उडाउनुपर्छ भन्ने लोकपरम्परा छ । त्यो सन्देश सुनेर भगवान् इन्द्रले वर्षाको मुहान रोकिदिन्छन् । कोरोना भाइरसको प्रकोप फैलिने त्रास छँदाछँदै तिथिअनुसार नेवार समुदायले भदौमा सामान्य विधि पुर्‍याएर इन्द्रजात्रा मनाइसकेका छन् । असोज दोस्रो साताबाट आकाशे पानी पर्न छोडेको छ ।

संस्कृतिविद् डा. चुन्दा वज्राचार्य कृष्ण अष्टिमीदेखि उपत्यकामा चंगा उडाउने परम्परा रहेको बताउँछिन् । ‘भगवान् इन्द्रलाई हामीलाई वर्षात्‌को पानीले पुग्यो रोकिदेऊ भनेर चिठी पठाएको भनेर बुझ्ने गरिन्छ,’ कृष्णाष्टमीदेखि दशमीको टीकाको दिनसम्म उडाउने परम्परा रहेको उल्लेख गर्दै भनिन्, ‘नवमीको दिन कृषिकर्ममा प्रयोग गरिने हँसियालगायत ज्यावल (हातहतियार)हरूको पूजा गरिन्छ । ज्यावलको पूजा गरिसकेपछि त्यही हतियार लिएर धान काटिन्छ ।’ असोज महिना उपत्यकामा धान पाक्ने मौसम हो । उपत्यका वरपरका स्थानीय पाकेको धानबाली काट्न थालेका छन् ।

इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ चंगा संस्कृतिको लिखित अभिलेख नरहेको बताउँछन् । ‘नेवार समुदायमा मौखिक इतिहास, लोकपरम्परामा आधारित चंगा संस्कृति छ,’ वैदिककालसँग यसको सम्बन्ध रहेको उल्लेख गर्दै प्राध्यापक श्रेष्ठले भने, ‘इन्द्र भगवान् चोर थिए भनेर मनाइन्छ, इन्द्रजात्रा । निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्रको उदय भएजस्तै सन्देश बुझ्न सकिन्छ । इन्द्रलाई सजाय दिएर जात्रा मनाएलगत्तै जनताले खुशियालीमा चंगा उडाउने गर्छन् ।’

यसो त, नेवार समुदायमा छोरीचेली बोलाउन सन्देशवाहकका रूपमा चंगा उडाउने गरेको भन्ने गर्दछन् । ‘चेलीलाई बिहे गरेर टाढा कर्मघर पठाइन्छ,’ दिनोज भन्छन्, ‘आकाशमा चंगा उडाएर मोहनी (दसैं) आउन लाग्यो । चेली तिमी माइघर आऊ भनेर सन्देश दिने काम चंगाले गर्दछ ।’

यही लोकपरम्परा जसरी काठमाडौं उपत्यकाको खुल्ला आकाशमा चंगो उड्न थालेका छन् । हरेक किराना पसलमा चंगा बेच्न झुन्डाइएका भेटिन्छन् । ‘साहुजी कति किसिमको चंगा आइपुगेको छ ?,’ काभ्रेस्थलीबाट असन आइपुगेका खुद्रा व्यापारी विष्णुप्रसाद चापागाईंले एकैसासमा सोधे, ‘लट्टाई, धागो के कस्ता छन् ?’

चारपुस्तादेखि चंगा व्यापार गर्दै आएका दिनोज चित्रकारले मिजासिलो पाराले बताइदिए । ‘योपालि प्लास्टिकको चंगामात्रै छ, त्यो पनि ठूलो आकारको मात्र,’ श्रीचित्रकार काइट सेन्टरका संचालक उनले भने, ‘कोरोना भाइरसले गर्दा चाहेजस्तो सामान आएको छैन । जति आयो, धेरै भेराइटीको छैन ।’ उनको यो होलसेल पसल हो ।

पाटनका होलसेल संचालक सनी चित्रकार चंगाको माग अधिक बढेको बताउँछन् । ‘कोरोना भाइरसले गर्दा सबैजना घरमै बस्नु पर्ने भएकोले हुनसक्छ, चंगा किन्नेहरू बढेका छन्,’ विगतजस्तो धेरै किसिमको चंगा उपलब्ध नभएको उल्लेख गर्दै उनी भन्छन्, ‘मागअनुसारको थरी थरीका चंगा ढुवानी गर्न सकेनौं । इन्डियामा उत्पादन हुने र आयात गरिने भएकाले उनीहरूले जस्तो ढुवानी गरिदिन्छ, त्यस्तैमात्र बेच्नु परेको छ ।’

उपत्यकामा चंगाको होलसेल व्यापार गर्ने धेरै छन् । हरेक खाले चंगा भारतको त पटना, कलकत्ता, लखनउबाट ल्याउने गरिन्छ । सेता, राता, पहेंला, हरिया, गुलाबी, छिरबिरे, बैजनी, सुन्तलाजस्ता अनेक रंगका चंगाका सानादेखि ठूला आकारमा आयात हुने गर्छ । यो वर्ष प्लास्टिकका रंगीविरंगी चंगाले बजार ढाकेको उनीहरूको कथन छ । चीनबाट कपडाको चंगा आयात हुने गर्छ । तर यो वर्ष आइपुगेको छैन ।

चंगा कागज वा प्लास्टिकलाई त्रिकोण वा चौकोणको आकार बनाइने एक वस्तु हो । यसलाई उडाउन धागो र लट्टाई चाहिन्छ । केटाकेटीले उडाउने चंगाको धागो सामान्य हुन्छ । चंगा पारखीले उडाउने धागो विशेष खालेको हुन्छ । चंगा उडाउने धागो गुणस्तरअनुसार फरक फरक नाममा हुन्छन् । डाइमन्ड, टाइगर, पान्डा फाइभ, टिपु सुल्तान, माकाल, १२ तार, १६ तार जस्ता नामले चिनिन्छ । त्यसैगरी काठ र बाँसबाट बनाइने लट्टाई घुम्ने र कस्न मिल्ने दुई किसिमको हुन्छ ।

स्वदेशमा बनाइने चंगा महँगो पर्ने दिनोज बताउँछन् । ‘हामीले नेपाली कागजबाट बनाउने हो,’ उनले भने, ‘एकदमै महँगो छ । बनाउने सिपालु मिस्त्री चाहिन्छ । त्यहीअनुसार ज्याला पनि महँगो छ ।’ उनले आयातित चंगा होलसेलमा प्रतिगोटा बीस रुपैयाँका दरले बेच्ने गरेको बताए । त्यसैगरी सानो लट्टाईको एक सय पचास रुपैयाँदेखि किमती धागोसहितको लट्टाईको २ हजार ८ सय रुपैयाँ पर्ने उनले जनाए । ‘नेपाली कागजको बनाउने हो भने घटीमा दुई सय रुपैयाँ पर्न आउँछ,’ उनी भन्छन् । चंगा बनाउन प्रथमत: सीप चाहिन्छ । कागज, बाँस, डोरी, टाँस्ने सीप भएका कालिगढ पाउनै मुस्किल छ । पाएपनि ज्याला महँगो हुन्छ ।’

परम्परागत रूपमा नेवार समुदायमा चंगा आफैं पनि बनाउँथे । नेपाली कागजको चंगा बढी टिकाउ र उडाउनसमेत सहज हुने असनका विकास श्रेष्ठ बताउँछन् । ‘हामी तन्नेरी छँदा आफैं पनि चंगा बनाउँथ्यौं र बजारमा पाइने धागोमा ‘मजा’ राखेर चंगा चेट खेल्थ्र्यौं,’ उमेरले आधा शताब्दी नाघ्दै गरेका श्रेष्ठ भन्छन्, ‘हाम्रो पालामा टोलटोलका साथीहरू म्युजिक बजाएर, खाईपिई गरेर चंगा उडाउँथ्यौं । रमाइलो गथ्र्यौं । हिजोआजका पुस्ता बढी मात्रामा मोबाइलमा भुलेका छन् ।’ अहिले पनि रमाइलोका निम्ति एक दिनमात्र भए पनि चंगा उडाउने गरेको उनको कथन छ । चंगा परम्पराबारे जानकारी नरहे पनि पाटनका १२ कक्षामा पढ्दै गरेका निश्चल शाक्य दैनिकजसो चंगा उडाउने गरेको बताए ।

नेवारी भाषामा चंगालाई ‘भुटीमाली’ भनिन्छ । चंगा बनाउन कागज, उडाउन धागो र लट्टाई प्रयोग गर्छन् । माथि आकाशमा उडाइरहेको अर्काको चंगासँग जुधाउने र काटिदिन कामलाई चंगा चेट भन्ने गरिन्छ । त्यसैले चंगा खेल प्रतिस्पर्धामा जित्न काँच (सिसा) पिसेर माडमा मिसाएर धागोमा माजा हाल्ने गरिन्छ । राम्रो धागोमा माजा हालेर सुकाएपछि धारिलो बन्छ । त्यसपछि चंगावाजहरूको प्रतिस्पर्धा सुरु हुन्छ । टोल–टोलका चंगावाजबीच मैत्रीपूर्ण खेल दिउँसोको बेला हुने गर्छ ।

‘यो शरदकालीन मौसम साँच्चै रमाइलो र घमाइलो हुन्छ, दिउँसो अलि अलि थोरै बतास चल्छ, त्यति बेला चंगा जुधाउन र लडाउन साँच्चै रमाइलो हुन्छ,’ श्रेष्ठ भन्छन् । हावाको चाप पश्चिमबाट पूर्वतिर बहँदा चंगाले राम्रो उडान लिन्छ । प्रतिस्पर्धा नगरी मनोरन्जनका निम्ति मात्र उडाइने चंगामा लामो पुच्छर हाल्ने गरिन्छ । यो विस्तारै उड्छ ।

प्रकाशित : आश्विन २४, २०७७ २२:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×