भारतीय होटलमा दस वर्षसम्म ‘बँधुवा मजदुर’

भारत, जयपुरमा दस वर्षसम्म बिनातलब यातना दिएर काममा लगाइएका कास्कीका मंगलबहादुर सुनारलाई प्रहरीले उद्धार गरेको छ
सुरेशराज न्यौपाने

नयाँदिल्ली — दस वर्षसम्म थुनिएको थुनियै । न तलब न सुविधा । दैनिक सोह्र घन्टासम्म काम । नमाने उल्टै यातना । भारतको जयपुर सहरमा हालै सार्वजनिक भएको घटना हो यो । यस्तो यातना भोग्ने नेपाली हुन्, कास्कीको बूढीखोला, रामकोटका ४० वर्षीय मंगलबहादुर सुनार ।

भारतीय होटलमा दस वर्षसम्म ‘बँधुवा मजदुर’

उनलाई जयपुरस्थित विक्रमादित्य मार्गको संगम भोजनालयका सञ्चालकले दस वर्षसम्म बँधुवा मजदुर बनाएर राखेका हुन् । बालश्रमविरुद्धका अभियन्ता कैलाश सत्यार्थीको संस्था ‘बचपन बचाओ’ले होटलमा बालश्रमिकहरू रहेको जानकारी पाएपछि स्थानीय प्रहरीसँग मिलेर अघिल्लो सोमबार त्यहाँ छापा मारेको थियो । प्रहरीले सुनारलाई उद्धार गरेर हाल त्यहीँकै एक स्थानीय आश्रय केन्द्रमा राखेको छ ।

उद्धारपछि ‘बचपन बचाओ’का स्थानीय प्रतिनिधि देशराज सिंहले होटल मालिक शिवशंकर बर्मा भोडीलालविरुद्ध सुनारलाई बिनातलब काममा लगाएको र यातना दिएको भन्दै एफआईआर दायर गरेका छन् । त्यसकै आधारमा प्रहरीले भोडीलाललाई पक्राउ गरेको छ ।

दस वर्षभन्दा बढी समयसम्म बँधुवा मजदुरका रूपमा काम लगाएको, तलब नदिएको र शारीरिक यातनासमेत दिएको आरोपसहित कानुनी कारबाहीका लागि उजुरी दायर गरिएको सिंहले बताए ।

सुनार वर्षौंअघि गाउँकै आफन्तको साथ लागेर रोजगारीका लागि भारत आएका हुन् । केही वर्ष मुम्बई र अन्य केही ठाउँमा काम गरे । त्यहाँबाट दस वर्षअघि उनी राजस्थानको जयपुर पुगे । एक जना गाउँकै चिनजानको मान्छेले संगम भोजनालयमा पुर्‍याइदिएको सुनारको भनाइ छ । तर, उनलाई के थाहा, त्यसपछि त्यहाँबाट दस वर्षसम्म उम्कन सकिँदैन भन्ने । आफन्त, परिवार कसैसँगै गफ गर्न पाएनन् । उल्टै मानसिक र शारीरिक यातना खेप्नु पर्‍यो । ‘जति माग्दा पनि तलब दिँदैनथे, त्यही हो चुरोट र बिँडीका लागि पाँच–दस रुपैयाँ पाउँथेँ,’ सुनारले भने ।

उनले बीचमा घर जान होटल मालिकलाई अनुनय–विनय नगरेका होइन । तर त्यसो गर्दा मालिक र उनकी श्रीमतीको पिटाइ खानुपर्‍यो । ‘घर जान्छु भन्दा अहिलेसम्मको पैसा नदिने भन्थे, धेरैपटक त पिटे पनि,’ उनले सम्झिए । होटलमा दैनिक सोह्र घण्टासम्म भाँडा माझ्ने र भुइँ पुछ्ने काम गर्नुपरेको उनले सुनाए ।

उनलाई अहिले घरगाउँतिरको कुनै खबर छैन । न त परिवारको हाल थाहा छ । अहिलेलाई यत्ति सम्झना मात्र छ– आफ्नो घर बूढीखोला रहेको र सानै छँदा गाउँलेहरूको साथ लागेर भारत आएको । ‘घरमा बुबा र कान्छी आमा हुनुहुन्थ्यो, अरू त खासै याद छैन,’ उनले भने । सुनारका अनुसार उनकी आमा उनी सानै छँदा नै बितेकी थिइन् । त्यसपछि बुबाले अर्को विवाह गरे ।

स्थानीय प्रशासनले होटल मालिकबाट सुनारलाई क्षतिपूर्ति भराउन प्रक्रिया पनि सुरु गरेको छ । त्यसका लागि पीडित सुनारको बैंक खाता खोल्न आवश्यक प्रक्रिया सुरु भइसकेको सिंहले जानकारी दिए । उनका अनुसार त्यसपछि सुनारलाई नेपाल फर्काइनेछ । सुनारले पनि आफू चाँडोभन्दा चाँडो फर्कन चाहेको बताए । ‘धेरै दुःख पाइयो, अब जसरी पनि घर फर्कने, यतिका वर्ष बितिसक्यो, खोइ को–को छन्, थाहा छैन,’ उनले कान्तिपुरसँग भने ।

नेपाल फर्काउन ‘बचपन बचाओ’ले केआई नेपालसँग समन्वय गरिरहेको छ । केआई नेपालका भारत प्रतिनिधि नवीन जोशीले कानुनी प्रक्रिया पूरा भएपछि सुनारलाई घर फर्काइने बताए । साथै नेपालमा रहेका सुनारका आफन्तसँग सम्पक गर्ने प्रयास भइरहेको उनले जानकारी दिए । ‘पहिले जयपुरको कानुनी प्रक्रिया पूरा होस्, त्यसपछि दूतावाससँगको समन्वयमा नेपाल पठाउनेछौं,’ उनले भने, ‘गाउँलेहरूसँग सम्पर्क भएको छ, अझ विस्तृतमा बुझ्दै छौं ।’

प्रकाशित : भाद्र ९, २०७७ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?