कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अस्ट्रेलियाबाट फर्किए २ सय ५९ नेपाली

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको सिड्नीबाट २ सय ५९ जना नेपाल फर्किएका छन् । अस्ट्रेलियामा उद्धारका लागि पर्खिएर बसेका नेपाली लिनका लागि नेपाली ध्वजावाहक विमान मंगलबार सिड्नी उत्रिएको थियो ।

अस्ट्रेलियाबाट फर्किए २ सय ५९ नेपाली

स्वदेश फर्कनेमा अधिकांश अस्ट्रेलियामा रहेका नेपाली छन् भने करिब एक दर्जन न्युजिल्यान्डमा बसोबास गर्दै आएका नेपाली समेत छन् । सिड्नीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरु नेपाली समय अनुसार एक बजे नेपालका लागि उडेका हुन् ।

क्यानबेरास्थित नेपाली दूतावासका अधिकारीका अनुसार नेपाल फर्कन इच्छा जनाएका १ हजार ३ सयमध्ये प्राथमिकताका आधारमा उनीहरुलाई पहिलो चरणमा उद्धार गरिएको हो । मंगलबार नेपाल फर्किनेमा अस्ट्रेलियाका ६ राज्य र २ टेरिटोरीमा बस्दै आएका नेपाली छन् भने न्युजिल्यान्डबाटसमेत ११ जना आएका थिए । नेपाल फर्कनेमा अधिकांश अभिभावक छन् ।

सरकारले विदेशमा रहेका नेपालीलाई फिर्ता लैजाने निर्णय गरेसँगै अस्ट्रेलियाबाटसमेत दुईपटक गरेर उद्धार गरिने कार्यक्रम सार्वजनिक गरिएको छ । जस अन्तर्गत दोस्रो विमान यही २७ तारिख शनिबार मेलबर्नबाट उड्नेछ । ‘हामीले नेपाल जान अनुरोध गर्नुभएका नेपालीमध्ये प्राथमिकताका आधारमा दुईवटा विमानबाट पठाउने व्यवस्था गरेका हौं र दोस्रो विमानमासमेत मेलबर्नबाट सोही संख्यामा नेपाली नेपाल फर्कदै हुनुहुन्छ ।’

सिड्नीमा नेपालीलाई विदाई गर्न आएका राजदूत महेशराज दहालले भने । उनले नेपालीलाई उद्धार गर्नका लागि यहाँका विभिन्न संघसंस्था, एनआरएन, नेपाली चिकित्सकहरुको संगठन लगायतले उल्लेख्य सहयोग पुरयाएको बताए ।

सिड्नीबाट उडेको विमान मलेसियामा एक घण्टा इन्धन भर्नका लागि रोकिएर पुन काठमाडौंका लागि उड्नेछ । बुधबार नेपाल उत्रिएपछि यात्रुले अनिवार्य क्‍वारेन्टाइनमा बस्नुपर्नेछ भने त्यसबापत लाग्ने यातायात लगायतका सम्पूर्ण खर्च समेत आफैंले तिर्नुपर्नेछ । राजदूत दहालले अस्ट्रेलियाबाट विमान चढ्नुअघि नै पीसीआरको नतिजा नेगेटिभ भएका यात्रुमात्र सवार भएकाले उनीहरुको स्वास्थ्यमा कुनै परिवर्तन नआए आफ्नै घर गएर क्वारेन्टाइनमा बस्नसक्ने जानकारी दिए ।

मंगलबार बिहान उत्रिएको नेपाल वायुसेवा निगमको विमानले दुई दर्जन यात्रुसमेत लिएर आएको दूतावासका अधिकारीले जानकारी दिए । अस्ट्रेलियाका व्यवसायीले सरकारले तोकेको भन्दा सस्तोमा नेपाल फर्काउन सकिने बताइरहेको भएपनि उद्धारका लागि आउने दोस्रो विमानका लागि समेत यात्रुले निर्धारित २ हजार ३ सय ५० अस्ट्रेलियन डलर नै तिर्नुपर्नेछ ।

नेपाल फर्कन पाएकोमा उनीहरु हर्षित थिए । उनीहरुले यस्तो अवस्थामा भाडाभन्दा पनि आफू नेपाल जान आवश्यक रहेको र सरकारले उद्धार गरेकोमा खुसी व्यक्त गरेका थिए ।

प्रकाशित : असार ९, २०७७ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?