१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ईपीएस कामदारको भिसा थपिने

गोकुल थोकर

सोल — रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया आएर भिसा अवधि सकिएका विदेशी कामदारलाई सरकारले भिसा थप गरिदिने भएको छ । सरकारका अनुसार त्यस्ता कामदारहरूले भिसा अवधि थप भएको समयमा समेत काम गर्न पाउनेछन् ।

ईपीएस कामदारको भिसा थपिने

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण भिसा सकिएका कामदार स्वदेश फर्कन नपाएपछि तत्कालका लागि यो नियम ल्याइएको हो ।

यसअघि पनि कोरिया सरकारले अवधि सकिएका कामदारको भिसा ५० दिन थप गरिदिएको थियो । तर उक्त अवधिमा पनि आफ्नो देश फर्कन नसकेकाहरूलाई थोरै समयका लागि भिसा थप्दै आएको थियो । तर यसरी थपिएको भिसा अवधिमा कामदारलाई कार्य गर्ने अनुमति भने दिइएको थिएन । कोरियाली सरकारको निर्णयसँगै १६ देशबाट ईपीएसमार्फत कोरिया आएर कार्य अवधि सकेका ४० हजारभन्दा बढी कामदार लाभान्वित हुनेछन् । हाल दक्षिण कोरियामा ५ हजारभन्दा बढी नेपालीको भिसा अवधि सकिएको छ ।

कोरियाली प्रधानमन्त्री चुङ से क्युनले बुधबार विपद् व्यवस्थापनको बैठकमा बोल्दै नयाँ नियमबारे बताएका हुन् । उनले कोरियाको धेरै गाउँका कृषि फार्महरूमा कामदारको अभाव रहेकाले सरकारले नयाँ नियम ल्याउन लागेको पनि जनाए । ‘भिसा थपिएकाले अस्थायी रूपमा काम गर्न पाउने छन् । उनीहरूलाई कृषि फार्मतिर कामका लागि प्रोत्साहन गरिनेछ,’ उनले भने ।

२ सय ३८ नेपाली फर्कंदै

लामो समयदेखि भिसा सकिएर बसेका २ सय ३८ जना नेपाली कोरियन एयरमार्फत बिहीबार नेपाल फर्कंदै छन् । ५ हजारभन्दा बढी नेपाली भिसा अवधि सकिएर स्वदेश फर्कने पर्खाइमा छन् । बिहीबार फर्कनेसहित हालसम्म ७ सय जना कामदार मात्रै स्वदेश फर्कन पाएका छन् ।

लामो समयदेखि भिसा सकेर बसेका नेपालीले न त कम्पनीमा नियमित काम गर्न पाएका छन् न त स्वदेश फर्कन नै । यसरी काम पनि गर्न नपाउने र घर पनि जान नपाउँदा मानसिक समस्या देखिन थालेको ख्याङगिदो ह्वासाङसीमा बस्दै आएका राजकुमार कार्कीले बताए ।

‘हामी ४ महिनादेखि काम नगरी कोरियामा बसिरहेका छौं । पहिले कमाको पैसा खर्च गरिरहेका छौं । पैसा तिरेरै नेपाल जान्छौं भन्दा पनि घर जान पाइएको छैन,’ उनले भने । भदौ १ गतेदेखि नेपालले अन्तर्राष्ट्रिय उडान अनुमति दिने निर्णयपछि भने स्वदेश फर्कन सजिलो हुनेमा आशावादी छन् अर्का नेपाली पूर्णमान चाम्लिङ ।

प्रकाशित : श्रावण १५, २०७७ ०६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?