लन्डन दूतावासमा नेपाल विकास सम्मेलन

लन्डन — नेपाली दूतावासले राष्ट्रिय दिवस एवं पाँचौं संविधान दिवसको उपलक्ष्यमा असोज २, ३ र ४ गते त्रिदिवसीय कार्यक्रम गरेको छ । २ असोजमा नेपाली दूतावास र यूके नेपाल ट्रेड एण्ड इन्भेष्टमेन्ट फोरमको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट ‘नेपाल विकास सम्मेलन’ गरियो ।

लन्डन दूतावासमा नेपाल विकास सम्मेलन

सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अल पार्टी पार्लियामेन्ट्ररी ग्रुप फर नेपालका उपाध्यक्ष तथा फोरमका अध्यक्ष लर्ड शेख, फोरमका उपाध्यक्ष तथा कन्फेडेरेसन अफ ब्रिटिस इन्डष्ट्री (सिबीआइ) का अध्यक्ष लर्ड बिलिमोरिया सिबीइ डिएल, नेपालका लागि संयुक्त अधिराज्यकी राजदूत निकोला पोलिट, नेपाल च्याम्बर अफ कमर्शका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सम्बोधन एवं प्रस्तुति दिएका थिए ।

वक्ताहरुले नेपालमा लगानीका अवसरबारे जानकारी दिँदै व्यापार तथा लगानी प्रवर्द्धनका लागि बेलायतका व्यवसायी एवं लगानीकर्ताहरुलाई आग्रह गरे ।

यस्तै नेपालको मौलिक कला-संस्कृति झल्काउने ३० वटा उत्कृष्ट कलाकृत्ति समाविष्ट ‘नेपाल यात्रा २०२०’ विषयक नेपाली कला प्रदर्शनी पनि गरिएको छ । उक्त सप्ताहव्यापी प्रदर्शनी आश्विन ८ गतेसम्म जारी रहने छ ।

असोज ३ गते दूतावासमा राष्ट्रिय दिवस विशेष समारोह तथा नेपाली संगीत महोत्सव आयोजना गरिएको थियो । नेपाली संगीत महोत्सवमा बेलायतमा रहेर नेपाली गीत संगीतको संरक्षण र संवर्द्धनमा समर्पित विशिष्ट नेपाली गायक गायिकाहरुको सांगीतिक प्रस्तुति थियो ।

समारोहमा राजदूत डा. सुवेदीले बेलायतका नौ जना लोकप्रिय गायक गायिकाको स्वर रहेको चारवटा गीती एल्बमहरु सम्झनाको ‘सिमसिमे झरी’, ‘मायावी परेलीहरु’, ‘तिम्रो तस्वीर आँखाभरि’, ‘दुबोसरी रहरहरु’ को लोकार्पण गरे ।

सोही समारोहमा राजदूत सुवेदीले नेपालको सांग्रिला बुक्सद्वारा प्रकाशित बेलायतका ७७ जना प्रतिनिधि नेपाली कथाकारहरुका कथा संकलित ‘बेलायतमा नेपाली कथा’ नामक प्रतिनिधि कथा संग्रहको लोकार्पण गरे ।

त्यसैगरी तेस्रो दिन दूतावासले नेपाल आयरल्यान्ड सोसाइटी एवं आयरल्याण्ड नेपाल च्याम्बर अफ कमर्ससँगको सहकार्यमा भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस एवं नेपाल विकास सम्मेलन पनि गरेको छ । उक्त सम्मेलनमा नेपाल र आयरल्यान्डबीच शिक्षा, पर्यटन, व्यापार र लगानी अभिवृद्धिका अवसर र चुनौतीहरुबारे बृहत् अन्तरक्रिया भएको थियो ।

सम्मेलनमा नेपाल आयरल्यान्ड सोसाइटीका अध्यक्ष दीपेशमान शाक्य, आयरल्यान्ड नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष भिन्सेन्ट ब्यारी र राष्ट्रिय विमा संस्थानका अध्यक्ष गंगाराम कँडेलसहित डा. जेन फेनलोन, अलान मर्सेल सान्का, निल काभानग, सारा वेष्ट, क्लान ओब्रोचेन, एलिसन इरवीन, इयान टेलरले कार्यपत्र प्रस्तुत गरे ।

कार्यक्रममा राजदूतावासकी उपनियोग प्रमुख तथा काउन्सेलर रोशन खनालले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

प्रकाशित : आश्विन ६, २०७७ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?