१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भारतको हरियाणामा आठतले भवनबाट खसेर नेपाली चिकित्सकको मृत्यु

आत्महत्या हुन सक्ने प्रहरीको आशंका
साहले छोटो समयमै लिभर ट्रान्सप्लान्ट (कलेजो प्रत्यारोपण) का लागि कुशल चिकित्सकको परिचय बनाएका थिए ।
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको हरियाणास्थित मेदान्त अस्पतालमा कार्यरत ३९ वर्षीय नेपाली चिकित्सक सुजितकुमार साहको मंगलबार एउटा अपार्टमेन्टको आठौं तलाबाट खसेर मृत्यु भएको छ । विराटनगर निवासी डा. साह विगत चार वर्षदेखि मेदान्तमा लिभर ट्रान्सप्लान्ट युनिटमा कन्सल्ट्यान्टका रुपमा कार्यरत थिए ।

भारतको हरियाणामा आठतले भवनबाट खसेर नेपाली चिकित्सकको मृत्यु

स्रोतका अनुसार डा. साह मंगलबार बिहान गुरुग्रामस्थित सेक्टर ४७ स्थित उनी बस्दै आएको अपार्टमेन्टको आठौं तल्लाको कौसीबाट खसेका थिए । गम्भीर घाइते उनलाई तत्कालै नजिकैको मेदान्त अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले मृत घोषित गरेका थिए । पारिवारिक स्रोतका अनुसार प्र्रहरीले प्रारम्भिक छानबिनमा मृत्युको कारण आत्महत्या बताएको छ । यद्यपि शवको पोस्टर्माटम हुन बाँकी रहेकाले प्रहरीले मृत्युको कारण निर्क्यौल गर्न भने बाँकी छ ।

डा. सुजित अर्पाटमेन्टमा एक्लै बस्दै आएका थिए । उनको पश्चिम बंगालकी एक चिकित्सकसँग नै विवाह भएको थियो । उनीहरुबाट एक ६ वर्षीय छोरी छन् । डा. सुजित सोमबार साँझसम्म पनि मेदान्त अस्पतालमा ड्युटीमा थिए । र, सहकर्मीहरुका अनुसार त्यसदिन पनि उनी अन्य दिनजस्तै सामान्य अवस्थामा थिए । तर, मंगलबार एकाएक साहको मृत्युको खबरले उनीहरु सबैलाई स्तब्ध बनाएको छ । मेदान्तमै डा. साहसँगै कार्यरत रहेका नेपाली चिकित्सक डा. सञ्जयकुमार यादवले घटनाबाट आफू स्तब्ध भएको बताए । ‘सुजित दाइसँग सोमबार दिनभर नै सँगै थियौं अरु दिन जस्तै रमाइलोसँग बितेको थियो, खै के भयो अचानक विश्वास नै गर्न कठिन भइरहेको छ,’ डा. यादवले भने ।

पारिवारिक स्रोतका अनुसार पछिल्लो समय साह र उनकी श्रीमतीबीच दम्पतीबीच राम्रो सम्बन्ध नभएको र श्रीमतीले छोडपत्रका लागि दबाब दिँदै आएकी थिइन् । त्यही दबाबले उनलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको आशंका साह परिवारले गरेको छ । मृतक साहको परिवारले पनि उनलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै छानबिनको माग गरेको छ ।

‘अघिल्लो दिनसम्म पनि सामान्य अवस्थामा ड्युटीमा खटिएको र सबै हिसाबले सामान्य अवस्थामा रहेको व्यक्तिले कसरी आफै आत्महत्या गर्न सक्छ त्यसैले ऊमाथि अन्तिम समयमा ठूलो दबाब परेको निश्चित छ,’ साहका बुबा नरेन्द्रप्रसाद साहले भने । बुबा साहका अनुसार सुजितमाथि श्रीमतीले डिभोर्सका लागि दबाब दिइरहेकी थिइन् । तर, सुजितले भने सानी छोरी पनि भएको हुँदा छोडपत्र गर्नका लागि अस्वीकार गरिरहेका थिए । तर, अन्तिम समयमा दबाब थेग्न नसकेर सुजितले आत्महत्या गर्न बाध्य भएको परिवारको दाबी गरेको छ । आत्महत्या गर्न बाध्य पारिएको भन्दै परिवारका तर्फबाट आत्महत्या दुरुत्साहनको मुद्दा दायर गर्ने तयारी गरिरहेको साहले कान्तिपुरलाई बताए ।

साह परिवारका कान्छा छोरा सुजितले पोखराको मणिपाल कलेजबाट एमबीबीएस गरेका थिए । पछि उनले भारतको चण्डीगढस्थित पीजीआईबाट मास्टर इन सर्जरी र पछि दिल्लीको एम्सबाट सर्जरीमा सुपर स्पेसलाइजेसन गरेका थिए । साहले छोटो समयमै लिभर ट्रान्सप्लान्ट (कलेजो प्रत्यारोपण) का लागि कुशल चिकित्सकको परिचय बनाएका थिए । र, उनलाई रोबोटिक लिभर ट्रान्सप्लान्टको विशेषज्ञका रुपमा चिनिन्थ्यो । सहकर्मीहरुबीच डा. साह निकै मिलनसार र सरल व्यक्तिका रुपमा परिचित थिए ।

‘चार वर्षसँगै काम गरियो तर, कहिल्यै पनि उहाँको अनुहार अध्याँरो देखिएन, सबैलाई माया गर्ने अति नै सरल हुनुहुन्थ्यो,’ डा. यादवले भने । बुबा नरेन्द्रप्रसादले पनि सुजितको मृत्यु आफ्नो परिवारका लागि मात्र नभएर पूरै देशका लागि ठूलो क्षति भएको बताए । ‘हाम्रो परिवारलाई पुगेको क्षतिको त कुरै भएन तर मुलुकले पनि एउटा कुशल चिकित्सक गुमाएको छ,’ नरेन्द्रप्रसादले कान्तिपुरसँग भने ।

प्रकाशित : भाद्र १७, २०७७ २२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?