कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सिड्नीबाट ५३० डलर सस्तोमा फर्किए नेपाली

नारायण खड्का

सिड्नी — कोरोना भाइरस (कोभिड–१९) को महामारीसँगै अस्ट्रेलियामा अलपत्र परेका १ सय ६० नेपाली बिहीबार सिड्नीबाट नेपाल फर्किएका छन् । उनीहरू यसपहिले सरकारले तोकेको भाडादरभन्दा ५ सय ३० अमेरिकी डलर सस्तो भाडामा चार्टर विमानमार्फत नेपाल फर्किएका हुन् । सरकारले विदेशमा रहेका नेपालीलाई नेपाल फर्काउने योजनाअनुरूप चौथो पटक यहाँका नेपाली फर्किएका हुन् ।

सिड्नीबाट ५३० डलर सस्तोमा फर्किए नेपाली

तर पनि यसपटक स्वदेश फर्किएका नेपाली भने सरकारले यसपहिले तोकेको भाडादरभन्दा ५ सय ३० अमेरिकन डलर सस्तोमा नेपाल फर्कन सफल भएका हुन् । सरकारले यसअघि भाडादर १ हजार ६ सय ५० अमेरिकी डलर तोकेको थियो ।

यहाँ रहेका नेपालीलाई फर्काउन आप्रवासी नेपालीको संगठन एनआरएनए अस्ट्रेलियाले पहल गरेको हो । सरकारले तोकेको भाडादर अत्यधिक महँगो भएको गुनासो आएपछि क्यानबेरास्थित नेपाली दूतावासको आग्रहअनुसार एनआरएनए अस्ट्रेलियाले विभिन्न संस्थाको पहलमा नेपाली फर्काउने प्रक्रिया थालेको थियो । सोही योजनाअनुसार बिहीबार १ सय ६० नेपाली फर्किएका छन् भने एक सातापछि करिब २ सय ७० जना नेपाली सेमिचार्टर फ्लाइटमार्फत नेपाल फर्किने भएका छन् ।

‘नेपाल फर्किन चाहने नेपालीको संख्या अत्यधिक भएको र सरकारी भाडादरसमेत महँगो भएपछि दूतावास र अन्य संस्थाको सहकार्यमा हामीले आफ्नै पहलमा नेपालीलाई फर्काउन सुरु गरेका हौं,’ एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले कान्तिपुरसँग भने । उनका अनुसार यस पटक नेपाल जान चाहनेको संख्या विमानको सिट संख्याको तुलनामा अत्यधिक भएकाले अबको एक सातापछि पुनः अर्को विमानमार्फत उनीहरूलाई फर्काउन लागिएको छ ।

३ सय ५० बढीले नेपाल फर्किनका लागि विमान भाडा अग्रिम भुक्तानी गरिसकेको भए पनि प्राथमिकताका आधारमा १ सय ६० जनाको छनोट गरिएको जानकारी दिए । ‘हामीले अहिले पठाएको भाडादर यसपहिले सरकारले पठाएको भन्दा ५ सय अमेरिकन डलरभन्दा बढी सस्तो छ,’ सिड्नीबाट नेपाली फर्काउन संयोजन गरिरहेका व्यवसायी तथा एनआरएनएका युवा संयोजक इर्शाद अहमदले सुनाए । उनी अगस्टको ६ तारिखमा हुने अर्को उडानमा यो भाडादर अझ सस्तो हुने दाबी गर्छन् ।

सरकारले सुरु गरेको उद्धार कार्य महँगो भएको गुनासो आएपछि दूतावासले एनआरएनए, चिकित्सकहरूको संगठन एम्डा, पत्रकारको संगठन एन्जा लगायतका विभिन्न संस्थाको सहभागितामा कार्यदल गठन गरेर उद्धार कार्यलाई पारदर्शी बनाएको थियो । सोही कार्यदलको सिफारिसमा एनआरएनएले उद्धार कार्यलाई अघि बढाएको थियो । अस्ट्रेलियास्थित नेपाली राजदूत महेशराज दहालले महँगो भएको गुनासो आएपछि यसलाई अझ सरलीकृत गर्नका लागि कार्यदल गठन गरेर उद्धार प्रक्रिया सुरु गरिएको र सोही अनुसार उद्धार प्रक्रिया भइरहेको जानकारी दिए । ‘समग्र समितिको निर्णयअनुसार कसरी र कुन दरमा नेपाल फर्काउन सकिन्छ भनेर निर्णय गरिएको र सोहीअनुसारमा काम भएको हो,’ राजदूत दाहालले भने ।

कार्यदलमा सहभागी एन्जाका महासचिव चिरञ्जीवी देवकोटाका अनुसार बिहीबार सिड्नीबाट उडेको विमान इन्डोनेसियाको ड्यापेन्सरमा ४० मिनेट रोकिएर मलेसियाको क्वालालाम्पुर हुँदै नेपाल पुग्नेछ । निर्धारित समयअनुसार विमान बिहान करिब ७ बजे नेपाल पुग्नेछ । उनले अगस्टको १६ तारिखमा नेपालले नियमित अन्तर्रास्ट्रिय उडानलाई खुला गर्ने निर्णय गरिसकेकाले महँगो भाडामा पुनः अर्को चार्टर उडान गर्न आवश्यक नभएको सुनाए । तर एनआरएनएले भने यही अगस्टको ६ तारिखमा अर्को सेमी चार्टर विमानमार्फत २ सय ७० जना नेपालीलाई फर्काउने तयारी गरिसकेको छ ।

प्रकाशित : श्रावण १६, २०७७ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?