कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

उडानको पर्खाइमा ईपीएस कामदार

दक्षिण कोरिया आएका ३ हजार ४ सयभन्दा बढी नेपालीको भिसा सकिएको छ । उनीहरुले न  काम गर्न पाए न त घर जान । यो महिनाको अन्तिमसम्म ४ हजार ५ सय ३० जनाको भिसा सकिँदै छ । 
गोकुल थोकर

काठमाडौँ — सोल, दक्षिण कोरिया- रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० को पहिलो लटमै कोरिया आउन पाउनेको सूचीमा थिए, कपिलवस्तुका दिपेन भुसाल ।

उडानको पर्खाइमा ईपीएस कामदार

कोरोना महामारी नभएको भए उनी यतिबेला कोरियाको दक्षिणी भागमा पर्ने नाजु क्षेत्रमा काम गर्दै हुन्थे । उनले कोरिया आउन भिसा प्रोसेसिङ गरेको झन्डै ४ महिना भयो । ३ महिनाभित्रै उडिसक्नुपर्ने भए पनि लकडाउनका कारण अन्तर्राष्ट्रिय उडानसमेत बन्द हुँदा अन्योलमा छन् । उनीजस्तै १ हजार २ हजार नेपाली कोरिया आउने तयारीमा छन् ।

दक्षिण कोरियामा पनि ईपीएसमार्फत आएका ३ हजार ४ सयभन्दा बढी नेपालीको भिसा सकिएको छ । यो महिनाको अन्तिमसम्म ४ हजार ५ सय ३० जनाको भिसा सकिनेछ । अप्रिलमै भिसा सकिने नेपालीले न त काम गर्न पाए न त घर जान । लामो समय बस्दा खर्चिलो कोरियामा अनेक समस्या भोगिरहेको सुभाष ढकालले अनुभव छ । ‘हामीलाई पहिला भिसा ५० दिनको दिएको छ । त्यसपछि भने एलिएन कार्ड (विदेशी परिचयपत्र) समेत अध्यायगमन विभागमै राखेर एउटा पेपर दिएको छ,' उनले गुनासो गरे, 'हामी आफै पैसा तिरेर नेपाल जान्छौं । त्यहाँको सरकारले तोकेको सबै नियम मान्छौं भन्दा पनि केही वास्तै गरिएन । कहिलेसम्म यसरी बस्ने हो ?’

कोरियाको रोजगारदाता कम्पनीले क्वारेन्टाइनमा बस्ने व्यवस्था गरे ईपीएसमार्फत कोरिया आउन चाहनेलाई कुनै समस्या छैन । कोरोना महामारीका कारण विदेशबाट आउने सबै यात्रुले अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नैपर्ने नियम छ । कम्पनीहरुले कामदार छनोट गरेको भए पनि कोरोनाका कारण अहिले नेपालबाट कामदार नल्याएको हुन सक्ने छाङवन विदेशी कामदार सहयोग केन्द्रकी स्नेहा लामाको ठम्याइ छ । ‘अहिले भियतनामबाट कामदार ल्याउन सुरु गरेको छ । नेपाल सरकारले कामदारलाई पठाउन पहल गरे ईपीएसमार्फत कोरिया आउन कुनै समस्या छैन,’ उनले भनिन् ।

धेरै युवाहरुको आकर्षक वैदेशिक रोजगारीको गन्तव्य हो कोरिया । यहाँ काम गर्दै आएका र घर बिदामा नेपाल गएर उतै बस्ने युवाको संख्या पनि ५ सयभन्दा बढी छ । राजीव घिसिङ त्यसैमध्येका एक हुन् । ‘म आएको ४ महिना भयो । घरैमा बसिरहेको छु । एक महिनाको छुट्टीमा आए पनि प्लेन नभएकाले जान सकिएन,' उनले भने, 'प्लेन चार्टर गरेर जाने भन्ने हल्ला पनि चल्छ । निकै तनावमा छु ।’

नेपालबाट कोरिया आउने र कोरियाबाट भिसा सकेर नेपाल जान चाहने नेपालीको संख्या धेरै छ । ईपीएसमार्फत ४ वर्ष १० महिना काम गरेपछि अनिवार्य स्वदेश फर्कनुपर्ने एचआरडी कोरियाको नियम छ । यसरी स्वदेश फर्किएका मध्ये कम्पनी परिवर्तन नगरी बसेका कामदार ३ महिनापछि कम्पनीले चाहेमा फेरि कोरिया आउन सक्छन् । यसरी कोरिया आउने कामदारले कुनै पनि परीक्षा दिन पर्दैन । ‘मैले रेगुलर काम गरेको हो ।

कम्पनीले पनि ३ महिनापछि आउनु भनेर मलाई लेटर दिएको थियो । मार्चमा घर गएर आउनुपर्ने मान्छे अहिले पनि कोरियामै छु,’ सोल नजिकैको सहर इछनसीमा काम गर्ने दीपक खड्काले भने, 'अब ई ९ भिसा नै छैन जस्तो छ । ३ चोटी त भिसा थपिसक्यो ।’ ईपीएसमार्फत आउने कामदारलाई दिने भिसा ई ९ भिसा हो ।

दुईतर्फी नै यात्रु भए पनि सरकारले चासो नदेखाएको धेरैको गुनासो छ । ‘हामीले कोरियाका लागि सरकारले प्लेनको व्यवस्था गरिदिनु, लाग्ने पैसा हामी तिर्छौं भन्यौ । तर काम केही भएन,’ नेपालबाट दैलेखका अजय सोडारीले भने । उनी पनि कोरियामा आउने पर्खाइमा छन् ।

भिसा सकिएका नेपालीको विवरण लिएर सरकारलाई पठाउन लागेको नेपाली राजदूतावास सोलको भनाइ छ । ‘हामीले नेपाल सरकारले छिट्टै कोरियामा भएका भिसा सकिएका नेपालीलाई पनि लैजान्छ । केही समय कुर्नुपर्‍यो,’ कार्यवाहक राजदूत रामसिं थापाले भने ।

भिसा सकिएका नेपालीलाई केही कम्पनीले खिसुक्सा (कम्पनीको होस्टेल) मै बस्न दिए पनि धेरैलाई बस्नको समस्या छ । ‘मेरो मार्च २७ मा घर जाने टिकट थियो । त्यही बेलादेखि कम्पनी छाडेर बसेको छु,' जीवन मगरले भने, 'कहिले साथीसँग जाँदा खासै खर्च नभए पनि सेल्टरमा बस्दा दैनिक ५ हजार जति खर्च हुन्छ ।’

कोरियामा एउटा कम्पनी छाडेर अर्को नपाउन्जेलका लागि बस्न विभिन्न संघसंस्थाले ‘सेल्टर’ खोलेका छन् । नेपाली रेस्टुरेन्टले खोलेको सेल्टरमा बस्दा ‘इन्ट्री फी’ भनेर १० हजार लिइन्छ । खाना पनि त्यहीँ खानुपर्ने नियम छ । नेपाली रेस्टुरेन्टमा एक छाकको ८ सय देखि १२ सयसम्म पर्छ । कोरियामा भिसा सकिएका नेपालीको अर्को टाउको दुखाइ यहाँको इन्स्योरेन्स पोलिसी पनि हो । वैधानिक रुपमा ६ महिना कटेका सबैले मासिक १२ हजारभन्दा बढी तिर्नुपर्छ ।

प्रकाशित : जेष्ठ २८, २०७७ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?