भारतको हरियाणामा आठतले भवनबाट खसेर नेपाली चिकित्सकको मृत्यु- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतको हरियाणामा आठतले भवनबाट खसेर नेपाली चिकित्सकको मृत्यु

आत्महत्या हुन सक्ने प्रहरीको आशंका
साहले छोटो समयमै लिभर ट्रान्सप्लान्ट (कलेजो प्रत्यारोपण) का लागि कुशल चिकित्सकको परिचय बनाएका थिए ।
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको हरियाणास्थित मेदान्त अस्पतालमा कार्यरत ३९ वर्षीय नेपाली चिकित्सक सुजितकुमार साहको मंगलबार एउटा अपार्टमेन्टको आठौं तलाबाट खसेर मृत्यु भएको छ । विराटनगर निवासी डा. साह विगत चार वर्षदेखि मेदान्तमा लिभर ट्रान्सप्लान्ट युनिटमा कन्सल्ट्यान्टका रुपमा कार्यरत थिए ।

स्रोतका अनुसार डा. साह मंगलबार बिहान गुरुग्रामस्थित सेक्टर ४७ स्थित उनी बस्दै आएको अपार्टमेन्टको आठौं तल्लाको कौसीबाट खसेका थिए । गम्भीर घाइते उनलाई तत्कालै नजिकैको मेदान्त अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले मृत घोषित गरेका थिए । पारिवारिक स्रोतका अनुसार प्र्रहरीले प्रारम्भिक छानबिनमा मृत्युको कारण आत्महत्या बताएको छ । यद्यपि शवको पोस्टर्माटम हुन बाँकी रहेकाले प्रहरीले मृत्युको कारण निर्क्यौल गर्न भने बाँकी छ ।

डा. सुजित अर्पाटमेन्टमा एक्लै बस्दै आएका थिए । उनको पश्चिम बंगालकी एक चिकित्सकसँग नै विवाह भएको थियो । उनीहरुबाट एक ६ वर्षीय छोरी छन् । डा. सुजित सोमबार साँझसम्म पनि मेदान्त अस्पतालमा ड्युटीमा थिए । र, सहकर्मीहरुका अनुसार त्यसदिन पनि उनी अन्य दिनजस्तै सामान्य अवस्थामा थिए । तर, मंगलबार एकाएक साहको मृत्युको खबरले उनीहरु सबैलाई स्तब्ध बनाएको छ । मेदान्तमै डा. साहसँगै कार्यरत रहेका नेपाली चिकित्सक डा. सञ्जयकुमार यादवले घटनाबाट आफू स्तब्ध भएको बताए । ‘सुजित दाइसँग सोमबार दिनभर नै सँगै थियौं अरु दिन जस्तै रमाइलोसँग बितेको थियो, खै के भयो अचानक विश्वास नै गर्न कठिन भइरहेको छ,’ डा. यादवले भने ।

पारिवारिक स्रोतका अनुसार पछिल्लो समय साह र उनकी श्रीमतीबीच दम्पतीबीच राम्रो सम्बन्ध नभएको र श्रीमतीले छोडपत्रका लागि दबाब दिँदै आएकी थिइन् । त्यही दबाबले उनलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको आशंका साह परिवारले गरेको छ । मृतक साहको परिवारले पनि उनलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै छानबिनको माग गरेको छ ।

‘अघिल्लो दिनसम्म पनि सामान्य अवस्थामा ड्युटीमा खटिएको र सबै हिसाबले सामान्य अवस्थामा रहेको व्यक्तिले कसरी आफै आत्महत्या गर्न सक्छ त्यसैले ऊमाथि अन्तिम समयमा ठूलो दबाब परेको निश्चित छ,’ साहका बुबा नरेन्द्रप्रसाद साहले भने । बुबा साहका अनुसार सुजितमाथि श्रीमतीले डिभोर्सका लागि दबाब दिइरहेकी थिइन् । तर, सुजितले भने सानी छोरी पनि भएको हुँदा छोडपत्र गर्नका लागि अस्वीकार गरिरहेका थिए । तर, अन्तिम समयमा दबाब थेग्न नसकेर सुजितले आत्महत्या गर्न बाध्य भएको परिवारको दाबी गरेको छ । आत्महत्या गर्न बाध्य पारिएको भन्दै परिवारका तर्फबाट आत्महत्या दुरुत्साहनको मुद्दा दायर गर्ने तयारी गरिरहेको साहले कान्तिपुरलाई बताए ।

साह परिवारका कान्छा छोरा सुजितले पोखराको मणिपाल कलेजबाट एमबीबीएस गरेका थिए । पछि उनले भारतको चण्डीगढस्थित पीजीआईबाट मास्टर इन सर्जरी र पछि दिल्लीको एम्सबाट सर्जरीमा सुपर स्पेसलाइजेसन गरेका थिए । साहले छोटो समयमै लिभर ट्रान्सप्लान्ट (कलेजो प्रत्यारोपण) का लागि कुशल चिकित्सकको परिचय बनाएका थिए । र, उनलाई रोबोटिक लिभर ट्रान्सप्लान्टको विशेषज्ञका रुपमा चिनिन्थ्यो । सहकर्मीहरुबीच डा. साह निकै मिलनसार र सरल व्यक्तिका रुपमा परिचित थिए ।

‘चार वर्षसँगै काम गरियो तर, कहिल्यै पनि उहाँको अनुहार अध्याँरो देखिएन, सबैलाई माया गर्ने अति नै सरल हुनुहुन्थ्यो,’ डा. यादवले भने । बुबा नरेन्द्रप्रसादले पनि सुजितको मृत्यु आफ्नो परिवारका लागि मात्र नभएर पूरै देशका लागि ठूलो क्षति भएको बताए । ‘हाम्रो परिवारलाई पुगेको क्षतिको त कुरै भएन तर मुलुकले पनि एउटा कुशल चिकित्सक गुमाएको छ,’ नरेन्द्रप्रसादले कान्तिपुरसँग भने ।

प्रकाशित : भाद्र १७, २०७७ २२:२३
प्रतिक्रिया
पठाउनुहोस्

जहाँको बजार नेपालीले धान्छन्

कोरोना भाइरसको महामारीसँगै नेपाल–भारत सीमामा कडाइ भए पनि हिमाचल प्रदेश राज्य सरकार र व्यवसायीहरू नेपाली कामदार फर्काउन सक्रिय
सुरेशराज न्यौपाने

नयाँदिल्ली — रोल्पा पाखापानीका तिलकराम ओली लकडाउनकै बीच भारतको सिमला फर्किए । उनी हिमाचल प्रदेशस्थित सिमलाको तरकारी मन्डीमा काम गर्छन् । विगत १३ वर्षदेखि सिमलामा काम गर्दै आएका ओलीले दैनिक ज्यालादारीमा ७ सय भारतीय रुपैयाँ कमाउने गरेको बताए ।

लकडाउनका कारण रोल्पामै रोकिएका उनी सिमलाबाट कागज बनाइदिएपछि दाजु र अन्य दुई आफन्तसँगै फर्कन पाए । त्यसपछि दुई साता क्वारेन्टाइनमा बसे । पछि काममा लागेको ओलीले कान्तिपुरलाई बताए ।

बर्दिया ठाकुरद्वाराका सुनिल खड्का चार वर्षदेखि सिमलामा छन् । उनका बुबा त करिब तीन दशकदेखि त्यहीं छन् । कान्तिपुरसँगको कुराकानीमा खड्कालाई भर्खर टिपिएका स्याउ कार्टुनमा राख्न भ्याइनभ्याइ थियो । उनले १२ घण्टा काम गरेबापत ८ सय भारतीय रुपैयाँ पाउँछन् ।

खड्का र ओली त प्रतिनिधि पात्र मात्र हुन् । रोजगारीका लागि भारतको हिमाचल पुग्ने नेपालीको संख्या गनिसाध्य छैन । प्रवासी नेपालीका अनुसार हिमाचलमा मात्र ३ लाखको हाराहारीमा नेपाली कामदार छन् ।

त्यसबाहेक स्याउ उत्पादनको मौसममा थप करिब एक लाखको हाराहारीमा नेपालीहरू आउने उनीहरूको दाबी छ । स्याउ उत्पादनका हिसाबले भारतको हिमाचल राज्य जम्मु–कश्मीरपछि दोस्रो स्थानमा पर्छ ।

रोजगारीका लागि हिमाचल आउनेमा अधिकांश जुम्ला, रुकुम, रोल्पा, सल्यान, हुम्ला, जाजकरकोट र कैलाली जिल्लाका हुन्छन् । नेपालीहरू प्रायः भरिया तथा निर्माण क्षेत्रमा संलग्न छन् । त्यसबाहेक तरकारी खेती, स्याउ बगैंचा, घरायसी काम र होटल तथा रेस्टुराँमा काम गर्छन् ।

हिमाचलमा स्याउ टिप्ने मौसम अगस्ट दोस्रो साता सुरु भएर नोभेम्बरसम्म चल्छ । सामान्यतः भरिया र बगानमा मजदुरी गर्नेको सयदेखि ८ सय भारतीय रुपैयाँ ज्याला छ । डकर्मीको काम गर्नेहरूले भने हजारभन्दा बढी कमाउँछन् ।

स्याउको मौसममा आउनेहरू स्याउ टिप्ने, ग्रेडिङ गर्ने, कार्टुनमा राख्ने तथा बोक्ने काम गर्छन् । सामान्यतः एक सिजनमा स्याउ भरानी (पेटी भर्ने) ले ७० हजारदेखि १ लाख भारतीय रुपैयाँसम्म बचाउने दैलेखका प्रताप खड्का बताउँछन् ।

हिमाचलमा पनि विशेषगरी सिमला, रुड, मन्डी, कुलु–मनाली, उना, किन्नौरमा नेपालीहरू बढी जाने गरेका छन् । स्याउको मौसमका बेला स्थानीय बजारका ग्राहक नै नेपाली कामदारहरू नै हुने गरेको साइँला लामाले बताए । एउटा स्याउ बगानमा कम्तीमा पनि ४/५ जना नेपाली काम गर्छन् । लामाका अनुसार उकालोओरालो गर्न सक्ने भएकाले स्थानीय व्यापारीहरूले स्याउ बोक्न नेपालीलाई रोज्ने गरेका हुन् ।

मजदुरी गर्नेबाहेक पनि स्याउ बगान नै केही वर्षका लागि ठेक्कामा लिने नेपाली पनि थुप्रै छन् । तिनैमध्येका एक हुन् जाजरकोटका काशीराम भट्टराई । भट्टराईले बगान भाडा लिएर स्याउको कारोबार गर्न थालेको ३ वर्ष बित्यो । उनले स्याउ प्याकिङका लागि ३ जनालाई काममा लगाएका छन् ।

त्यसैगरी स्याउ बगानको जिम्मा लिने नेपाली पनि छन् । तिनैमध्येका हुन् रुकुम खाराका भीमसेन ओली । उनी सिमला छेउको ठियोगमा स्याउ बगानको रखवाली गर्छन् । उनी २४ वर्षदेखि ठियोगमा बस्दै आएका छन् । बगैंचामा भएका १४ सयभन्दा बढी स्याउका बोटको हेरचाह गर्नेदेखि लिएर स्याउ टिप्ने, प्याकिङ गर्नेसम्मको जिम्मा उनकै छ ।

हिमाचलकै पनि कुलु–मनालीमा नेपाली कामदारहरूको बाक्लो उपस्थिति छ । त्यस क्षेत्रमा नेपालीहरूको बोलवाला यति छ कि प्रवासी नेपाली संगठनहरूको सिफारिसबिना कुनै पनि नेपालीले काम गर्ने स्वीकृति पाउँदैन । सरकारी काममा नेपाली संगठनको सिफारिस अनिवार्य छ । लकडाउनका कारण नेपालीहरू नफर्कने हुन् कि भनेर स्थानीय व्यवसायीहरू चिन्तित भएको अखिल भारतीय नेपाली मूलप्रवाह एकता समाज कुल्लु जिल्लाका अध्यक्ष साइँला लामाले कान्तिपुरलाई बताए । लामा कुल्लु क्षेत्रमा नेपालीहरूका अगुवा मानिन्छन् । उनी नेपालीहरूलाई समस्या परेको खण्डमा राज्य सरकारलाई आवश्यक सल्लाह र सुझाव दिने हैसियतसमेत राख्छन् । लकडाउनका बेला घर जान चाहनेहरूका लागि आवश्यक समन्वय लामाले नै गरेका थिए ।

त्यहीं अलपत्र परेका नेपाली कामदारलाई रासनपानी उपलब्ध गराउन पनि लामाको संगठन सक्रिय भएर लागेको थियो । लामाका अनुसार उनको संगठनमा मात्र १४ हजारभन्दा बढी प्रत्यक्ष रूपमा आबद्ध छन् । प्रवासी संगठनहरूको प्रभावका कारण अन्य राज्यमा जस्तो नेपाली कामदारप्रति विभेद छैन । कुनै नेपाली मजदुरको कामको सिलसिलामा दुर्घटनामा परेर मृत्यु भएको खण्डमा राज्य सरकारले तत्काल ४ लाख भारतीय रुपैयाँ राहत दिने गरेको छ ।

हिमाचलका सिमलालगायत अन्य स्थानमा नेपालीहरूको साइनो धेरै पुरानो हो । राज्य विस्तारका क्रममा गोर्खाली फौज काँगडासम्म पुगेदेखि नै त्यस क्षेत्रमा नेपालीको आउजाउ हुन थालेको हो । रणजित सिंहको सेनामा गौर्खाली फौज भर्ना हुन थालेपछि त्यो क्रम झन् बढेर गयो ।

पछि तत्कालीन इस्ट इन्डिया सरकारले सिमलालाई ग्रीष्मकालीन राजधानी नै घोषणा गरेपछि हिमाचलको महत्त्व थप बढेर गयो । राम्रा स्कुलहरू खुले । शिक्षा, स्वास्थ्यलगायत अन्य सुविधा पनि उपलब्ध भएका कारण नेपालबाट केही राणा परिवार पनि सिमला र अन्य क्षेत्रमा बस्न पुगे ।

पछि स्याउको खेती सुरु भएपछि मजदुरहरूको माग बढ्न थाल्यो । त्यसका साथै स्याउको बढ्दो उत्पादनले आर्थिक गतिविधि बढेसँगै रोजगारीका लागि नेपालीको आउने क्रम थप बढ्यो । माओवादी सशस्त्र द्वन्द्वका कारण नेपालीको संख्या अझै थपियो ।

हिमाचलका हरेक क्षेत्रमा बाक्लो उपस्थितिका कारण नेपाली कामदार त्यहाँको आर्थिक गतिविधिको महत्त्वपूर्ण पक्ष बनेका छन् । अझ स्याउको मौसममा त नेपाली कामदारहरू अनिवार्य नै मानिन्छन् । राज्यका करिब डेढ लाख परिवार प्रत्यक्ष रूपमा स्याउको उत्पादन र व्यवसायसँग आबद्ध छन् ।

स्याउ उत्पादन र कारोबारमा हुने उतारचढावले राज्यको पुरै आर्थिक अवस्थामै असर पर्ने गर्छ । त्यही भएर नै हिमाचलका मुख्यमन्त्री जयराम ठाकुरले जुन पहिलो साता नेपाली कामदार फर्कने वातावरण सहज बनाइदिन केन्द्र सरकारलाई पत्र नै लेखेका थिए ।

‘नेपालीहरू मिहिनेती र इमानदार छन् भन्ने छाप परेको छ, स्याउको बगान र अन्य काममा त नेपाली अरूभन्दा निकै सिपालु मानिन्छन् त्यही भएर राज्य सरकारदेखि व्यवसायीहरूसम्मले नै नेपालीहरू चाहिन्छ भनेर भन्छ,’ लामा भन्छन् ।

तर, यस वर्ष लकडाउन र सीमा विवादका कारण नेपाल–भारत सम्बन्ध चिसिएपछि धेरै नेपालीहरू घर फर्केका सिमलामा रहेका एक नेपाली ठेकेदार किरण आोलीले बताए । प्रायः सबैजसो वर्षको एकपटक दसैंतिहारको छेको पारेर नेपाल जाने गरेको त्यहाँ रहेका नेपालीको भनाइ छ ।

पछिल्लो समय कोरोना महामारी नियन्त्रणका लागि दुवै देशले सीमा क्षेत्रमा कडाइ गरेका कारण हिमाचल आउन सहज नभएको किरणको भनाइ छ । ‘भारतमा कोरोना भाइरसको महामारी देखिएपछि आआफ्नो गाउँ गएकाहरू पनि फेरि रोजगारीका लागि फर्कन चाहन्छन्,’ उनले भने ।

तर, मनालीमा रहेका लामा पनि मुख्यमन्त्रीले नै नेपालीलाई ल्याउन आग्रह गरेपछि पछिल्लो समय ठेकेदार र साहुहरूले नेपालीलाई ल्याउने क्रम सुरु भएको बताउँछन् । स्थानीय प्रशासनले पनि नेपाली कामदार ल्याउन स्थानीय व्यवसायी र ठेकेदारलाई सघाउँदै आएका लामाको भनाइ छ ।

सीमामा कडाइ भए पनि कतिपय नेपालीले उपचारको बहाना बनाएरसमेत हिमाचल पुग्ने गरेका छन् । त्यसबाहेक कतिपयलाई लिन मालिकहरू नै गाडी लिएर सीमासम्म पुग्ने गरेका छन् । विशेषगरी उनीहरू गौरीफन्टा, नेपालगन्जदेखि कृष्णनगर नाकाबाट आउने गरेका छन् । त्यसरी आउने नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राख्ने गरिएको छ । क्वारेन्टाइन खर्च भने ठेकेदार वा साहुले नै व्यहोर्ने गरेका छन् ।

प्रकाशित : भाद्र १७, २०७७ ११:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×